माओवादी पदाधिकारीसहित स्थायी समिति र पोलिटब्युरो टुंगो लगाउने गृहकार्यमा


काठमाडौं । नेकपा माओवादी केन्द्रमा पदाधिकारीसहित स्थायी समिति, पोलिटब्युरो सदस्य र बाँकी रहेको केन्द्रीय सदस्य टुंगो लगाउने गरी गृह कार्य सुरु भएको छ । पार्टीको ८ औ महाधिवेशन सकिएको पाँच महिनापछि पार्टीको सम्पूर्ण कमिटी छिनोफानो गर्नेगरी नेताहरु जुटेका हुन् । माओवादी ८ औ महाधिवेशन पुस ११ गतेदेखि ८ दिनसम्म चलेको थियो ।

आगामी असार १५ गते केन्द्रीय समिति बैठकबाट सम्पूर्ण पार्टी कमिटी र जनवर्गीय संगठनको टुंगो लगाउनेगरी पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष नेताहरु गृहकार्यमा जुटेको पूर्व स्थायी समिति सदस्य लीलामणि पोखरेलले बताए । ‘स्थानीय तह चुनावलगतै २० गते केन्द्रीय समिति बस्ने भनिएको थियो ।

स्थानीय तहका प्रमुख/उपप्रमुखको प्रशिक्षण भएकाले बैठक रोकियो’ रातोपाटीसँग कुरा गर्दै पोखरेलले भने, ‘अब असार १५ गते केन्द्रीय समिति बैठक अघि नै पदाधिकारीसहित स्थायी समिति, पोलिटब्युरो र बाँकी केन्द्रीय समिति टुंगो लगाउने गरी गृहकार्य भइरहेको छ ।’

स्थानीय तह चुनाव अघि पदाधिकारीसहित स्थायी समिति, पोलिटब्युरो र जनवर्गीय संगठनको कमिटी टुंगो लगाउन खोजेपनि थप विवाद हुने भएकाले रोकिएको थियो । अब आगामी प्रदेश र संघको चुनाव अघि नै पदाधिकारीसहित पार्टी कमिटी र जनवर्गीय संगठनका सबै कमिटीले पूर्णता पाउनेगरी गृहकार्य थालिएको छ ।

माओवादीमा पार्टी पदाधिकारी ९ देखि १५ जनासम्म बनाउने गृहकार्य थालिएको छ । अन्य पदमा खासै विवाद नभएपनि महासचिवको बन्नेमा भने चर्को विवाद देखिएको छ । महासचिवका मुख्य दावेदारको रुपमा जनार्दन शर्मा र वर्षमान पुन देखिएका छन् ।

अरु नेताहरुले महासचिवमा दाबी गरेपनि अन्य पदमा व्यवस्थापन गर्न सक्ने अवस्था भएको शान्त देखिएका छन् । ‘महासचिवमा जनार्दन जी र वर्षमानजी मुख्य दावेदारको रुपमा हुनुहुन्छ । उहाँहरुलाई मिलेर आउनुस् जो भएपनि पार्टीकै महासचिव हुन्छ भनेकै छौ’ एक पूर्व स्थायी समिति सदस्यले भने, ‘तर, उहाँ (जनार्दन र वर्षमान) अहिले मिलेर आउन सक्नु भएको छैन । महासचिवमा सर्वसम्मत नभएमा चुनाव गरेर भएपनि टुंगो लगाउने भन्नेछ ।’ महासचिवमा सहमति नभए आन्तरिक चुनाव गरेर भएपनि जानेमा प्रचण्ड आफै समेत पुगेका छन् ।

स्थानीय चुनावदेखि एमसीसीबारे छलफल हुने

आगामी केन्द्रीय समिति बैठकमा स्थानीय तह चुनावको विषयमा समीक्षा हुने भएको छ । २०७४ सालको चुनाव र गत वैशाख ३० गते भएको स्थानीय तहको चुनावको तुलना गरेर समीक्षा हुने भएको छ । पार्टीबाट रामबहादुर थापासहित नेताहरु एमाले प्रवेश भएको विषयमा समेत पार्टीमा कस्तो असर पर्यो भन्ने विषयमा समेत छलफल हुने भएको छ ।

पार्टीमा अन्तर्घात गर्नेहरुको विषयमा नेताहरुले गृहकार्य थालेका छन् । पार्टीका उम्मेदवारविरुद्ध कुनै नेता उभिएको पाइएमा कारवाही हुने भएको छ । यस्तै मधेस प्रदेशमा माओवादी पाँचौ दल भएपछि त्यसको नेताहरुले गम्भीर समीक्षा गर्ने भएका छन् । यदि पार्टीकै नेता दोषी देखिएमा कारवाही समेत गर्ने अवस्थामा प्रचण्ड पुगेका छन्। यसअघि स्थागित भएको एमसीसीका विषयमा एजेण्डाको रुपमा राखिने भएको छ ।

तपाईको प्रतिक्रिया