नवराज हत्याकाण्डको दुई वर्षः पीडित परिवार भन्छन्, ‘खै के न्याय पाउँला र ?’


कालीबहादुर नेपाली
जाजरकोट । रुकुम पश्चिमको चौरजहारी नगरपालिका –०८ सोतीमा भएको नरसंहार घटनाको दुई बर्ष पुरा भयो । जाजरकोटको भेरी नगरपालिका ४ रानागाउँका नवराज विक सहित ५ जनाको २०७७ जेठ १० सामुहिक हत्या गरिएको थियो । सामुहिक हत्या गरिएको दुई बर्ष पुरा भएपनि पीडित परिवारले न्याय पाएका छैनन् । ‘हत्याराहरुले जेल सजाय पाएँ, मेरो छोराको आत्माले शान्ती पाउने थियो’ नवराजका वुवा मुनलाल विकले भने ।

‘मेरो छोरालाई मार्न पठाउने सुष्मा मल्लकी आमा समेत छुटिसेकेकी छन्, स्वयंम सुधार गृहमा रहेकी सुष्मा समेत बाहिर आईसकेकी छन्, ११ जनालाई साधारण तारिकमा छोडिसेकेको छ, अव हामी न्याय पाउँदैनौं जस्तो लाग्छ’ उनले थपे ।’ छोराको मृत्युको खबर पाएँ देखि नवराजकी आमा उर्मिलाको आँखामा आँसु रोकिएको एकदिन छैन् । घरको एक मात्र छोरा ।

भविष्यमा परिवारको साहारा बन्ने सपना देखेका वाआमा अहिले रातदिन रोइरहेका छन् । घरमा सुतिरहेका नवराजलाई फोन गरेर विहेका लागि बोलाएकी थिईन सुष्माले । जात नमिल्ने भन्दै वेलावेलामा सुष्माका परिवारले नवराजलाई धम्की दिदै आएका थिए । तर जेठ ९ गते राती सुष्माले साथीहरु लिएर मलाई भगाउन आउनुहोस् भनेपछि नवराज १८ जना साथीहरु लिएर विहेका लागि सोती गाउँ पुगेका थिए ।

विहेका लागि पुगेका नवराज कहिल्यै नर्फकिने गरी सधैलाई अस्ताए । उनी मात्र होइन् उनका ५ जना साथीहरु समेत कहिल्यै नर्फकिने भएँ । अन्तरजातीय प्रेम गरेकै कारण नवराजले ज्यान गुमाउनु प¥यो । दलितले मेरी छोरी संग विहे गर्न लागेको भन्दै सुष्माका आमा वुवाले तत्कालिन वडाध्यक्ष डम्बरबहादुर मल्ललाई खवर गरेका थिए । गाउँका २ सय भन्दा बढीलाई वडाध्यक्षले खबर गरी नवराज सहित ६ जनाको हत्या गर्न वडाध्यक्ष आफै लागे ।

१२ जना भागेर ज्यान बचाउन सफल भए भने ६ जनालाई क्रुरता पुर्वक हत्या गरी भेरीमा शव फालियो । नवराजकी आमाले भनिन्, ‘ठुलाठुला नेताहरु घटना लुकाउन खोजिरहेका छन्, हामी दलित समुदायका लागि कसले लडिदिन्छ, न्याय पाउने आशमा बसिरहेका छौँ, खै के न्याय पाउँला र ?’ सञ्जु विककी श्रीमती पनि श्रीमानको यादमा रोइरहेकी छिन् ।

श्रीमानको हत्याराहरुलाई जेलको सजाय हुनुपर्छ भन्दै आँसु खसाल्छिन् । उनको छ बर्षको छोरा समेत छन् । ‘छोरोले वुवा कहिले आउनुहुन्छ, ममी भन्दा मेरो भकानिन्छ, उनले भनिन् ।’ कलिलो उमेरमा श्रीमान गुमाउनुको पीडा त छदैछ, त्यही माथी सासु ससुरालाई पनि उनले सम्झाउनुपर्छ । न्याय पाउँने आशमा पीडित परिवार बसिरहेका छन् ।

उक्त घटनामा भेरी नगरपालिका ४ का नवराज विक, गणेश वुढा, चौरजहारी नगरपालिकाका टीकाराम सुनार, भेरी नगरपालिका ११ का लोकेन्द्र सुनार, गोविन्द्र शाही र सन्दीप विकको हत्या गरिएको थियो । सबैका परिवार सन्तान गुमाउनुको पीडाले अहिले विछिप्त बनेका छन् । त्यसैमाथी न्याय पाईदैनकी भनेर चिन्तित बनिरहेका छन् ।

सुष्माले बोलाएपछि गएका थिए नवराज
तीन वर्षदेखिको प्रेमलाई विवाहमा परिणत गर्ने लक्ष्यका साथ जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षीय नवराज विक पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८ सोतीकी १७ वर्षीया सुष्मा मल्ल थरकी युवती कहाँ पुगे । नवराज उनका १८ जना साथी लिएर गएका थिए । तर जब युवा सोती पुगे । माहोल एकाएक बिग्रियो । कथित दलित समुदायका नवराज र ठकुरी समुदायकी ती युवती विवाह बन्धनमा बाँधिन चाहन्थे ।

तर, नवराजका आमाबाबालाई भने अन्तरजातीय विवाह मन परेको थिएन । नवराज शनिबार राति आफ्ना साथीहरुलाई लिएर दुलही ल्याउन सोती गएका थिए । पटक–पटक मानसिक रूपमा तनाव र शारीरिक रूपमा कुटपिट व्यहोरोका नवराजलाई शनिबार ठूलो संख्यामा साथी लिएर आउनु भनि युवतीले सल्लाह दिएकी थिइन् ।

जब उनीहरु घर नजिकै पुग्दा युवतीभन्दा, युवतीकी आमाको नजर युवामा प¥यो । त्यसपछि उनले ‘जति पिटाइ खाए पनि केही लागेन है, फेरि आइस् तँ डुम आज त मारेर फालिन्छ’ भन्दै गाउँका मानिसलाई बोलाएपछि युवामाथि कुटपिट शुरु भएको थियो ।

चौरजहारी नगरपालिका–८ का तत्कालिन वडाध्यक्ष डम्बरबहादुर मल्लको नेतृत्वमा २०७७ जेठ १० गते प्रेमिकासँग विवाह गर्न गएका जाजरकोटको भेरी नगरपालिका नवराज विक र उनका ५ जना साथीको रुकुम पश्चिमको चौरजहारी नगरपालिका–६ सोती गाउँमा सामूहिक हत्या भएको थियो ।

११ जना साधारण तारेखमा छुटे
हत्याकाण्डमा संग्लग्न भएको आरोपमा सोतीगाउँका ३४ जनाविरुद्ध जिल्ला अदालत रुकुममा मुद्दा दायर भएको थियो । तीमध्ये २३ जना आरोपीलाई पुर्पक्षका लागि कारगारमा राखिएको छ ।

११ जना साधारण तारेखमा छोडिएका छन् । अदालतले सुरु थुनछेक आदेशबाट वारदात गर्न षडयन्त्र गरेको आरोप लागेकी केटीकी आमालाई १ लाख धरौटीमा, घटनाका आरोपी दीपेन्द्र चन्द, तुलबहादुर मल्ल र मतियारको आरोप लागेका इन्द्रबहादुर मल्ललाई सादा तारेखमा रहने गरी पुर्पक्ष गरेको थियो । बाल सुधारगृहमा रहेकी नवराजकी प्रेमिकालाई उच्च अदालत सुर्खेतले साधारण तारिखमा छाडेको थियो ।

त्यस्तै, सर्वोच्च अदालतले घटनाका आरोपी तुलाराम घर्ती, डिल्ली घर्ती, लोकेन्द्र घर्ती, शौरभ पुन र भीमबहादुर वुढालाई पनि साधारण तारिखमै छाडेको थियो । हत्यामा संग्लग्न मानिसहरु अदालतमा एकपछि अर्को छुट्न थालेपछि न्याय पाउने आशा समेत मरेको मृतक सञ्जु विकका वुवा बलराम विकले बताए ।

कहाँ पुग्यो कानुनी प्रक्रिया ?
हत्याकाण्डमा संग्लग्न भएको आरोपमा सोतीगाउँका ३४ जनाविरुद्ध जिल्ला अदालत रुकुममा मुद्दा दायर भएको थियो । तीमध्ये २३ जना आरोपीलाई पुर्पक्षका लागि कारगारमा राखिएको छ । अहिले अदालतले प्रमाणहरु बुझ्ने क्रम जारी छ ।

जोहेरीवालाको वकपत्र भयो, दुई जना डाक्टरको समेत वकपत्र भयो, सबैको वकपत्र भएपछि एक महिनामा फैसला हुन्छ पीडित पक्ष बाट वकालत गरिरहेका वकिल मोहन शाह शंकरले बताए । उनले भने, ‘प्रमाणहरु नपुगेका कारण ढिलाई भईरहेको छ, प्रमाणहरु पुग्ने वितिकै फैसला हुन्छ , अरु सबै प्रमाणहरु भईसकेको छ, केही साक्षीहरु र डाक्टर, प्रहरीहरुको वकपत्र सक्नेवितिकै छ महिना भित्र फैसला हुन्छ ।’ स्थानीय निर्वाचन, कोरोना महामारी लगायतले फैसलामा ढिलाई बनाएको शाहको भनाई छ ।

तपाईको प्रतिक्रिया