दैलेखको ११ ओटै पालिकाको मतगणना सकियो, काँग्रेस ५, एमाले ४ र माओवादी केन्द्र २ पालिका प्रमुखमा विजयी 

unn.prixa.net
दैलेख । दैलेखका सबै पालिकाको मतगणना सकिएको छ । ११ ओटा स्थानिय तह रहेको दैलेखमा नेपाली काँग्रेसले ५ पालिका प्रमुखमा जित हात पारेको छ भने नेकपा एमाले ४ र नेकपा माओवादी केन्द्र २ पालिकाको प्रमुखमा विजयी भएको छ ।

नेपाली काँग्रेसले जिल्लाको दुल्लु नगरपालिकामा प्रमुख, चामुण्डा बिन्द्रासैनी नगरपालिकामा प्रमुख÷उप प्रमुख, भैरवी गाउपालिकामा अध्यक्ष÷उपाध्यक्ष, महावू गाउपालिकामा अध्यक्ष÷उपाध्यक्ष जितेको छ भने ठाटिकाँध गाउपालिकामा अध्यक्ष र भगवतीमाई गाउपालिकामा उपाध्यक्ष पदमा जित हासिल गरेको छ ।

यस्तै नेकपा एमालेले जिल्लाको आठबीस नगरपालिकामा प्रमुख÷उप प्रमुख, नारायण नगरपालिकामा प्रमुख÷उप प्रमुख, गूराँस गाउपालिकामा अध्यक्ष÷उपाध्यक्ष, डुङ्गेश्वर गाँउपालिकामा अध्यक्ष÷उपाध्यक्ष, दुल्लु नगरपालिकामा उपप्रमुख र ठाटिकाँध गाँउपालिकामा उपाध्यक्ष पदमा जित हासिल गरेको छ ।

यस्तै नेकपा माओवादी केन्द्रले दैलेखको नौमुले गाउपालिका र भगवतीमाई गाउपालिकामा प्रमुख पदमा जित हासिल गरेको छ । नेकपा एकिकृत समाजवादी पार्टीले जिल्लाको नौमुले गाँउपालीकामा मात्रै उपाध्यक्ष पदमा जित हासिल गरेको छ ।

जिल्लाका सबै पालिकाको मतगणना सकिएसँगै सार्वजनिक मतपरिणम अनुसार दैलेखको आठबीस नगरपालिकाको प्रमुख÷उपप्रमुख दुवै पदमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । नगर प्रमुखमा नेकपा एमालेका तर्क बहादूर बडुवालले नेपाली काँग्रेसका प्रेम प्रकाश शाहीलाई २ सय ६१ मतान्तरले हराउँदै जित हात पार्नुभएको छ ।

यस्तै उप प्रमुखमा पनि नेकपा एमालेका कल्पना थापा ५ हजार १ सय १३ मत प्राप्त गर्दै विजयी हुनुभएको छ । प्रत्यासी नेपाली काँग्रेसका उम्मेदवार निशा थापालाई १ सय ४८ मतान्तरले पराजित गर्दै उहाँले जित हात पार्नुभएको हो ।

दुल्लु नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका भरतप्रसाद रिजाल विजयी हुनुभएको छ । नगरपालिकाको उपप्रमुखमा भने नेकपा एमालेका विना कार्की विजयी हुनुभएको छ । गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका टेकबहादुर खड्कालाई ७३ मतले हराउदै कार्की विजयी हुनुभएको हो । उपप्रमुखमा विजयी कार्कीले ७ हजार १ सय ६० मत पाउँदा उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादीका खड्काले ७ हजार ८७ मत प्राप्त गर्नुभयो ।

नारायण नगरपालिकाको प्रमुखमा नेकपा एमालेका लोमन शर्मा (काफ्ले) ५ हजार ४ सय ३६ मत प्राप्त गर्दै नगर प्रमुखमा विजयी हुनुभएको छ भने उप प्रमुखमा नेकपा एमालेका तप्ता कुमारी खड्का (थापा) ५ हजार ६ सय ७३ मत प्राप्त गर्दै विजयी हुनुभएको छ ।

ठाटीकाँध गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका रक्ष बहादूर शाह २ हजार ५ सय ७१ मत प्राप्त गर्दै विजयी हुनुभएको छ भने उपाध्यक्षमा उपाध्यक्षमा नेकपा एमालेका देविराम बडुवाल २ हजार ६ सय ९५ मत प्राप्त गर्दै विजयी हुनुभएको छ । भगवतीमाई गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका गणेशबहादूर थापा २ हजार ८ सय ४६ मत प्राप्त गर्दै विजयी हुनुभएको छ भने उपाध्यक्षमा नेपाली काँग्रेसका मिनाकुमारी खड्का २ हजार ६ सय ८३ मत प्राप्त गद विजयी हुनुभएको छ । चामुण्डाबिन्द्रासैनि नगरपालिकाको प्रमुखमा काँग्रेसका गणेश बहादूर शाही ४ हजार ७० मत प्राप्त गर्दै विजयी हुनुभएको छ भने उप प्रमुखमा काँग्रेसकै मनसरा कुमारी शर्मा ४ हजार ३८ मत प्राप्त गर्दै विजयी हुनुभएको छ ।

भैरवी गाउँपालिकाको अध्यक्षमा काँग्रेसका रिता शाही ३ हजार ९ सय ७६ मत प्राप्त गर्दै विजयी हुनुभएको छ भने उपाध्यक्षमा काँग्रेसकै देवी भण्डारी ३ हजार ३ सय ७४ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको छ । डुङ्गेश्वर गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका सुन्दरकुमार केसी ३ हजार ४ सय ६ मत प्राप्त गर्दै विजयी हुनुभएको छ भने उपाध्यक्षमा नेकपा एमालेकै कलावती न्यौपाने ३ हजार ५ सय ७७ मत प्राप्त गर्दै विजयी हुनुभएको छ ।

गुराँस गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका टोपबहादुर बिसी ४ हजार ६ सय ८१ मत सहित विजयी हुनुभएको छ भने उपाध्यक्षमा नेकपा एमालेका शिवाकुमारी खड्का ४ हजार ६ सय ९८ मत प्राप्त गर्दै विजयी हुनुभएको छ । नौमुले गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका छविराम सुवेदी ३ हजार २ सय मत प्राप्त गर्दै बिजयी हुनुभएको छ भने उपाध्यक्षमा एकीकृत समाजवादीका गगनबहादुर शाही २ हजार ८ सय ३४ मत प्राप्त विजयी हुनुभएको छ ।

महावू गाउपालिकाको अध्यक्षमा काँग्रेसका लक्ष्मण गूरुङ्ग २ हजार ९ सय ७९ मत प्राप्त गर्दै विजयी हुनुभएको छ भने उपाध्यक्षमा नेपाली काँग्रेसकै मञ्जू कुमारी शर्मा ३ हजार १ सय ५५ मत प्राप्त गर्दै विजयी हुनुभएको छ । जिल्ला निर्वाचन कार्यालय दैलेखका अनुसार गत वैशाख ३० गते सम्पन्न भएको स्थानिय तह निर्वाचनमा दैलेखमा कुल एक लाख ५८ हजार ४ सय ८९ जना मतदाता मध्ये एक लाख १० हजार ८ सय २५ मत अर्थात (७० प्रतिशत) मत खसेको थियो ।

तपाईको प्रतिक्रिया