गठबन्धनका नेता एकथरी, कार्यकर्ताका अर्काथरी

कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री तथा माओवादी केन्द्रका नेता महेन्द्र बहादुर शाहीले उम्मेदवारी दर्ताको अन्तिम दिन दिउँसोतिर गठबन्धनले प्रदेशस्तरमा गरेको सहमति सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरे ।

जसमा कांग्रेस नेता पूर्णबहादुर खड्काको जिल्ला सुर्खेत र अर्थमन्त्री तथा माओवादी केन्द्रका नेता जनार्दन शर्माको जिल्ला रुकुम बाहेक अन्य सबैतिरका सत्तारुढ गठबन्धनको तालमेलको खाका समेटिएको निर्माण गरिएको थियो । उक्त विज्ञप्तिमा कुन पालिकामा कुन दलको उम्मेदवार के पदमा उठाउने भनेर उल्लेख थियो । तर, त्यसको केही घण्टा नबित्दै माओवादीकै जिल्लाका नेताहरूले पनि छयापछयाप्ती विज्ञप्ति सार्वजनिक गर्न थाले, गठबन्धन कायम नरहेको भन्दै । त्यसमध्येको एक थियो, सल्यानबाट माओवादीका नेता टेकबहादुर बस्नेतले सार्वजनिक गरेको विज्ञप्ति ।

शाहीले सार्वजनिक गरेको विज्ञप्तिमा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी सल्यानका कुन पालिकाका कुन पदमा उम्मेदवारी दिने भनेर तय गरिएको थियो । तर, बस्नेतले सार्वजनिक गरेको विज्ञप्तिमा सबै पालिकामा माओवादी र एकीकृत समाजवादीको मात्रै तालमेल भएको भनिएको थियो ।

नेता बस्नेतले एक सञ्चार माध्यमसंग किन गठबन्धनभित्र गठबन्धन गर्नु भएको ? भन्ने जिज्ञासामा ‘संस्थागत निर्णय सबैका लागि लागू नभएका कारण बाध्यता आइलागेको’ भनेर जवाफ दिए । उनले नेताहरूले आफ्नो स्वार्थ जोडिएका जिल्ला र पालिकामा तालमेल नगर्ने तर, कार्यकर्ताले दुःख गरेर बलियो बनाएका ठाउँमा गठबन्धन गरिदिनुपर्ने बाध्यता नरहेको बताए । बस्नेतले सल्यानबाट सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेजस्तै विज्ञप्ति देशभरका विभिन्न जिल्लाबाट गठबन्धनका तल्लो तहका कमिटीले पनि गरे र उनीहरूले आफू अनुकूलको निर्णय गरे ।

गठबन्धनका दलहरुको एमालेसंग तालमेल

गठबन्धनका दलहरूको विजोग देखाउने अर्को दृश्य हो एमालेसँगको तालमेल । जुन दललाई प्रतिगमनकारी भन्दै आफू सत्तामा आसिन छन् र जसका विरुद्ध गठबन्धन बनाएका छन् आन्तरिक संकटका कारण उसैसँग तालमेल गर्न पुगे । गठबन्धनका दलहरूले बरु ‘मित्रवत प्रतिस्पर्धा’ गर्ने तर, एमालेसँग तालमेल नगर्ने भनेर केन्द्रबाट निर्देशन नै जारी गरेका थिए । तर सहकार्य विपरीत प्राय सबै दलले कुनै न कुनै ठाउँमा एमालेसँग तालमेल गरेरै छाडे ।

त्यसमा पनि रोचक तालमेल एमाले फुटेर बनेको एकीकृत समाजवादीले ग¥यो । हुम्लाको चंखेली गाउँपालिकामा एकीकृत समाजवादी गठबन्धनभित्र सन्तुष्ट हुन नसकेपछि एमालेकै शरणमा पुग्यो । चंखेलीको अध्यक्षमा एमालेबाट बिमला कुमारी शाही र उपाध्यक्षमा समाजवादीबाट प्रेमकला शाहीले उम्मेदवारी दिए ।

सल्यानको कुमाख गाउँपालिकामा नेपाली कांग्रेस र एमालेबीच गठबन्धन बन्यो । अध्यक्षमा नेपाली कांग्रेसका मानबहादुर बुढाथोकी र उपाध्यक्षमा एमालेका लालबहादुर राउतले मनोनयन दर्ता गरे ।

तपाईको प्रतिक्रिया