
जीवन व्यवहारका विभिन्न परीक्षणमा प्रमाणित हुन नसकेका धेरै संस्कार छाडिएका छन्। तर मृत्यु संस्कार परीक्षण र परिणाम अगम्य अश्रव्य र दृष्टि गोचर नहुने भएकाले वा पारलौकिक हुने भएकाले पनि साथै आफन्तको बिछोडबाट मर्माहत मन, भावनाका कारण र मृत आत्मा पिचास भई वायु मण्डलमा भौतारिन सक्छ भन्ने समाजलाई डर छ । मृत आत्माबाट हावा नै प्रदुहित भए ग्याँस सिलिन्डरको ग्याँस नबल्न सक्छ। अक्सिजन सिलिन्डरबाट जीवन वायु ननिस्कन सक्छ। टियर ग्याँसले आँसु नझार्न सक्छ । लाफिंग ग्याँसले नहँसाउन सक्छ। यसैले यो समाजको चासोको र सरोकारको विषय पनि हो ।
mबमबलमृत्यु संस्कारको कार्यविधि र ऐन गरुड पुराणका स्रष्टा बाजेका अनुसार मृत देहबाट एक अंगुल बरावरको आत्मा निस्कन्छ, १० दिनको पिण्डबाट यमलोक यात्राको लागि १ हातको अस्थायी शरीर निर्माण हुन्छ। यात्री भारतको उत्तर प्रदेशको नैमिषारण्डयबाट उडिशा राज्यको बैतणी नदी पार गदै यमलोक पुग्दछ । अस्थायी शरीर निर्माणको दक्ष मिस्त्री र पितृलाई र यमदूतलाई भोजन बनाउने र खुवाउने कालिगड बाजेले छोरै हुनु पर्दछ भन्दछन्। नभए छोरो जन्माउने उपाय पनि बताउँछन्। सप्त चण्डी पाठ गर, शिवको आराधना गर वा हरिवंशको कथा सुन। बाजेसँग विधिको कमि छैनन्। पुशवन संस्कार वा सिमोन्तयन संस्कार गरे छोरै हुन्छन् भन्दछन्। बाजेसँग मूल्यवान् विधि मात्र होइन सुलभ विधि पनि छ। बाजे भन्दछन्। मासिकपछिको जोर रात्रिमा सहवास गरे छोरो हुन्छ भन्दछन्।
बिजोर रात्रिमा सहवास गरे छोरी जन्माउने विधि त बाजेलाई थाहा छ। तर बाजे त्यसको आवश्यकता देख्दैनन्। स्रष्टा बाजेबाट रचित गरुड पुराणका छोरा जन्माउने विधिबाट कति छोरा जन्मिए खै। तर अहिलेका वाचक बाजे पनि ती विधिको सिफारिस गर्दैनन्। तर आज मानिस अशास्त्रीय विधिबाट छोरा जन्माउन उद्धत छ। कति दिदी बहिनी बहुविवाहको सिकार बने। छोरा जन्माउने शास्त्रीय विधि नाकाम भएता पनि छोरा जन्माउने शास्त्रीय आवश्यकताको त्रास र स्वर्गको आस प्रतिको विश्वासमा ह्स आउन बाँकी नै छ। कति महिला छोराको आशामा आफ्नो शरीर र जीवनको परवाह नगरी पुत्र लाभको सम्भावना वृद्धि गरी रहेका छन्। प्रत्येक वर्ष सुतक पारि रहेका छन् र दर्जनौं सन्तानका उत्पादक बनिरहेका छन्। अर्को आज समाजमा गर्भ परीक्षण र गर्भपतन गरेर छोरा जन्माउने अशास्त्रीय विधि व्यापक भएको छ।
शास्त्रीय विधि प्रभावहीन भएता पनि अशास्त्रीय विधिले शास्त्रीय त्रासबाट छुटकारा पाउन चाहन्छ मानिस। अहिले स्वास्थ्य मैत्री विधि एडम्ट ब्याबी (बच्चा गोद लिने) चलन पनि छ। छोरी एडप्ट गर्न त चाहँदैन मानिस। छोरी लिँदा काम गर्ने कारिन्दा चाहिएको हुन्छ। तर केटो एडप्ट गर्दा आफ्नो सम्पूर्ण सम्पत्तिको मालिक बनाउने सम्झौता गर्दछ। यसरी छोरा जन्माउने शास्त्रीय विधि भन्दा अशास्त्रीय विधि कम छैनन्। आफ्नी छोरीलाई सम्पत्तिको एक टुक्रो दिन नचाहने मानिस पराई पुत्रलाई सम्पूर्ण सम्पत्तिको हकदार बनाउँछ। बाजे सम्पूर्ण दुखको कारण महिला हो भन्ने तिम्रो निष्कर्षले पुरुषलाई दिमाग खियाउन परेको छैन हात चलाएर नै पुगेको छ।
गरुड पुराणका स्रष्टा यौनका विषयमा पनि सतर्क छन्। पतिको मृत्युपछि पतिसँगसँगै चितामा जलेर शती जानुपर्छ भन्दै पति पत्निको महान् त्यागका बारेमा बयान गर्दछन्। चन्द्र समसेरले नहटाएको भए आज पनि महिला चितामा छटपटाइरहेका हुने थिए र पुरुषहरू मुङ्ग्राले थिची थिची पोलिरहेका हुने थिए। पत्नीलाई मृत्यु लोकमा एक्लै छाड्दा दायाँ बायाँ गर्न सक्छिन्। र पतिलाई उहाँ कारिन्दाको कमि हुन पनि सक्छ। चन्द्र समसेरको शती प्रथा अन्तको निर्णयले पतिलाई उनी एक्लै पठाएता पनि पतिको सत नडगोस् भनि वाचकहरूले यहाँ महिला बिरुप हुनुपर्ने नयाँ नियम बाँधे। यसमा पनि बाजेका नजरबाट अधर्मी र पापिनी देखिनेहरूले खुकुलो बनाउँदै आए। समाजको खिसीटिउरी, आलोचना, अपमान, घृणा र तिरस्कारको पारो पनि घट्दै आयो। यो एक विषयमा मात्र सुधार गर्ने आँट महिलाले किन गरे खै। त्यो लोक जहाँ पुरुषका लागि त सधैँ तरुनी मात्र हुने अप्सराहरूको व्यवस्था गरिएको छ। तर त्यहाँ कुनै रुपौलो पुरुष हुने छैन। वृष स्वरबाट प्राप्त हुने यौन अधिकार सीमित छन्। आमा मात्र जाँदा अनुमति दिनु हुँदैन भन्छन् बाजे। स्रष्टा बाजेलाई डर छ। वृष स्वरबाट प्राप्त अधिकारका कारण पति त्यहाँ नपुग्दै कुनै भुस तिग्रेबाट यौन प्यास मेटाउँछिन् कि भनि वृष स्वरको लगानी नगर्ने सल्लाह दिन्छन्।
गरुड पुराणका सर्जक बाजे विज्ञान र स्वास्थ्यका बारे पनि जानकारी राख्दछन्। बाजे मानव शरीरमा ३६० वटा हाड छन् भन्दछन्। र १ मानो रगत हुन्छ भन्दछन्। तर २०६ हाड र लगभग ६ मानो रगत हुन्छ भनेर नलेखे सम्म स्कुलका शिक्षकले १ नम्बर दिने वाला छैन। बाजेबाट शिक्षा पाएको विद्यार्थीलाई १ नम्बर दिन नमिल्ने तर बाजे तिमिलाई मान्दिनु पर्ने। छोरा वा छोरी हुने कारण तिमिले भनेका ६ वटै कारण दिए पनि पुरुषको वाई र महिलाको एक्स क्रोमोजोम मिले छोरा र दुवैको एक्स एक्स क्रोमोजोम मिले छोरी हुन्छ भनेर नलेखे १ कक्षा पास गर्न नसकिने। बाजे गर्भमा भ्रूण बन्ने प्रक्रिया र तिमिले भनेको चौरासी लाख जीव संख्या पनि काम लाग्ने देखिएन। बाजे तिम्रै शिक्षा सबैभन्दा महँगो हुने तर तिम्रै शिक्षाले फेल हुनु पर्ने सजाय पाउनु पर्ने र जीवन व्यवहारमा काम नलाग्ने।
श्रृजक बाजे तिमिले भनेको वृत्त भन्ने ब्राह्मणलाई इन्द्र भन्ने क्षेत्रीयले मारेको पापको भागेदार महिला हो, रजश्वाला हुनुको कारण हो भन्छौ। साथै ऋतु भएको पैलो दिन चाण्डाल्नी दोस्रो दिन ब्रह्म घातिनी हुन्छ भन्ने तिम्रा कानुनका प्रभावले मान्छे मार्ने हत्याराभन्दा कसैका कोखमा जन्मनु नै धार्मिक र सामाजिक सोपानमा तल देख्नुपर्छ भन्ने नजरिया अझै हटेको छैन। महिलामा हुने प्राकृतिक प्रक्रियालाई रहस्यमय बनाएर महिलालाई निम्न, तुच्छ, हिन बनाउने तिम्रो योजना अझै चालु नै छ। बाजे दलितलाई वेद पढे बाफत, दूध खाए बाफत र प्रेममा परेका जोडीहरूले अन्तर जातीय विवाह गरे बाफत साथै कामी दाइले कृषि औजार बनाए बाफत घोर नर्कमा जानु पर्ने तिम्रो घोषणाले दलितहरूलाई अपमान गर्ने घृणा गर्ने तिम्रो योजना सफलै छ।
अझै दलितलाई अपमान गर्न तिमिले प्रयोग गरेका शब्द मैले यहाँ प्रयोग गर्न सकिन। अरूलाई ती शब्द प्रयोग गर्दा कानुनको डर छ। तर तिम्रो वक्तालाई अझै सम्म छोएको छैन। बाजे भौतिक शरीर त के हो र त्यो त पञ्चमहाभुतमा मिल्ने ढुंगा माटो को शरीर हो छोरो चाहिने त परलोक सुधारका लागि हो भन्ने तिम्रो दर्शनले जिउँदा आमा बालाई धरधरी रुवाउने र वृद्धाश्रम लगेर छाड्नेहरूलाई पनि केही भन्न सकिएको छैन। बाजे गल्ती गरियो तिम्रा वक्ता बाजेले मृतकका घरमा मृत्यु भएको ५ दिन देखि १० दिन मैले बाहेक अरूले पढ्नु हुँदैन भन्दै आएको तिम्रो सृजना कनीकुथी पढियो। महिलालाई र दलितलाई अपमान नगरी, विभेद नगरी र दोस्रो दर्जाको नागरिक नदेखी अप्सरासँग रमाइलो गर्ने मेरो चाहाना अपुरो हुने भयो।
















































। ७ बैशाख २०७९, बुधबार