सम्झनामा क. राहुल

धिरेन अनुपम

बुद्धपथमा रहेको श्रृष्टी खाजा घरमा चियाको चुस्कीमा चुनावी गफगाफ चलिरहेका थिए । ऋषि गौतम क.राहुलको १२ स्मृतिसभा पार्टी कार्यालय सुर्खेतको छतमा शुरु हुदैछ भन्ने खबर सुनेपछि म पनि लुखुर लुखुर राहुललाई भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्न त्यतै लागे । छतमाथी पार्टी कार्यकर्ताको ठूलो हुल जम्मा भएको थियोे ।

कार्यक्रमले औपचारिक रुपले गति लिएपछि उहाँकी जीवन संगिनी हरिमाया शर्मा (आशा) ले बोल्नुभयो, ‘युद्धका तीन बर्ष र शान्ति प्रक्रियाका तीन बर्ष मिलाएर जम्मा छ बर्ष मात्रै संगै हामी साथमा बस्न पायौं, पछि घटना घटीहाल्यो ।’ उहाँको यो शब्दले मलाई निकै भावुक बनायो । उहाँका सबैकुरा सुन्न सक्ने सहास म मा भएन र एक कदम पछि सरे ।

कुराले मन चसक्क दुख्यो । युद्धको क्रममा अक्सर राहुल गुटु आएपछि मेरै घरमा बास बस्न आउनुहुन्थ्यो । क. राहुलले काँधमा झुण्डाउने सानो ब्याग, पानासोनिक रेडियो, ठुलाठुला सुन्दर आँखा सबै परछाँया भएर आँखा अगाडि उभिए । भेट भएपछि ल कमरेड आज पनि तपाईको घरमा बास बस्न आईपुगियो । क. राहुलले भन्ने यही थेगो थियोे । आज पनि त्यही थेगो झलझलती सम्झे । कुरामा कुरा आउँदा मेरा ठुला बुवा भन्ने गर्नु हुन्थ्यो कालको जेठो कान्छो कोही हुदैन, त्यो कुरा अहिले पनि मेरो कानको ओरीपरी गुन्जीरहन्छ ।

May be an image of 1 person

स्वर्गीय कमरेड राहुल

म सानै थिए । बुढाले बोलेका कुराबुझ्ने बुद्धि म मा थिएन । युवा लक्का जवान भन्दा बुढाहरुनै अघि मर्छन होला लाग्ने गर्दथ्यो तर दैवको अभिनय त्यस्तो नहुँदो रहेछ । ठूलो भएपछि थाहा भो कालको जेठो कान्छो आखिर कोही नहँुदो रहेछ । २०६६ साल फागुन २७ गते आजकै दिन क .राहुलको सुर्खेत बसपार्कमा बसले कुल्चेर रहस्यमय ढंगबाट हत्या भयो ।

दोषी जेलमा छ या रिहाई भएर बाहिर आएको छ थाहा छैन । घटनाको श्रृखंला भने यथेष्ट अझै हुन सकेको छैन । कुनै कुनै अपत्यारिला घटना घटेको देख्दा लाग्छ । राम्रा मान्छेलाई कालले चाडै टिपेर लिन्छ भन्ने हजुर आमाका कुरामा केही सत्यता लुकेको छ । जस्तो महसुस हुन्छ अहिले । गर्नको लागि उमेर धेरै हुनु पर्दैन योगदान हरेक तरिकाले समाजमा गर्न सकिन्छ । लाग्छ थोरै कालमा राहुलले धेरै योगदान गरेको अनुभूति हुन्छ ।

माओवादीले २०५२ सालमा शसस्त्र जनयुद्ध गरेपछि सुर्खेतमा नेकपा मसाल भित्र माओवादी जनयुद्धलाई हेर्ने दृष्टिकोणमा दुई फरक भिन्न विचार देखा परेका थिए । त्यसबेला मसालको सुर्खेत सेक्रेटरीमा राहुल नै हुनुहुन्थ्यो । राहुलको विचारमा रामबहादुर चपाई (जिवन्त), सीता नेपाली (रक्षा) , शान्ता पोखरेल, बलभद्र भारती,कर्णबहादुर शाही,प्रतिभा गौतम, प्रभा गौतम र खडानन्द काफलेको कित्ता एउटा थियोे र सहासी भएर विद्रोह गर्नु भयो ।

जनयुद्धले पश्चिम एरियालाई आधार ईलाका बनाईरहँदा बाबियाचौरमा खडानन्दको हत्या सेनाले निर्मम र पासबिक ढंगले बिचबजारमा गर्यो । साहुजीहरु भन्ने गर्थे चार पाँच गोली छातिमा खाएपनि खडानन्द ठिङ्ग पहाडझै अटल भएर उभिएका थिए रे । उनी ढल्दै ढलेनन् रे धेरै बेर सम्म । अझै ढल्दैन आतंककारी भन्दै शाही सेनाको जल्लादले बुटले छातिमा हानेर भुईमा पछारेको थियो रे ।

मोतिप्रसाद मिदुन , शेरबहादुर परियार, रत्न बिक्रम राना प्यासी, गोविन्द प्रसाद सुवेदी लगाएतको कित्ता अर्को थियो । जो माओवादी जनयुद्धलाई जनयुद्ध स्विकार गर्दैन थियोे । २०५४ सालमा राहुल नेकपा मसाल सुर्खेतको सेक्रेटरी हुनुहुन्थ्यो । लेखपर्सामा भएको जिल्ला भेलाले माओवादी जनयुद्धलाई सर्बहारा वर्गको मुक्तिको पक्षमा भएको युद्ध हो ।

त्यसलाई सहयोग गर्नुपर्छ भन्ने मत पास गरेको थियोे । त्यही अभियोगमा राहुललाई कार्वाही गर्यो र उहाँलाई वनमेन कमिटीमा राखियो । कसैसंग राजनीतिक विचार, विमर्श र भेटघाट गर्ने निषेध गरिएको उर्दी थोपारियो । कमरेड राहुल वनमेन सेलमा बसेर आफुलाई मसालको बन्धक कैदी भएर बस्न उहाँको दिलले मनासिब ठानेन् । सर्वहारा वर्गको मुक्तिको लागि जनयुद्धमा होमिने हुटहुटिले जित्यो र उहाँ २०५६ सालमा भुमिगत हुनुभयो ।

२०५८ साल गुमिमा भएको पहिलो जनसरकार घोषणाले उहाँलाई जनसरकार प्रमुख र कृष्ण जीसी (जितेन्द्र) लाई उपप्रमुख घोषणा गर्यो । क. जितेन्द्र भने तत्कालिन प्रतिकृयावादी सरकारको जेल भित्रै बन्दक हुनुहुन्थ्यो । नेपालका ग्रामीण बस्तीहरुमा जनसत्ताहरु सञ्चालनमा थिए ठाउँ ठाउँमा कम्युन गठन गरिएका थिए । २०५९ सालमा राहुल नेकपा माओवादी सुर्खेतको जिल्ला सेक्रेटरी हुने अवसर पनि प्राप्त गर्नुभयो ।

वामपन्थी आन्दोलनको तर्फबाट यसरी दशरथ पुरमा पनि २०३६ जेठ १५ गते गरिव किसानका छोराछोरीहरुले रगत बगाएको ईतिहास सुर्खेतको छ । वामपन्थी आन्दोलन ईतिहासको विरासत सुर्खेतमा छुट्टै प्रकारको भएतापनि माओवादी जनयुद्धमा जनताको उपस्थिति घनिभुत प्रकारको थिएन् । राहुल जुनकिरीको उज्यालो भएर अन्धकार चिर्न एक्लो बृहस्पति भएर पुर्वबाट लागि परे । तत्कालिन समयमा त्यस बेलाको राज्य व्यवस्था संग भिड्नु फलामका चिउरा चपाउनु जस्तै थियोे ।

चुनौतिका पहाड छिचोल्दै राहुल अनवरत रुपमा क्रान्तिको दियो बाल्न लागिरहे । धेरै रातहरु जंगल र ओढारमा भोकभोकै बिताएका कुराहरु भेटमा सुनाउनु हुन्थ्यो मलाई । २०५६ मा नै रामबहादुर चपाई (जिवन्त) , खडानन्द काफले , बलभद्र भारती र शान्ता पोखरे पनि संगै भुमिगत हुनुभएको थियो । मसालमा निकै ठूलो पैरो गयो ।

बलभद्र भारती भने जनयुद्धको म्याराथुन दौडमा टिक्न सकेनन् , हरेस खाए , घर फर्किए, पछि काठमाडौं किर्तिपुर तिर सुईकुच्चा ठोके । अरु साथिहरु भने आन्दोलनमा लागिरहे । राहुल माक्र्सवादी दर्शनका अध्यता र बैचारिक नेता हुनुहुन्थ्यो । शालिन, भद्र र बौद्धिकता उनका पहिचान थिए । यसो भनौ उनी पार्टीको संगठक कर्ता थिए । जनयुद्धको रापतापले ग्रामीण क्षेत्रमा ठूलो प्रभाव पारेको थियो । सामन्त फटाहहरु गाउँ छोडेर सहर पसेका थिए । गाउँ गाउँमा जनसरकार निर्माण गर्ने प्रकृयाले तिव्रता पाएको थियोे ।

म आर्ट गर्न निकै रुचाउथे गाउँमा साईनबोर्ड र ब्यानरहरु अक्सर लेख्ने गर्थे । त्यो कुरा माओवादी कार्यकर्ताहरुले थाहा पाएछन् । एक दिन तप्पन नामका कामरेड मेरो घरमा आए अहिले उनी १४ नम्बर वार्ड वीरेन्द्रनगर नगरपालिकाका वडा अध्यक्ष पनि भएका छन् । अरु उनले केही बोलेनन् । तपाईं माथि भापर हल्दुरुख सम्म जानू पर्ने भयो कमाण्डरले बोलाउनु भएको छ मात्रै भने । मैले मौन स्विकृती जनाउदै उनकै पछि पछि लागे ।

हल्दुरुख आयो मान्छे कोही थिएनन् सिर्फ पसले र गाउँलेहरु मात्रै थिए । उनी अघिअघि हिडिरहे म पछिपछि , सोचे माथी उडुवा सम्म होला , उडुवा पनि आयो त्यहाँ पनि कमाण्डर थिएनन् । फेरि सोचे माथि सितपर्ने होला, सितपर्ने पनि आयो कमाण्डर त्यहाँ पनि थिएनन् । उनी संग त्यति राम्रो चिनजान पनि थिएन् गाउँमा उहाँ तलमाथि त गरि रहनु हुन्थ्यो बोलचाल र चिना पर्चि राम्रो थिएन । चिनापर्चि गरे पनि के गर्नु थियो र सबैका नाम भुमिगत थिए घर ठेगाना सोध्यो भने पनि त्यसबेला छापामारहरु राम्रो मान्दैन् थिए ।

त्यही भएर त सबैका टेक नाम थिए । तप्पनको नाम टोपबहादुर दर्लामी हो भन्ने कुरा उनी वडा अध्यक्ष भएपछि मात्रै थाहा पाएको हुँ । बात चित पनि केही भएन् । मन मनै सोचे अब साल्म छिपछिपे भन्दा माथि कुनै पनि हालतमा जानेवाला छैन् । मनमा कुरा खेलाए । माथि माथि भनेर झुट बोलेको देख्दा कनसिरीका रौं बहुत तातेका थिए तप्पन देखि ।

साल्म दिदीको घर भएर पनि अड लागेको थियो । अक्सर माओवादी छापामारहरु सेन्टर साल्ममा नै थियो । काम पनि साल्ममै रहेछ । ब्यानर लेख्ने ,माओवादीको सायद आठौं वार्षिकोत्सव हो या जिल्ला सम्मेलन हो यस्तै कार्यक्रमको ब्यानर लेख्न बोलाईएको रहेछ । ब्यानर लेखि सकेपछि भोलि बिहानै तल गुटु झरे ।

तिथि मिति ठ्याक्कै थाहा छैन । माओवादी पार्टीले जनसरकार घोषणा गर्ने कार्यक्रम थियोे । कार्यक्रम जनता उच्च मावि विद्यापुरको प्राङ्गणमा हुने तय गरिएको थियोे । राहुल दुई दिन मेरै घर पछाडि पट्टीको कोठामा बस्नु भएको थियोे । उक्त कार्यक्रमको लागि ब्यानर र झण्डाहरु धेरै बनाएको थिए एक्लै मैले । तप्पन पनि आर्टिस्ट गर्न निकै रुचाउथे ।

उनका अक्षरको पहिचान चिन्न सजिलै सकिन्थ्यो । भोलि पल्ट विद्यापुरमा बृहत् कार्यक्रम भएको थियोे । धेरै ठाउँबाट कार्यकर्ता , जनमुक्ति सेना र जनताहरुको उपस्थिति रहेको थियोे । राहुलले निकै ओजीलो र तार्किक भाषण लामैबेर सम्म गर्नुभयो । साँझपख कार्यक्रम सकियो उहाँ पुन गुटुतिरै फर्किनु भयो । भोलि तल मोतिसेरा कटहरको रुखमुनि भेट भएको थियोे । समय बित्दै गएका थिए । म जनमोर्चामा सक्रिय कार्यकर्ताको रुपमा पश्चिम बाट राजनीतिमा सक्रिय थिए । लोकराज गौतम, दिपेन्द्र उपाध्याय र मेरो गजबको दोस्ती थियोे ।

सुर्खेत आउँदा लोकराजक जी चनौटे आफ्नै घरमा जाउ भन्नू हुन्थ्यो । हामी लुखुर लुखुर जान्थ्यौं । माथिबाट सैनिकहरु राहुलकै घर तिरै राईफलका नालहरु ताकेर तयारी अवस्थामा बसेका हुन्थे पोष्ट भित्र । घर वरिपरीको वातावरण निकै भयाबह देखिन्थ्यो । पिसाव फेर्न घर देखि चर्पी सम्म आउन सकिँदैन थियो । पिसाबले च्यापेरै रात कटाउनुको बिकल्प देखिदैन् थियो ।

दिपेन्द्र जीले हो या मैले हो घर बाहिर आउन नसकेर कोब्रामा नै सु गरेमा थियौँ । घरमा अक्सर लाटा दाइ र आमा बस्नु हुन्थ्यो । आमाले खाना पस्केर हामीलाई दिई रहँदा पनि राहुल कमरेडको बहुत पिर गर्नु हुन्थ्यो । आखाँ बाट सुक्क सुक्क आँसु खसाली रहनु भएको दृष्य अहिले झै लाग्छ । हाम्रो गाउँ घरमा एउटा उखान छ ।

आमा बुवाको माया छोराछोरी माथि छोराछोरीको माया ढुङ्गा माथि । छोराछोरी जति ठुला भए पनि आमाबुवाले छोराछोरीलाई सानै देख्छन् । दशैँ आएर गएको दुई दिन भएको थिएन । दशैको अर्को दिन लोकराज र दिपेन्द्र गुटु आउनु भयो म गुटुमै थिए । आमाको माया न हो कहाँ मन मान्ने थियोे र ! अहिले झै यातायातको सहज पहुँच थिएन हामी भोलि पल्ट तिनै जना गुटुबाट माझिगाँउको ओर आईसकेपछि जंगलै जगल हुँदै चतुरे लाग्यौ ।

चतुरे चोकमा माओवादी सेना र डब्लु टी कार्यकर्ताको बाक्लो उपस्तिथि थियोे । हामी राहुल जी को नाम लिदै उहाँलाई भेट्न आएका हौं भन्यौं । केही माओवादी साथिहरुले सिआडी हुन सक्छन् भन्ने शंका पनि गरेपछि लोकराज जीले म उहाँको भाइ हँु भने पछि अलि नरम भएर हेरे । एकजना छापामार दौडिदै गएर भेट्न आएको कुरा पुर्याए केही समयपछि पातलो स्विटे ज्यानका दिनेश भन्ने कमरेड आए र हामीलाई संगसंगै लिएर गए ।

रेग्मीको घरमा उहाँको सेन्टर रहेछ । आमाले दशैको नासो स्वरुप पठाउनु भएको सेलरोटी लोकराजले झोला खोलेर दिनु भयो । सेलरोटीका एकएक टुक्रा हामी सबैले चाख्यौं । बाँकी बचेको उहाले नै राख्नु भयो । धेरै बेर सम्म कुरा चले लोकराज र राहुल कमरेडको जोक पनि निकै चल्ने रहेछ ।

सुख्ख, दुःख आमाको स्वास्थ अवस्था बारेमा राहुलले सोधपुछ गर्नु भयो , केही राजनीति गफगाफ र लेखफर्सामा मसाल समर्थकलाई छापामारहरुले केरकार गरेको बिषयमा समान्य छलफल पछि हामी बास बस्न तल बाबियाचौर बजार नरेश पुरीको घर आयौं ।

भोलि बिहान तिनै जना सुर्खेत फर्कियौं आमाको मन न हो , आमाको मन नपग्लेर कस्को पग्लिन्छ र ? राहुललाई सम्झेर अगेनोको डिलमा खान पस्कदै गरेकी बुढी आमा भक्कानिएर सुकसुक गर्दै आँसु खसालेको दृश्य अहिले झै लाग्छ । मैले पनि आज गजलकार बिपिन सलामीका सेरबाट राहुल लाई अक्षरको सहारा लिएर सम्झे ।

खरानी भएर माटो भएर
सबै जानेछन् यही बाटो भएर
आमाको मायामा कमि हुदैन
के भयो र छोरो लाटो भएर ।

तपाईको प्रतिक्रिया