कुदुमा जुठ्यान कार्यक्रम : एमाले कार्यकर्ता छानिछानी सिमेन्ट बाँडिएको आरोप


जाजरकोट । कुदुमा एमालेका कार्यकर्ता छानेर जुठ्यान कार्यक्रम अन्तर्गतका सामाग्री बाँडेको आरोप लागेको छ । भेरी नगरपालिका वडा नम्बर १३ कुदुमा नगरपालिकाको सहयोगमा आएको जुठ्यान कार्यक्रम नेकपा एमालेका कार्यकर्तालाई मात्रै बाँडेको सोहि वडाका वडा सदस्य यज्ञश्वर बटालाले गुनासो पोखे ।

वडा सदस्य बटालाले वडा अध्यक्ष र अन्य जनप्रतिनिधी नभएको मौका पारेर नगरपालिकाबाट जुठ्यान कार्यक्रमको लागि भन्दै आएको सिमेन्ट छानीछानी एमालेका कार्यकर्तालाई बाँडेको उल्लेख गरे ।

एमालेका कार्यकर्ता भएमात्र सामाग्री दिने भन्दै स्थानीय एमाले नेता यज्ञ बस्नेतले सार्वजनकि रुपमा अभिव्यक्ति दिएपछि अन्य स्थानीयहरु आक्रोषित भएका छन् । उनले नगरबाट नै एमालेका कार्यकर्ताको नाम आएकोले आफ्ना पार्टीकालाई मात्र दिने बताएको भिडियो सार्वजनिक भएको छ ।

उक्त कार्यक्रमका लागि नगरपालिकाले आठ लाख बजेट छुट्याएको बताईएको छ । कार्यक्रम अन्तर्गत करिव दुई सय घर परिवारका सिमेन्ट, पाइप र ड्रम वितरण गर्नुपर्ने हुन्छ । जसले उक्त सेवा सुविधा पाउनुपर्ने हो त्यो नभएर चुनावी माहोललाई मध्यनजर गर्दै एमालेका खास कार्यकर्तालाई मात्रै छानेर एकलौटी सिमेन्ट वितरण गरिएको सदस्य बटालाले आरोप लगाए ।

एमालेका स्थानिय नेता यज्ञ बस्नेतले उक्त समान एमालेलाई मात्रै हो अनि कोही नयाँ एमाले हुन्छ भने उसलाई पनि हो भनेर अभिव्यक्ति दिएपछि यस कार्यको बिरोध भएको छ ।

यता वडाका सचिव चन्द्र बहादुर गिरीले भने जुठ्यान कार्यक्रमको सामाग्री वितरण राजनीतिक आस्था हेरेर वितरण नहुने बताए । उनले उपभोक्ता समिती निर्माण गरेर काम सुरु गरिएको बताए । वडा सदस्य बटालाले भने उपभोक्ता समिति बनाउने बेला नै एमालेका कार्यकर्ता मात्र बोलाएर बनाएको आरोप लगाए ।

तपाईको प्रतिक्रिया