
जाजरकोट । सरकारले आउँदो वैशाख ३० गतेका लागि स्थानीय तह निर्वाचनको मिति तय गरेको छ। जसअनुसार चुनाव हुन अब ६६ दिन मात्रै बाँकी छ । अहिले आयोगले मतदाता नामावलीमाथि दाबी विरोधको समय राखेको छ। फागुन २६ गतेसम्म मतदाता नामावालीउपर कुनै त्रुटि भए दाबीविरोध गर्न सकिन्छ ।
आयोगले दिनानुदिन चुनावको तयारी तीब्र पारेपनि जिल्ला निर्वाचन आर्यालय जाजरकोटले भने कर्मचारी अभाव भोगिरहेको छ । जसले गर्दा दैनिक कार्यसम्पादनमा समस्या भइरहेको छ ।
एक अधिकृत (कार्यालय प्रमुख)सहित एक नायब सुब्बा, एक लेखापाल, एक कम्युटर अपरेटर, दुई जना कार्यालय सहयोगी र एकजना हलुका सवारी चालकको दरबन्दी रहेको जिल्ला निर्वाचन कार्यालयमा अहिले नासु र लेखापाल छैनन् ।
नासुको दरबन्दी गत पुस अन्तिम सातादेखि रिक्त छ भने लेखापाल रिक्त भएको झण्डै एक वर्ष पुग्न लाग्यो । हाल कोष तथा लेखा नियन्त्रक कार्यालयले नै लेखाको काम गरिरहेको छ ।
अहिले कार्यालय प्रमुख, कम्युटर अपरेटर, करार दरबन्दीका दुई जना कार्यालय सहयोगी र एक जना सवारी चालक छन् ।
कर्मचारी नहुँदा कार्यालयको प्रशासनिक काम असर परिहेको कार्यालय प्रमुख डिलबहादुर कार्कीले बताए । यद्यपि, अहिले नै धेरै समस्या परिनसकेको उनी बताउँछन् ।
कार्कीले कर्मचारीको अभावका विषयमा आयोगको केन्द्रीय कार्यालयमा जानकारी गराइएको बताए । आयोगले छिट्टै कर्मचारी परिपुर्ति गर्ने वचन दिएको उनको भनाइ छ ।
‘अहिले नै ठूलो समस्या त परिसकेको छैन तर, अब कर्मचारी पदपुर्ति नभए समस्या बढ्दै जान्छ’, कार्कीले भने, ‘चैत १५ भित्र आयोगले नासु पठाउने कुरा गरेको छ । लेखापाल चाहिँ बढुवा प्रक्रियाबाट वैशाखमा आउने कुरा छ ।’
















































। २४ फाल्गुन २०७८, मंगलवार