गोइरीका ढुंगाको माग बढ्दो

files Picture

रुकुम पश्चिम । चौरजहारी नगरपालिका–८ गोइरीमा लामो समयदेखि परम्परागत ढुंगाखानी सञ्चालनमा छ । गोइरीका ढुंगा नेपालका सबैजसो ठाउँमा पुगिरहेको छ । त्यसमध्ये सबैभन्दा बढी काठमाडौं र पोखरामा दुर्गमका ढुंगा पुगिरहेका हुन् ।

दुई ठूला सहरसहित नेपालगन्ज, बुटवल, सुर्खेत, बाग्लुङ, दाङलगायत ठाउँबाट गोइरीमा मानिसहरू ढुंगा खोज्न आउँछन् र यहाँको ढुंगा लिएर जान्छन् । सुरुमा स्थानीयस्तरमै खपत भइरहेकोमा ५ वर्षयता यहाँको अधिकांश ढुंगा सहरतिर जाने गरेको हो । गोइरीका ढुंगा छानो छाउन, भान्सामा सिलौटोको रुपमा प्रयोग गर्न र सजावटका सामग्री बनाउन प्रयोग भइरहेको छ ।

कतिपयले घरभित्र मार्बल र टायलको सट्टामा पनि गोइरीको ढुंगा प्रयोग गरिरहेका छन् । स्थानीय कमल विकका अनुसार खानीबाट ढुंगा बाहिर निकाली सक्न नपाउँदै ती ढुंगा बिक्री भइहाल्छन् । ‘यहाँको ढुंगाको माग ठूला सहरमा बढी छ, व्यापारीहरू गाडी लिएरै ढुंगा खरिद गर्न आउँछन्,’ उनले भने, ‘उत्पादन कम छ, माग बढी छ, कसरी पु¥याउने ?’

ढुंगा सहरमा बिक्न थालेपछि खानीमा जोडिनको संख्या पनि बढेको छ । ढुंगाका विभिन्न आकार बनाउन थालिएको छ । अहिले खानी र आसपासका क्षेत्रमा झन्डै १ सय जनाले रोजगारी पाएका छन् । उनीहरूको आम्दानी दैनिक १ हजारदेखि ५ हजार रुपैयाँसम्म छ । अहिले खानीक्षेत्रमा ढुंगा काट्ने मेसिन नै ल्याइएको छ । खानी बाहिर मेसिनमार्फत ढुंगाका विभिन्न आकार बनाउने गरिएको कामदार धनबहादुर चन्दले बताए ।

‘अब त अर्डर अनुसारकै ढुंगाका आकार यही बनाउन थालिएको छ,’ उनले भने, ‘यो हाम्रा बाजेहरूको पालादेखिकै खानी हो, पुरानै तरिकाबाट ढुंगा निकाल्छौं, बाहिर ल्याएर मेसिनमार्फत विभिन्न आकारमा ढाल्ने गरेका छौं ।’ सुरुमा स्थानीयस्तरमै घर छुवाउन प्रयोग गरिने ढुंगा अहिले सहर पठाउन थालिएको उनले जानकारी दिए । उनका अनुसार पछिल्लो समय जस्तापाताले घर छुवाउन थालिएपछि ढुंगाको माग घटेको थियो । केही वर्षयता घर सजाउन ढुंगाको माग बढेको उनले जानकारी दिए ।

खानीमा ढुंगा आकार हेरेर मूल्य तोक्ने गरिएको छ । सामान्यतया ४० देखि ७० रुपैयाँसम्ममा एउटा ढुंगा बिक्री हुन्छ । यही मूल्यबाट जग्गाधनी, खानीमा काम गर्ने, श्रमिक र नगरपालिकाले कर लिन्छ । पछिल्लो समय माग बढेसँगै आम्दानी पनि बढिरहेको अर्का कामदार डिल्ली हमालले बताए । ‘हामी यसैबाटै परिवार पालेका छौं, छोराछोरीको पढाइ खर्च व्यहोरिरहेका छौं,’ उनले भने, ‘माग बढ्दै गएपछि दिनमा ३ हजारसम्म कमाइ गरिरहेका छौं ।’ उनले अहिले बिहान सबेरैदेखि राति अबेरसम्म खानीमा व्यस्त हुने गरेको बताए ।

खानी नजिकैसम्म नगरपालिकाले सडक निर्माण गरिदिएको छ । मध्यपहाडी लोकमार्गदेखि खानीसम्मको सडक निर्माण गरेको र अब त्यसलाई पक्की गराउने योजनामा रहेको नगरप्रमुख विशाल शर्माले बताए । ‘यो विशिष्ट खालको ढुंगा हो,’ उनले भने, ‘यसले स्थानीयलाई आम्दानी त दिएको छ नै चौरजहारीको पहिचान पनि विभिन्न ठाउँसम्म पु¥याएको छ ।’ कान्तिपुर

तपाईको प्रतिक्रिया