युक्रेन संकट राष्ट्रसंघ महासभाको विशेष सत्र बुधबार

संयुक्त राष्ट्रसंघ    ।    युक्रेनमा रूसले गरेको आक्रमणको विषयमा सुरक्षापरिषद्ले १९३ सदस्यीय राष्ट्रसंघको महासभाको ‘आपत्कालीन विशेष सत्र’ बोलाएको छ। बुधबार यसबारे विशेष छलफल हुनेछ ।

यसअघिको बैठकमा रूसले युक्रेनमाथिको आक्रमणको प्रस्तावलाई रोक्न भिटो प्रयोग गरेको थियो ।

युक्रेनको वर्तमान अवस्था र सुरक्षा परिषद्कको घटनाक्रमका कारण महासभाको ७६ औँ सत्रका अध्यक्ष अब्दुल्ला साहिदले राष्ट्रसङ्घका लागि युक्रेनका स्थायी प्रतिनिधि राजदूत सर्गेई किसलित्सियासँग पनि भेट गरेका छन् ।

युक्रेन संकटमा विशेष आपत्कालीन सत्र बोलाउनका लागि संयुक्त राष्ट्रसंघीय सुरक्षापरिषद्मा भएको मतदानमा भारत अनुपस्थित रह्यो ।

सुरक्षापरिषद्ले मुख्य रूपमा राष्ट्रसंघका सदस्य राष्ट्रहरूको शान्ति र सुरक्षाको लागि जिम्मेवारी लिन्छ। यसैगरी महासभाले सबै देशहरूका लागि संयुक्त रूपमा नीति निर्माण गर्ने गरेको छ ।

यो विषयलाई संयुक्त राष्ट्रसंघीय महासभामा लैजाने निर्णय भएको हो। सन् १९८२ पछि पहिलोपटक सुरक्षापरिषद्ले विशेष आपत्कालीन सत्रका लागि महासभामा मुद्दा पठाएको हो ।

युक्रेन संकट अब महासभाको आपत्कालीन विशेष सत्रमा छलफल हुनेछ। स्मरणीय छ‚ सन् १९५० देखि हालसम्म महासभाका १० वटा मात्रै विशेष सत्र बोलाइएको छ ।

नेपाल

नेपालले राष्ट्रसंघीय प्रस्तावलाई समर्थन गर्छौं भन्ने आशय व्यक्त गर्दै युक्रेनको समर्थन गरेको छ। नेपालले आफ्नो आधिकारिक धारणा जानकारी गराउन बाँकी छ।
भारत

संयुक्त राष्ट्रसंघका लागि भारतका स्थायी प्रतिनिधि टीएस तिरुमूर्तिले युक्रेन संकटबारे सुरक्षापरिषद्को बैठकमा भने‚ ’हामी हिंसा र दुश्मनी तुरुन्तै अन्त्य गर्ने कुरा दोहो¥याउँछौं। हाम्रा प्रधानमन्त्रीले रूसी महासंघ र युक्रेनका नेतृत्वसँगको पछिल्लो वार्तामा पनि यसैमा जोड दिनुभएको छ।’

’बेलारूस सिमानामा वार्ता गर्ने दुवै पक्षले गरेको घोषणाको हामी स्वागत गर्दछौँ। हामी युक्रेनमा फसेका भारतीय विद्यार्थीहरू सहित भारतीय नागरिकहरूको सुरक्षा र सुरक्षाको बारेमा गम्भीर चिन्तित छौं। सीमापारको जटिल र अनिश्चित अवस्थाले हामीलाई युक्रेनबाट भारतीयहरूलाई बाहिर निकाल्न गाह्रो बनाएको छ। सबै परिस्थितिलाई ध्यानमा राख्दै हामीले युक्रेन मुद्दामा मतदान नगर्ने निर्णय गरेका छौं ।’

अमेरिका

संयुक्त राष्ट्रसंघका लागि अमेरिकी स्थायी प्रतिनिधि लिन्डा थोमस ग्रिनफिल्डले रूसलाई कारबाही गर्नुपर्ने बताएकी छन्।

सुरक्षापरिषद्मा अमेरिकाले भन्यो‚ हामी एक यस्तो प्रस्तावमा मतदान गर्छौं‚ जसले रूसलाई यसको अक्षम्य कार्य र उल्लङ्घनका लागि जवाफदेही बनाउनेछ। यहाँ हामी छलफल गर्दै छौं र त्यहाँ युक्रेनमा क्षेप्यास्त्र वर्षा भइरहेको छ, त्यो पनि झूटबाट बनाइएको अनुचित आक्रमणका लागि। रूसले युक्रेनबारे झूट प्रचार गर्छ। आज बिहान मात्र रूसी राष्ट्रपति पुटिनले रूसको आणविक सेनालाई उच्च सतर्क बनाएका छन् । उनी आणविक हतियार नभएको देशमा आक्रमण गरिरहेका छन् र नेटोबाट कुनै खतरा छैन।’

चीन

चिनियाँ स्थायी प्रतिनिधि चाङ चुनले युक्रेन संकटको शान्तिपूर्ण समाधानका लागि हुने सबै कूटनीतिक प्रयासलाई चीनले समर्थन गर्ने र रूस र युक्रेनबीच छिटोभन्दा छिटो प्रत्यक्ष वार्ताको स्वागत गर्ने बताए ।

’हामी विश्वास गर्छौं– युक्रेनको अवस्था थप बिग्रनबाट जोगिन सबै पक्ष संयमित हुन आवश्यक छ। सन्तुलित, प्रभावकारी र दिगो युरोपेली सुरक्षा संयन्त्र निर्माण गर्नका लागि युरोपेली सुरक्षाका विषयमा समान रूपमा वार्ता गर्न र अविभाज्य सुरक्षाको सिद्धान्तलाई कायम राख्न युरोपेली पक्ष र रूसलाई चीनले समर्थन गर्छ। सुरक्षा परिषद्ले सबै देशको क्षेत्रीय शान्ति, स्थायित्व र विश्वव्यापी सुरक्षालाई प्राथमिकता दिनुपर्छ र युक्रेन समस्या समाधान गर्न रचनात्मक भूमिका खेल्नुपर्छ भन्ने चीनको विश्वास छ ।’

तपाईको प्रतिक्रिया