
जाजरकोट । २०७४ सालको स्थानीय तहको चुनावमा नेपाली काँग्रेसको अपिल पत्रमा भनिएको थियो– ‘बारेकोटमा रहेका फलाम खानी तथा अन्य सम्भाव्य खानीहरुको अनुसन्धान एवं उत्खनन् गरी सञ्चालनमा ल्याउने ।’
चुनाव भएर गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका महेन्द्रबहादुर शाह निर्वाचित भए । अपिल पत्रमा भनेजस्तै फलाम खानी तथा अन्य खानीहरुको अनुसन्धान एवं उत्खनन्का लागि कुनै पहल समेत भएको देखिदैन् ।
अपिल पत्रमा भनिएका महत्वपूर्ण चुनावी नारा नारामै सीमित बनेका छन् । बारेकोटमा रहेका महत्वपूर्ण जडीवुटी संकलन गरी प्रशोधन केन्द्र स्थापना गर्ने र बारेकोटको आर्थिक अवस्थामाथि उठाउने, महिला, दलित, जनजाती तथा पिछडिएका समुदायका लागि विशेष व्यवस्था गरी आर्यआर्जन तथा रोजगारीको सुनिश्चिता गर्ने, जोखिममा परेका बालबालिका, अपांग तथा वृद्धवृद्धाका लागि विशेष शिक्षा तथा सहयोगको व्यवस्थापन गर्ने, परम्परागत कृषि प्रणालीलाई सुधार तथा सुदृढ गरी उन्नत उत्पादनमा जोड दिन, बारेकोट, जुम्ला, जाजरकोट, डोल्पा सडक विस्तार गर्ने लगायतका महत्वपूर्ण चुनावी प्रतिवद्धता गरेका शाहलाई बारेकोटी जनताले विश्वास गरेर भारी मतका साथ जिताए ।
प्रतिवद्धता भनिएका चुनावी नाराले साँच्चिकै जनताको जीवस्तर उकास्न सकेको छैन् । रोजगारीका लागि सयौं बारेकोटबासी भारत लगायतका खाडी मुलुकमा धाउनु परेको छ । अपिल पत्रमा भनिएका सडक, सञ्चार, प्राविधिक शिक्षालय स्थापना लगायतका विषयले भने सार्थकता पाएका छन् ।
गाउँपालिकाको वडा नं ५ को रतनकोटमा नमस्ते मोबाईल सेवा सुरु, गाउँपालिका भित्रका ९ वटै वडा सडक सञ्जालमा जोडिएका छन् । शिक्षा क्षेत्रमा खास प्रगति हुन सकेको छैन् । आफ्नै कार्यकालमा स्नातक तह सञ्चालनका लागि क्याम्पसको स्थापना गर्ने, दलित, जेहेनदार तथा गरिव विद्यार्थीका लागि छात्रवृत्रिको व्यवस्था गर्ने भन्ने प्रतिवद्धता कागजमै सीमित छन् ।
स्वास्थ्य क्षेत्रमा भने सुधार भएको छ । प्राथमिक स्वास्थ्य केन्द्र लिम्सामा एम.विवि.एस डाक्टर, सुरक्षित सुत्केरी हुने महिलाको संख्यामा वृद्धि, अन्य पालिकाका स्वास्थ्य शाखालाई उछिन्दै लगातार प्रथम स्थान हासिल गर्न सफल बारेकोट भएको छ । चुनावी पत्रमा समेटिएका अधिकांश महत्वपूर्ण कामहरु शाहले गर्न सकेनन् ।

















































। ८ फाल्गुन २०७८, आईतवार