
खलंगा । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जाजरकोटले यस बर्षको उत्कृष्ट उद्यमी पुरुस्कार कुशे गाउँपालिका ८ का मानबहादुर थापालाई प्रदान गरेको छ ।
आईतबार ( आज) एक कार्यक्रमको आयोजना गरी एक लाख नगद सहित सम्मान गरेको हो । कार्यालयको बार्षिक स्वीकृत कार्यक्रम बाट थापालाई उत्कृष्ट उद्यमीको पुरुस्कार दिईएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जाजरकोटका प्रमुख मानबहादुर खत्रीले जानकारी दिए ।
उनले भने, ‘उत्कृष्ठ उद्यमी सम्मान कार्यक्रमका लागि १३ जनाको प्रस्ताव आएको थियो, त्यसमध्ये सबैभन्दा धेरै अंक प्राप्त गरी थापा पुरुस्कार पाउन सफल हुनुभयो ।’

२०५५ साल चैत १ गते देखि कुशे गाउँपालिकामा नेपाली हाते कागज उद्योग दर्ता गरी हाल सम्म निरन्तर उद्योग व्यवसाय सञ्चालन गरिरहेका थापालाई सम्मान गर्नु गर्वको विषय भएको जिल्ला समन्वय समिति जाजरकोटका प्रमुख मनबहादुर रावलले बताए ।

उनले भने, ‘यसले उद्योग क्षेत्रमा अझै आकर्षण बढाउने विश्वास लिएको छु, काम गरिरहेका उद्यमीहरुलाई कामको आधारमा मुल्यांकन गरी पुरुस्कृत गर्नु जिल्लाका लागि निकै सरहनीय कार्य हो ।’ ४२ हजार लगानी बाट व्यवसाय सुरु गरेका थापा अहिले बार्षिक ३ देखि ४ लाख सम्म कमाई गर्छन् ।
सम्मान पछि थापाले खुशी साट्दै भने, ‘यसरी सम्मानित हुन्छु भनेर कहिल्यै सोचेको थिई्न्, जीवनमा मिहिनेतका साथ पेशामा लाग्ने हो भने सम्मान पाईने रहेछ, म साह्रै खुशी छु ।’
















































। १ फाल्गुन २०७८, आईतवार