दक्ष जनशक्ति अभावले भेन्टिलेटर प्रयोगविहीन


जाजरकोट । स्वास्थ्य सेवा कार्यालय जाजरकोटमा एक बर्ष अघि जडान गरिएको भेन्टिलेटर प्रयोगविहीन भएको छ । एक बर्ष अघि कर्णाली प्रदेश सरकारको २६ लाख बजेटमा जडान गरिएको भेन्टिलेटर प्राविधिक जनशक्तिको अभावमा प्रयोग हुन नसकेको हो ।

स्वास्थ्य सेवा कार्यालय जाजरकोटका निमित्त प्रमुख टिकाराम जैसीका अनुसार आकस्मिक कक्षका सास फेर्न गाह्रो हुने र सघन उपचार कक्षमा राख्नुपर्ने बिरामीका लागि पहिलो पटक गत बर्ष कार्यालयमा भेन्टिलेटर जडान गरिएको हो ।

‘यसलाई सञ्चालन गर्ने जनशक्तिको व्यवस्थापन नहुँदा भेन्टिलेटर प्रयोगविहीन बनेको हो, उनले भने, ‘भेन्टिलेटर प्रयोगमा नआउँदा आकस्मिक कक्षका बिरामी बाध्य भएर जिल्ला बाहिर रेफर गर्नु परेको छ ।’

भेन्टिलेटर सञ्चालन गर्ने प्राविधिक जनशक्ति उपलब्ध वा व्यवस्थापनका लागि सङ्घीय र प्रदेश सरकारसँग पटकपटक अनुरोध गरिएको तर अहिलेसम्म कार्यान्वयन हुन नसकेको जैसीले बताए । प्राविधिक जनशक्ति व्यवस्थापन नहुँदा जिल्लावासीले गम्भीर अवस्थाको उपचार सेवा लिन अहिले पनि लाखौँ खर्च गरेर बाहिर जानुपर्ने बाध्यता रहेको स्थानीयको गुनासो छ ।

अस्पताल विकास समितिको कार्यकाल सकिएको लामो समय भएपनि पदाधिकारीको विषयमा टुंगो नलाग्दा अन्य काम गर्न समेत समस्या भईरहेको छ ।

तपाईको प्रतिक्रिया