पछिल्लो समय जाजरकोटमा सामुदायिक वन अतिक्रमण गरी अस्थायी घरटहरा निर्माण गर्नेको संख्या बढीरहेको छ । विगतका तुलनामा गाउँगाउँ बाट अवैध काठ संकलन गरी बेच्नेहरुको संख्या पनि उत्तिकै बढेको देखिन्छ ।
दुर्लभ वन्यजन्तु कस्तुरी, रेडपाण्डा लुकीछिपी शिकार भईरहेको छ । तर डिभिजन वन कार्यालय भने मौन देखिएको स्थानीयबासीन्दा गुनासो गर्दे आएका छन् । डिभिजन वन कार्यालयले यस्ता समस्या समाधानका लागि के गरिरहेको छ ?
आगामी नीति तथा कार्यक्रम कस्ता छन्, अस्थायी घरटहरा निर्माणका लागि के पहल गरिरहेको छ ? यी नै विषय संग सम्बन्धीत भई हाम्रो पुहँच डटकमले डिभिजन वन कार्यालय जाजरकोटका कार्यालय प्रमुख बसन्त श्रेष्ठ संग गरेको कुराकानी प्रस्तुत छ ।
१. स्वागत छ ।
धन्यवाद ।
२. तपाईं कार्यालय प्रमुखको जिम्मेवारीमा रहँदा देखिका महत्वपूर्ण कामहरु के के हुन् ?
डिभिजन वन कार्यालय जाजरकोटको प्रमुखको जिम्मेवारीमा रहँदा यस जिल्लामा रहेको वनको दिगो व्यवस्थापनका लागि सम्बन्धित सरोकारवालाहरुसंग समन्वय र सहकार्य गरी वनको संरक्षण, सम्वर्द्धन र विकासका कार्यहरु, जडिबुटी खेती बिस्तार, भण्डारण र प्रशोधनका साथै पर्यापर्यटन प्रवर्द्धन र विकासका कार्यहरु गरिएका छन् ।
काष्ठ, जडिबुटी, सौन्दर्यमूलक र धार्मिक महत्वका बहुवर्षीय विरुवा उत्पादन र वृक्षारोपणलाई विशेष जोड दिइएको छ । वन, वातावरण र जैविक विविधता संरक्षणका लागि सरोकारवालाहरुसंगको समन्वयमा जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरिएका छन् ।
३. आ.व. २०७७र७८ का प्रमुख उपलब्धीहरु के के हुन् ?
यस कार्यालयको आ.व. २०७७र७८ मा वित्तीय प्रगति ८६. ९९ प्रतिशत र भौतिक प्रगित ९१.४३ प्रतिशत रहेको छ । डिभिजन वन नर्सरी र सब डिभिजन वन नर्सरीमा मसला, बकाइनो, खयर, सिसौ, सितलचिनी लगायतका २ लाख रुख प्रजातिका विरुवाहरु उत्पादन गरी वितरण गरिएको छ ।
जिल्लाभरीको सामुदायिक वनको खाली क्षेत्र र नदि उकास जग्गा गरी ७ स्थानको १७।७ हेक्टरमा संरक्षणको व्यवस्था सहित टिमुर, सिसौ, खयर, मसला लगायतका बहुउपयोगी विरुवाहरु रोपण गरिएको छ ।
डिभिजन वन कार्यालयमा स्थायी वन नर्सरी स्थापना गरी बहुवर्षीय विरुवा उत्पादन शुरु गरिएको छ ।जडिबुटी प्रवर्द्धन र विकास अन्तर्गत २० वटा सहकारीर समूह र निजी उद्यमीलाई आर्थिक अनुदान प्रदान गरी नर्सरी निर्माण, जडिबुटी खेती, जडिबुटी भण्डारण भवन र जडिबुटी प्रशोधन केन्द्र निर्माण गरिएको छ ।
पर्यापर्यटन तर्फ कुशे गा.पा. वडा न. ४, टापुचौरमा पदमार्ग निर्माण र बारेकोट ४ स्थित साईकुवाँरी पाटनमा धर्मशाला र पदमार्ग निर्माण गरिएको छ । जिल्लाको ९ स्थानमा नदीरखोला किनारा संरक्षण र पहिरोरगल्छी नियन्त्रण कार्य गरिएको छ ।
४. जिल्लामा वन विनाश बढिरहेको छ भनेर आम नागरिकको गुनासो छ, यस बारेमा कार्यालयको रणानीति कस्तो छ ?
यस जिल्लामा वन अतिक्रमण गरी खेती गर्ने र घरछाप्रो बनाउने कार्य एक प्रमुख समस्याको रुपमा रहेको छ । वन विनाश रोकी वनको दिगो व्यवस्थापन मार्फत वनको उत्पादकत्व र उत्पादनमा बृद्धि गरी स्थानीय तथा राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याउन वन उपभोक्ता समूहहरु अभिप्रेरित गरी समुदायमा आधारित वन व्यवस्थापनलाई अभियानको रुपमा अगाडि बढाउने रणनीति डिभिजन वन कार्यालय जाजरकोटले लिएको छ ।
डिभिजन वन कार्यालयले स्थानीय तह, राजनीतिक दल, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, मिडियाकर्मी र सम्बन्धित सरोकारवालाहरुसंग समन्वय र सहकार्य गरी वन विनाश रोक्न प्रयास जारी राखिएको छ । गैरकानूनी तवरले वन अतिक्रमण तथा वन विनाश गर्ने व्यक्तिहरुलाई वन ऐन २०७६ बमोजिम कार्वाहीको दायरामा ल्याइने छ ।
५.चोरी शिकारी रोक्न कार्यालय कमजोर बनेको देखिन्छ किन ?
यस जिल्लामा रेडपाण्डा, कस्तुरी मृग जस्ता दुर्लभ तथा संरक्षित वन्यजन्तुहरुको अवैध शिकार र ति वन्यजन्तुहरुको आखेटोपहारको चोरी निकासी समेत हुने गरेको पाइएको छ ।
जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको समन्वय र सहयोगमा वन्यजन्तुको अवैध शिकारी र चोरी निकासी कार्यमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरी कानूनी दायरामा ल्याईएको छ । वन्यजन्तु संरक्षणमा लागेका सरेकारवाला संस्थाहरुसंग सहकार्य गरी वन्यजन्तुको महत्वको बारेमा स्थानीय जनतालाई चेतनामूलक कार्यक्रमहरु सञ्चालन गरिने छ ।
६. आ.व. २०७८र०७९ का प्रमुख स्वीकृत कार्यक्रमहरु के के हुन् ?
डिभिजन वन कार्यालय जाजरकोटको आ।व। द्दण्ठडरठढ का प्रमुख स्वीकृत कार्यक्रमहरुमा वन तथा वातावरण संरक्षणतर्फ समुदायमा आधारित वन संरक्षण तथा व्यवस्थापन, बहुवर्षीय विरुवा उत्पादन, ब्लक वृक्षारोपण, जडिबुटी विशेष क्षेत्र विकास, टिमुर खेति बिस्तार तथा प्रवर्द्धन, वातावरण संरक्षण तथा फोहोर मैला व्यवस्थापन, निजी वन प्रवर्द्धन, कृषिवन प्रवर्द्धन र मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापन तथा वन्यजन्तु उद्दार लगायतका कार्यक्रमहरु रहेका छन् ।
पर्यापर्यटन प्रवर्द्धन र विकासतर्फ मालिका मन्दिर निर्माण, जाजरकोट(कुशे(नदइधाप (तातोपानी हरित सडक निर्माण, कुशेमुशे चाखुरे पर्यटकीय पूर्वाधार निर्माण लगायतका कार्यक्रमहरु रहेका छन् ।
अन्य कार्यक्रमहरुमा भैरव मन्दिर निर्माण, सुयाडा मालिका पिपलतरा हरित सडक निर्माण, बुरेली पासागाड हरित उद्यान, हेलिप्याड निर्माण, समाजवाद अध्ययन प्रतिष्ठान निर्माण, मदन आश्रित स्मृति प्रतिष्ठान भवन निर्माण, जित स्मृति प्रतिष्ठान भवन निर्माण लगायतका कार्यक्रमहरु रहेका छन् ।
७. आगामी दिनमा के के कस्ता कामहरु गर्ने लक्ष्य बोक्नु भएको छ ?
वन सम्वर्द्धन प्रणाली अवलम्वन गरी समुदायमा आधारित वनको दिगो व्यवस्थापन मार्फत वनको उत्पादकत्व र वन पैदावारको उत्पादनमा वृद्धि गरी वातावरणीय सन्तुलन कायम गरी स्थानीय तथा राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याउने लक्ष्यलाई आत्मसात् गरी अभियानको रुपमा तदअनुरुपका क्रियाकलापहरु कार्यान्वयन गर्ने योजना रहेको छ ।
प्राकृतिक रुपमा रहेका महत्वपूर्ण जडिबुटीहरुको दिगो व्यवस्थापनका साथै जडिबुटी खेति बिस्तार, भण्डारण र प्रशोधनलाई विशेष प्राथमिकतामा राखिने छ । जिल्लाको उच्च भेगमा अवस्थित कुशे(मुसे(चाखुरे लगायतका पवित्र पाटन क्षेत्रलाई पर्यापर्यटन क्षेत्रको रुपमा विकास गर्न पर्यटकीय पूर्वाधार निर्माणमा विशेष जोड दिइने छ ।
८. अन्त्यमा के भन्नुहुन्छ ?
संरक्षण र विकासको बीचमा अन्योन्याश्रित सम्बन्ध हुन्छ । संरक्षणको लागि विकास आवश्यक छ भने संरक्षण बिनाको विकास दिगो हुँदैन । वन क्षेत्रमा गरिने सडक लगायतका विकासका पूर्वाधारहरुको निर्माण गर्नुपूर्व वातावरण संरक्षण ऐन र नियमावलीको प्रावधान बमोजिक अनिवार्य रुपमा वातावरणीय अध्ययन कार्य गर्न आवश्यक छ ।
वन देशको समृद्धिको एक महत्वपूर्ण आधार हो । वन क्षेत्रको दिगो व्यवस्थापन गरी यसको बहुआयामिक उपयोग मार्फत स्थानीय र राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याउने कार्यमा समन्वय, सहकार्य र सहयोग गर्न स्थानीय सरकार, राजनीतिक दल, मिडियाकर्मी, वन उपभोक्ता समूह र सरोकारवाला निकाय तथा संघसंस्थाहरुलाई डिभिजन वन वन कार्यालय जाजरकोट हार्दिक अनुरोध गर्दछ ।
















































। १८ माघ २०७८, मंगलवार