तरकारी खेतीमा किसानको आकर्षण, मनग्य आम्दानी

May be an image of 2 people, people standing and outdoors

भेरी नगरपालिका कृषि शाखा प्रमुख यज्ञ अधिकारी र कृषक दीपेन्द्र बस्नेत सानाखोला जुनीचाँदे : तस्विर अधिकारीको फेसबुक वाल बाट

जाजरकोट । पछिल्लो समय जाजरकोटका किसानहरुको तरकारी खेतीमा आकर्षण बढेको छ । छोटो समयमा धेरै आम्दानी गर्न सकिने भएपछि किसानहरुको आकर्षण बढेको हो ।

भेरी नगरपालिका १ कालेगाउँका भद्रबहादुर डिसीले ७ रोपनी जमिनमा तरकारी खेती गरिरहेका छन् । विगत ५ बर्षदेखि तरकारी खेती गर्दै आएको उनको भनाई छ । गहुँ मात्र उत्पादन हुने जमिनमा ६ बर्ष देखि तरकारी खेती गर्दै आएका भेरी नगरपालिका ११ मटेलाका कृष्णबहादुर रोकाय जिल्लाका सफल कृषकका रुपमा गनिन्छन् ।

८ रोपनी जमिनमा गहुँ खेति गर्दा ६ महिना सम्म खाना नपुग्ने रोकायको परिवार अहिले तरकारी खेती बाट मनग्य आम्दानी गर्दै आएको छ । उनले भने, ‘पहिले गुहँ खेती गर्दा परिवारमा खाना समेत पुग्दैन्थो, अहिले परिवारको आवश्यकता पूरा गरी थोरै वचत समेत हुने गरेको छ ।’

जुनीचाँदे गाउँपालिका ५ का कृषक दीपेन्द्र बस्नेतले १६ रोपनी जमिनमा तरकारी खेती गर्दै आएका छन् । ८ रोपनी आफ्नै जमिन र ८ रोपनी जमिन भाडामा लिएर सानाखोला नजिकै व्यवसायिक तरकारी खेती गरिरहेका छन् ।

उनले बर्षको दुई सिजनमा ५ लाख कमाई हुने बस्नेत बताउँछन् । उनीहरु त उदाहरण मात्रै हुन् । पछिल्लो समय जिल्लाका किसानहरुको व्यवसायिक खेती तर्फ आकर्षण बढेको देखिन्छ ।

जिल्लाभर ९ सय ६ हेक्टर जमिनमा तरकारी खेती भईरहेको छ । जस बाट ८ हजार ४ सय ७९ मेट्रिकटन उत्पादन हुने गरेको छ । किसानको व्यवसायिक खेती तर्फ आकर्षण बढेपनि सम्बन्धीत कार्यालयहरुको लाप्रवाहीका कारण किसानको तरकारी किराहरुको सिकार बनेको कृषकको गुनासो छ । सरकारी अनुदान समेत किसानले पाउन सकेका छैन् । व्यवसायिक योजना बनाउन जान्ने, कागजी प्रक्रिया मिलाउनेलाई मात्र सरकारी अनुदानले छोएको छ ।

तर वास्तविक किसान भने अनुदान बाट टाढा भएको देखिन्छ । सरकारी निकायले लक्षित किसानलाई अनुदान, राहत, सहुलियत कर्जाको व्यवस्थापन गर्न सके तयारी खेतिमा किसानको आकर्षण बढ्ने निश्चित देखिन्छ ।

तपाईको प्रतिक्रिया