कालापानी, लिपुलेक फिर्ता गर्न विपीको अभियान शुरु

काठमाडौं । नेपाली कांग्रेस (विपी) ले राष्ट्रियता संरक्षण गर्न एक महिने अभियान शुरु गरेको छ ।

रिपोर्टर्स क्बल नेपालमा आज पत्रकार सम्मेलन गर्दै राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र परम्परा जोगाउन उक्त पार्टीले माघ ७ गतेदेखि फागुन ७ गतेसम्म अभियान सञ्चालन गर्ने जानकारी दिएको हो।

पार्टीका उपसभापति पुष्पराज पराजुलीले नेतृत्वमा रहेका नेताहरु देशप्रति गम्भीर नभएको आरोप लगाए। उनले भारतसँग बोल्न प्रधानमन्त्री शेरबहादुर देउवाको आँट नभएको दाबी गरे।

उनले प्रधानमन्त्री सुशील कोइरालाले २०७२ सालमा चीन र भारतलाई सीमाको विषयमा कूटनीतिक नोट पठाएको स्मरण गराए।

उनले नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवाद नक्क्ली भएको आरोप लगाए। सत्तापक्ष र प्रतिपक्ष अहिले सबै विदेशी शक्ति केन्द्रबाट पालित पोषित भएको आरोप लगाउँदै उनले भने, ‘सत्तापक्ष र प्रतिपक्ष दुवै शक्तिले देशका लगि केही गर्न सक्दैनन्।’

उनले प्रचण्ड, माधवकुमार नेपाललगायत सबै नेता उस्तै भएको टिप्पणी गरे। राजाले प्रजातन्त्र र दलले राजसंस्था भुल्न नहुने उनको तर्क छ।

गौतम बुद्धको जन्मस्थल नेपाल भएको भन्दै उनले मुलुकलाई धर्मनिरपेक्ष बनाउने कार्यमा लाग्नेहरू विदेशीको एजेन्ट भएको गम्भीर आरोप लगाए।

वरिष्ठ उपसभापति गोविन्दप्रसाद शर्माले आफ्नो दलले विपीले गरेको समाजवादको परिकल्पना पूरा गर्ने रहेको सुनाए।

शर्माले देशलाई विस्तार र विकास गर्नलाई आफ्नो पार्टी अगाडि बढेको स्पष्ट पारे। उनले भने,‘खाडीका देशहरु आज सुन फलाउने भएका छन् तर हाम्रो देश नेपाल प्राकृतिक सम्पदाको हराभरा भए पनि उजाडिँदै गएको छ।’

विपीको समाजवाद र गणेशमान सिंहको त्यागलाई नेपाली कांग्रेस विपीले आगामी दिनमा जनतामाँझ बुझाउँदै लैजाने स्पष्ट पारे।

नेता भक्तराज भुषालले नेपाली कांग्रेसका कार्यक्रम र एजेण्डामा विचलन आएको आरोप लगाए। यसैगरी नेता देवेन्द्रप्रकाश पौडेलले मुलुक विषम परिस्थितिबाट गुज्रिरहेको बताए।

उनले राष्ट्रिय जागरण ल्याउने उद्देश्यले जनताको घरदैलोमा पुगेर बेथिति र भ्रष्टाचारको बारेमा भण्डाफोर गरिने जानकारी दिए।

कार्यक्रममा बोल्दै धर्मगुरु भिम्पोक्षे लामाले देशका सबै जनताले सहयोग गरेर आउने दिनमा नेपाली कांग्रेस (वी.पी.)लाई पहिलो पार्टी बनाउनुपर्ने धारणा राखे।

तपाईको प्रतिक्रिया