युद्धमा नहारेको एक कुशल योद्धा

हिरामणी दुःखी

मैले संसारसेन पृथकलाई राम्रोसँग चिन्न त सकेन तर आज उनलाई चिन्दै छु । उनलाई चिन्ने अवसर भने उनकै स्मृतिमा प्रकाशित हुन लागेको स्मृतिग्रन्थ सम्पादन गर्ने कार्यले जुराइदिएको छ । बिरबहादुर कामी अर्थात् संसारसेनकी जीवनसङ्गिनी लक्ष्मी चौलागाइँ ‘प्रतिज्ञा’ले मलाई यो स्मृतिग्रन्थ सम्पादन गरिदिन आग्रह गर्नुभयो ।

जसमा संसारसेनले विभिन्न समयमा लेखेका समसामयिक राजनीतिक लेखहरू तथा उनलाई चिन्नेहरूले उनका बारेमा लेखिएका संस्मरण, टिप्पणी आदि सामग्रीहरू छन् । यिनै सामग्री सम्पादन गर्ने क्रममा मैले संसारसेनका बारेमा प्रसस्तै जान्ने अवसर पाएँ । यद्यपि उनीसँग मेरो प्रत्यक्ष देखभेट जनयुद्ध कालमा भेरी–कर्णाली राज्यको जनसरकार घोषणा कार्यक्रममा जाजरकोटको जुँगाथापाचौरमा भएको जस्तो लाग्छ ।

त्यस अगाडि जनादेश साप्ताहिकको रिपोर्टिङको शिलशिलामा म भेरी–कर्णाली राज्यमा घुम्ने अवसर पाएको थिएँ । म र मेरो जीवनसाथी देवा भारतको कानपुरबाट त्यता गएका थियौँ । पार्टीले जाजरकोटको बारेकोट एरियाका दश÷बाह्र वटा स्थानीय निकायलाई जोडेर विशेष जिल्ला बनाएको थियो । त्यतिवेला उनी त्यही जिल्लामा खटाइएका रहेछन् ।

त्यस समयमा सामान्य भेटघाट भएको हो । खासै गहिरो गरि परिचय र कुराकानी हुन पाएन । उनका अगाडि हामी माथिल्लो तहका र बाहिरबाट गएका नेता भएकाले पनि स्थानीय तहका कार्यकर्ताहरूसँग खासै कुराकानी हुँदैनथ्यो । त्यसैले पनि उनलाई नजिकबाट चिन्ने अवसर मिलेन ।

संसारसेनको जीवनी झल्किने सामग्रीहरू उनका बारेमा लेख्ने थुप्रै लेखकहरूले प्रकाशन पारिसकेका छन् । म यहाँ जीवनीबारे लेख्न गएको छैन । उनका लेख रचनाहरू पढिसकेपछि उनको बुझाई के थियो र उनी कस्ता खालका व्यक्ति थिए भन्ने बारेमा सङ्क्षिप्त चर्चा गर्ने प्रयत्न गरेको छु ।

विद्रोहचेत ः
संसारसेन पृथकका बारेमा लेखिएका उनको परिचय, जीवनी र सङ्गठनमा लाग्नु पर्नाको कारणहरूको अध्ययन गर्दा उनी एक विद्रोही स्वभावका थिए भन्ने देखिन्छ । यो विद्रोही स्वभाव उनको आदतको सत्तामा नभएर चेतनाका अर्थमा देखिन्छ ।

उनी राज्यसत्ताको उत्पीडन, शोषण, दमन र राज्यसत्ताले निर्माण गरेको जातीय विभेदका कारण उत्पीडित जातीय समुदायका मानिसले समाजबाट भोग्नुपरेको अमानवीय पीडा, तिरस्कार र बहिस्करणका विरुद्ध सचेत रूपमा विद्रोह गरेको देखिन्छ ।

यही विद्रोहचेतका कारण देशमा नेकपा माओवादीले चलाएको वर्गसङ्घर्षप्रति विद्यार्थीकालदेखि नै उनी आकर्षित हुन पुगे । उनी विद्यार्थी भएकै समयमा जनयुद्धको रापतापले पूरै देशलाई ढपक्क ढाकेको थियो । जनयुद्धको तव्रितम विकास र राज्यको चर्को दमनको मुख्य केन्द्र जाजरकोट जिल्ला पनि एक थियो ।

अझ २०५५ जेठमा पुलिसले ‘किलोशेरा’ नामको आम नरसंहारकारी हत्या शृखंलाको सुरुआत नै जाजरकोटबाट गरेको थियो । त्यो अप्रेशनमा लहँ स्थित भानुभक्त माद्यामिक विद्यालयमा भएको स्कूलको वार्षिक कार्यक्रममा नाचिरहेका कलाकार र दर्शक जनतामाथि सामूहिक हत्याकाण्ड मच्चाएको थियो ।

त्यो घटनाले उनमा राज्यसत्ताप्रतिको आक्रोशको ज्वार झन माथि उठ्यो । त्यसपछि उनी अब आफ्नो पढाई र व्यक्तिगत जीवनप्रति तिलाञ्जली दिएर जनयुद्धमा प्रत्यक्ष सहभागि हुने सङ्कल्प गरे । यो उनको परिवारमै पहिलो विद्रोहचेत थियो । यसरी उनी जनयुद्धमा पूर्णकालिन भएर सामेल भएको देखिन्छ ।

                                                                स्व. संसारसेन पृथक

शालिन, भद्र र इमान्दार ः
उनका बारेमा लेख्नेहरू र उनीसँग जनयुद्धमा सहकार्य गर्नेहरूका अनुसार उनी शालिन, भद्र, नम्र र अनुशासित थिए भन्ने देखिएको छ । आफूलाई आएको जिम्मेवारी उनी इमान्दारितापूर्वक पूरा गर्थे । त्यसलै उनी कामप्रति निकै इमान्दार थिए भन्ने जनाउँछ । नेपालको कम्युनिस्ट आन्दोलनको मुख्य समस्या भनेको इमान्दारिता हो ।

उनी वर्गप्रति कति इमान्दार थिए भने आफू विदेशी भूमिमा दुई रोटी र एक टालोका लागि शरीर घोट्दा पनि यता आफ्नो जीवनसाथीलाई क्रान्तिकारी पार्टीमा सङ्गठित हुन र राजनीतिक जीवनलाई निरन्तरता दिन हौसल्याउँथे, प्ररेणा दिन्थे । युद्धकालमै पनि उनी पार्टीले आफूलाई जुन क्षेत्रमा खटाउँछ त्यहाँ वेहिचक जाने र आफूलाई परेको जिम्मेवारी पूरा गर्न सम्पूर्ण ताकत खर्चै गरेको देखिन्छ । त्यसैले पनि उनी सबैसामू छोटै समयमा पनि निकै लोकप्रिय भएको बुझिन्छ ।

निडर, साहसी र तार्किक ः
संसारसेन पृथकका बारेमा जेजति सामग्रीहरू लेखिएका छन् ती सबै सामग्री अध्ययन गर्दा उनी निडर, साहसी र तार्किक थिए भन्ने देखाउँछ । पार्टी कामका शिलशिलामा आफूलाई लागेका कुरा माथिल्लो नेतृत्वसँग निडरताका साथ प्रष्ट भाषामा राख्ने गर्थे भन्ने कुरा बताइएको छ । नेपालको कम्युनिस्ट आन्दोलनमा विद्यमान रहेको सामन्तवादी संस्कृतिका विरुद्ध सङ्घर्ष गर्नु पनि जनयुद्धको उद्देश्य थियो ।

विडम्वना त यो भयो कि स्वयम् नेताहरूमा जब्बर रूपमा सामन्तवादी संस्कृति हावी हुँदै गएको थियो । कमरेडली भावना भन्दा पनि जिमुवाल प्रवृत्ति बढ्दै गएको थियो । त्यसको प्रभाव अहिले त झन् बलियो भएर आएको छ । नेतृत्वमा छोटे राजा प्रवृत्ति बढ्दै गएको छ । सामन्तवादी प्रवृत्तिको मुख्य विशेषता भनेको नेतृत्वको चाकडी गर्नु र कार्यकर्ताहरूलाई नोकरको जस्तो व्यवहार देखाउनु हो । अहिले नेपालका कम्युनिस्ट पार्टीहरूमा सबैतिर यो प्रवृत्ति हावी हुँदै गएको छ । अझ सत्तासिन संसदवादी कम्युनिस्टहरूमा त यो सामन्तवादी संस्कृति अनिवार्य संस्कार जस्तै हुन पुगेको छ ।

संसारसेनले पार्टीका बैठक होस् अथवा भेटघाटका अवसरहरूमा होस् सबै ठाउँमा आफ्ना कुराहरू निर्धक्कसँग नेतृत्वका अगाडि राख्ने गर्दथे । त्यस्तै आफ्नो मातहतका कार्यकर्ता, सदस्यहरूलाई शालिनतापूर्वक कमरेडली ब्यवहार गर्दथे । जस्तो सुकै कठिनताहरूसँग पनि साहसका साथ योजना सफल पारेर फर्कन्थे । नेतृत्वसँग प्रस्तुत हुँदा उनी आफ्ना विचारमा तर्कपूर्ण वहस गर्न रुचाउँथे । फरक धारणा आयो भनेले आफ्ना विचारहरू सुस्पष्ट रूपमा तर्कहरू पेस गरेर नेतृत्वलाई समेत सहमत गराउने कला थियो ।

यसैगरी उनले राजनीतिक विचार, सामाजिक कुरिती, राष्ट्रियताका विषहरूमा पनि निकै तर्कपूर्ण विचार प्रस्तुत गरेको कुरा उनका लेखहरूमा पाउन सकिन्छ । हरेक नयाँ कुराप्रति उनी निकै जिज्ञासु थिए । उनमा अध्ययनको भोक थियो । विद्यालयको औपचारिक शिक्षा लिँदा होस् अथवा पार्टी सङ्गठनमा रहेर वैचारिक अध्ययन गर्ने कुरामा होस् उनी निकै रुचिपूर्वक अध्ययन गर्दथे । यसरी उनी पार्टी सङ्गठनमा रहँदासम्म निडर, सासी र तार्किक रूपम प्रस्तुत भए ।

बहु–प्रतिभाशाली ः
संसारसेन पृथकले औपचारिक शिक्षा हाइस्कूलसम्मको अध्ययन गरेता पनि उनमा सामान्यतया सबै विषयमा ज्ञान थियो । राजनीति, दर्शन, जातीय सवाल, धर्म, संस्कृति जस्ता विषयमा पनि उनले कलम चलाएका छन् । उनका लेखहरू पढ्दा मोटामोटी रूपमा सबै विषयमा धेरथोर ज्ञान राख्दथे भन्ने बुझिन्छ । त्यसैगरी उनले कविता, गीत लेखेर आफूलाई राजनीतिक लेखकका रूपमा मात्रै नभएर कवि साहित्यकारका रूपमा पनि प्रस्तुत गरेका छन् । उनले विदेशी भूमिमा बसेर पनि राष्ट्रियताको भावनाले ओतप्रोत भएका, जातीय विभेदका विरुद्धमा र अग्रगामी पक्षमा कविता लेखेर आफूलाई समाजवादी यथार्थवादी धारामा उभ्याएका छन् ।

यसरी बिरबहादुर कामी अर्थात् संसारसेन पृथकले बहुआयामिक व्यक्तित्वका रूपमा आफूलाई उभ्याएका छन् । पारिवारिक जीवनदेखि राजनीतिका हरेक क्षेत्रहरूमा आफूलाई सफल र विजेता बनाउँदै लगेका संसारसेनले अन्नततः अल्पायुको मृत्यलाई जित्न सकेनन् । विदेशी भूमिमा कम्पनीको कठोर श्रमबाट विदा भएर डेरामा पुगेपछि राती अवेरसम्म नेपालमा रहेका आफ्नो परिवारका सदस्यदेखि पार्टीका सहयोद्धाहरूसँग मिठो भलाकुसारी गरेर नेपाल फर्केपछि पुनः क्रान्तिकारी धाराको कम्युनिस्ट पार्टीमा समाहित भएर नयाँ यत्रा थालनी गर्ने मिठो सपना बुनेर सुतेको योद्धा विहान उठ्दा लाशमा परिणत होला भन्ने कसैले कल्पना सम्म गर्ने कुरा थिएन ।

उनी त्यस्तो कुनै दीर्घ रोगी भएर लामो समयसम्म उपचार गराउनु परेका व्यक्ति पनि थिएनन् । परन्तु मृत्यु कति निर्दयी हुन्छ भन्ने कुरा उनको मृत्युले पुनर्पुष्टी गरेको छ । युद्धका भीषणताहरू समेत नहारेको योद्धाले मृत्यसँग हार खायो र आज हामी उसको शाकाञ्ज्ली लेख्न वाध्य भएका छौँ । हार्दिक श्रद्धाञ्जली कमरेड संसारसेन पृथक । तिम्रो मृत्यु पो पृथक हुन पुग्यो । अल विदा रातो र जुझारु कमरेड संसारसेन ।

तपाईको प्रतिक्रिया