चुनावले गुटबन्दी गर्छ, सहमतिमै नेतृत्व चुनौँ : माओवादी

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को आठौँ राष्ट्रिय महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्नुपर्नेमा प्रतिनिधिहरूले जोड दिएका छन्। पुस ११ गतेदेखि जारी महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्न दबाब दिएका हुन् ।

शनिबारदेखि नेतृत्व चयनको लागि निर्वाचन आयोगले कार्यतालिका प्रकाशित गरे पनि एकाएक कार्यतालिका अनुसारको प्रक्रिया रोकी सहमतिमा पार्टी केन्द्रीय कमिटी घोषणाको लागि छलफल अगाडि बढाइएको छ ।

चुनावी प्रक्रियाबाट सिंगो केन्द्रीय कमिटी र पार्टी नेतृत्वको चयन गर्नुपर्ने मत पनि बन्दसत्रमा उठेको भए पनि बढीभन्दा बढी प्रतिनिधिहरूले भने पार्टीलाई सुदृढ र एकताबद्ध बनाउनका लागि सर्वसम्मत नेतृत्व चयन गर्नुपर्ने बताएका छन् ।

महाधिवेशनका प्रतिनिधि चक्रपाणि शर्मा सर्वसम्मतिमा नेतृत्व चयन गर्ने पार्टीले निर्णय गरेमा स्वीकार गर्नुपर्ने बताउँछन् । पार्टीभन्दा बाहिर गएर नहुने भन्दै पार्टीले छलफल गरेरै टुंग्याउने उनको भनाइ छ ।

प्रतिनिधि डा. कृष्णप्रसाद खनाल माओवादी पार्टीभित्र चुनावको संस्कार विकसित नभएको अवस्थामा सर्वसम्मत रूपले कमिटी निर्माण गर्नुपर्ने बताए। पार्टीले संगठित रुपमा आकार नलिइरहेको अवस्थामा चुनाव गर्नु नहुने पक्षमा उनको मत छ । चुनाव गराउनु भनेको गुटबन्दीको सिर्जना हुने उनको तर्क छ ।

प्रतिनिधि लीलाधर खनाल भने प्रतिस्पर्धा भएमा पार्टी स्वच्छ र मजबुद बन्ने बताउँछन्। प्रतिस्पर्धाबाट आएमा नेताहरुले आफ्नो क्षमता देखाएर अगाडि बढ्न सक्ने उनले बताए ।

त्यसैगरी, प्रतिनिधि परशुराम रिमालले पार्टीले चुनाव नै गरे पनि विद्यमान प्रणालीभन्दा फरक प्रकारको जनवादी चुनावको अभ्यास गर्नुपर्ने बताए। हाल माओवादी केन्द्रको कार्यकर्तामा चुनावमा जाने खालको चेतना नभएको भन्दै उनले चुनाव गरे पार्टी नबन्ने बताए। सहमति, सहकार्यबाट मात्रै पार्टी गतिलो बन्ने उनको भनाइ छ।

पार्टीमा सक्रिय र इमान्दार कार्यकर्ताले ठाउँ पाउनुपर्ने प्रतिनिधि वीरबहादुर रायमाझीले बताए। चुनाव भएमा पैसावाल मान्छेहरूको हालीमुहाली हुने भएकाले चुनाव गर्नु नहुने उनको भनाइ छ। चुनावी प्रणालीलाई मान्न नहुने उनको विश्वास छ।

प्रतिनिधि टेकनाथ न्यौपाने पनि चुनावको लडाइँभन्दा पार्टीलाई सर्वसम्मत रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिन्छन्। चुनावलाई केवल जित र हारको संज्ञा दिँदै सर्वसम्मतिमा कसैले जित्ने हार्ने नहुने टिप्पणी गरे। पार्टीलाई बलियो बनाउन चुनावको विकल्प खोज्नुपर्ने उनको भनाइ छ ।

प्रतिनिधिहरूको सर्वसम्मतको दबाब, पदाधिकारी र केन्द्रीय सदस्यमा आकांक्षी धेरै भएपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सकस परेको छ। प्रचण्डले सहमतिमै नेतृत्व चयन गर्नको लागि शनिबारदेखि नै आइतबार १ बजेसम्मका लागि बन्दसत्र स्थगित गरेर आन्तरिक गृहकार्यमा जुटिरहेका छन् ।

तपाईको प्रतिक्रिया