
जन्मदिने आमा बुवाको माया साथ सहयोग र आर्शिवादले म शिशुबाट एक लक्का जवान भएको छु । घर परिवारको जिम्मेवारी आफ्नो काँधमा बोकेर म अहिले खाडी मुलुक दुवई पसिना बगाई रहेको छु । छोरो पढेर ठुलो मान्छे बनोस् र आफ्नै देशमा नै केही गरोस् भन्ने सोचले बुवा आमाले आफु खाई नखाई मलाई पढाउनु भयो । उहाँहरुले आफ्नो भविष्यलाई मसंग जोड्नु भयो । तर आज त्यसको सही विपरित भयो । मैले खाडीको यात्रा तय गर्नुप¥यो ।
सरकारले स्वदेशमा नै रोजगारीको व्यवस्था गर्न नसक्दा लाखौंको संख्यामा नेपाली युवा युवतीहरुले थुप्रै विदेशी भूमिहरुमा ज्यानको वाजी राखेर काम गर्नुपर्ने बाध्यता सिर्जना भएको छ ।
त्यस्तै मैले पनि स्वदेशमा रोजगारीको अवसर कतै कतै पाईन् । आमा बुवाको सपनालाई पनि पुरा गर्न सकिएन् । त्यसपछि म गत माघ १९ गतेका दिन खाडी मुलुक दुवईकाे यात्रामा लागे । म बसेको जहाज माथी आकाश तिर जाँदै थियो मनभरी पीडा वेदनाले भरीदै थियो । करिब चार घण्टा जहाजको यात्रा पछि म दुवईमा पुगे । मनमा हजारौं कुराहरु खेलिरहेका थिए । दुवईमा पुगेको करिब पाँच दश मिनेट पछि मलाई आगोको रापले पोलिरहेको छ जस्तो लाग्यो । त्यतिवेला मैले सोच आमाले सानोमा खुवाएको दशधारा दुध यहि खाडी मुलुकमा पसिना बनेर सकिन्छ । तर के गर्ने जस्तो भए पनि सहनुपर्ने बाध्यता थियो ।
विगतमा आमा बुवाहरुसंगका ती पलहरु सम्झदै गर्दा आँखाभरी आँसु हुनथाले । साथीहरुसंग हाँस्दै खेल्दै विताएका दिनहरु आँखै वरीवरी झलझली आउँन थाले । जता हेरे पनि यो खाडीको ठाउँ एकैनासको देखिन थाल्यो पीडा वेदनाले भरिएको मन विसाउने ठाँउ कतै पनि भेटिन् । एकान्त कोठामा बसेर आमा बुवा र जन्मभूमिलाई सम्झँदै आँखाबाट आसुँ बर्सन थाले । मन मनै भने आमा बुवाको सपना पुरा गर्नका लागि यो खाडीमा आएको म फेरी नेपाल फर्कन्छु फर्कँदैन् ।
यहाँ पुगेको करिब एक हप्ता सम्म नत बस्नको कुनै टुङ्गगो लाग्यो नत खानाको कुनै टुङ्गगो लाग्यो । केही दिनपछि मेरो काम सुरु भयो दिन प्रतिदिन कामसंगै गर्मी पनि बढ्दै गयो । दिनभरी ४० डिग्रीको तापक्रममा काम गरेर वेलुका कोठामा फर्कँदा खाना त परको कुरा पिउँने पानी सम्म हुँदैन थियो । पहिलो दिन नै काममा गएर कोठमा फर्कँर्दा यो ठाउँमा आफ्नो शरीरकाे कुनै भर हुँदैन जस्तो लाग्यो ।
वेलुका खाना खान जाँदा मन भकान्नीयो तपतप आँखाबाट आँसु झर्न थाले । जता हेरेपनि विरानो लाग्न थाल्यो कतै पनि आफुले चिनेको व्यक्तिहरु देखिन् । त्यहाँ भएका मानिसहरुले आ–आफ्नै देशका भाषामा कुरा गरिरहेका थिए । उनीहरुले बोल्ने भाषा मलाई बोल्न आउँदैन थियो त्यसैले मैले उनीहरुसंग केही बोलिन् । खाना खान पनि मन लागेन् दिनभरी काम गरेर थाकेको शरीर, भोको पेट र आमा बुवाको यादहरुसंगै निधाँए ।
आमा बुवाको सपना बोकेर यहाँ डियूटी गएको छोरा बेलुका कोठामा फर्कने नफर्कने कुनै टुङ्गगो हुँदैन् । कसलाई पो रहर हुँदैनर आफ्नै देशमा बसेर काम गर्ने । तर नेपालमा कतै रोजगार पाईन बेरोजगार बसेर जिविका पार्जन गर्न कहाँ सकिन्छ । त्यसैमा फेरी आमा बुवाको सपना पनि पुरा गर्नुछ । आमा बुवाले सोचेको जस्तो जागिरे हुन नसकेपनि यो खाडी मुलुकमा दुःख गरेर भए पनि उहाँहरुको सपनालाई पुरा गर्छु भन्ने सोच बोकेर मैले आफ्नो कामलई निरन्तरता दिई रहे ।
आफ्नै देशमा पनि युवाहरुको क्षमताको मुल्याङ्कन हुँदैन यो त झन अर्काको देश हो यहाँ त झन युवाहरुको क्षमता को मुल्याङ्कन हुने कुरै भएन । मलाई लाग्छ कामको शिलसिलामा प्रदेश आएका कुनैपनि नेपालीले आफ्नो क्षमता अनुसारको काम पाएका छैन् । मेरो आफ्नै कामको कुरा गर्दा मैले मेरो क्षमताकोे पाँच प्रतिशत पनि काम पाएको छैन् । यहाँ ५० डिग्री देखि ५५ डिग्रीको तापक्रममा एक दिनमा १२ देखि १३ घण्टा काम गर्दा पनि सोचेको जस्तो खान र बस्नको कुनै व्यवस्था हुँदैन् । तै पनि काम नगरी हुँदैन । जस्तो भएपनि खानै पर्छ, भोकै बस्न केही सकिदैन ।
यहाँ मृत्युसंग डराई डराई बाँच्नु परेका हुन्छ । विरानो सहरहरुमा विराना मान्छेहरु हुन्छन् । जन्म पछि मृत्यु अवश्य हुन्छ । त्यसरी नै दुःख पछि सुख पनि एक दिन अवश्य हुन्छ होला । कतै विस्र्योकी नभन्नु होला जन्मदिने आमा र जन्मभुमिलाई मैले विर्सेको छैन् । बरु त्यही भूमिमा उब्जीएको मकैको रोटी र आमाको दशधारा दुधले नै यो खाडीको तापक्रमसंग लड्ने हिक्मत जुटेको छ । मलाई यहाँ हरेक दिन काम गर्ने हौसला दिने त्यही एउटा शब्द बनेको छ । आमा ।
















































। १७ पुष २०७८, शनिबार