जाजरकोटका उच्च भूभागमा हिमपात,कृषक बने हर्षित

No description available.

                                सुरेन्द्र सुमनको फेसवकु वाल बाट लिएको तस्विर : बारेकोट गाउँपालिका

जाजरकोट । जिल्लाका उच्च भु –भागमा भारी हिमपात भएपछि जनजीवन प्रभावित भएको छ । सोमबार दिउँसो देखि लगातार परेको वर्षासँगै जिल्लाका उच्च भूभागमा हिमपात भएपछि जनजीवन प्रभावित भएको हो ।

जिल्लाको सदरमुकाम नजिकै रहको पाँचकाटिका, कुशे, बारेकोट, जुनीचाँदे, जिरी, मैना, पैंक लगायतका जिल्लाको उच्च भुभागमा हिमपात भएको स्थानीयबासीले बताएका छन् । बारेकोट गाउँपालिका ४ मैनाका स्थानीय राजकुमार नेपालीले सोमबार देखि लगातार वर्षा भएपछि बुधबार बिहानै देखि हिमपात भएको बताए । ‘धेरै समयपछि अहिले हिमपात भयो’ नेपालीले भने,‘लामो समयसम्म पानी नपरेपछि खडेरी प¥यो अहिले वर्षासहित हिमपात भएको छ ।’

यता पानीसँगै हिमपात भएपछि स्थानीयवासी खुसी भएको कुशे गाउँपालिकाकी सरु बस्नेतले बताईन् । ‘असोज देखि पानी परेको थिएन,लामो समयपछि पानी पनि पर्यो उनले भनिन् ,‘पानीसँगै हिमपात पनि परेर चिसो बढेको छ ।’ वर्षासँगै परेको हिमपातले जिल्लामा चिसो बढेर जनजीवन प्रभावित भएको छ ।

चिसोको समयमा बालबालिका र वृद्धवृद्धाको स्वास्थ्यमा ध्यान दिनुपर्ने स्वास्थ्यकर्मीहरुले बताएका छन् । ‘वर्षासँगैको हिमपातले चिसो बढेको छ यस्तो वेला बालबालिकामा निमोनिया र बुढापाखामा दमको समस्या बल्झन सक्छ स्वास्थ्यकर्मी रामबहादुर रोकायले भने, ‘चिसोको समयमा तातो र प्रशस्त मात्रामा झोलिलो खानेकुरा खानुपर्छ ।’

वर्षा र हिमपातले किसान खुसी
लामो समयको खडेरीपछि वर्षा र हिमपात भएपछि किसान भने खुसी भएका छन् । खडेरीले हिउँदेबाली सुक्नै लागेका बेला भएको वर्षाले बालीनालीलाई फाइदा पुगेको बारेकोट गाउँपालिका २ का स्थानीय लालबहादुर रोकायले बताए ।

सिँचाइको सुविधा नभएका अधिकांश ठाउँमा बाली सुक्न लागेको बेला परेको वर्षा र हिमपातले हिउँदेबाली, तरकारीबाली र फलफूललाई धेरै फाइदा पुग्ने रोकायको भनाई छ । यस्तै, लामो समयपछि पानीसँगै हिमपात भएकाले आफु निकै खुसी भएको भेरी नगरपालिकाका स्थानीय टोपेन्द्र विकले बताए ।

गहुँ, तरकारी सबै सुक्न थालेको थियो उनले भने हिमपात र पानीले बालीनाली सप्रिने भएकाले धेरै खुसी छु । लामो समयदेखि ब्यवसायिक तरकारी खेती समेत गदै आएका किसानहरु सिचाईको अभावमा तरकारी राम्रो हुन नसकेको समयमा वर्षा र हिमपातले धेरै फाईदा पुगेको बताउँछन् । ह्वात्तै बढेको जाडो समेत यहाँको जनजीवन भने प्रभावित बनेको छ ।

तपाईको प्रतिक्रिया