
जनयुद्ध मै जनवादी विवाह गरेको जोडी समिक्षा र विन्दास
कालीबहादुर नेपाली
जाजरकोट । गाउँ माओवादी जनयुद्धको रापले तातिएको थियो । गाउँगाउँमा माओवादीका कुरा चल्थे । तत्कालिन शाही नेपाली सेना समेत माओवादी खोज्दै गाउँगाउँ जान्थे ।
कारण थियो नेपाली राजतन्त्रलाई समाप्त पार्न र जन गणतन्त्र स्थापना गर्ने उद्देश्यका साथ सुरु भएको जनयुद्ध । वि.स. २०५२ साल फागुन १ गते बाट नेपालमा जनयुद्धको सुरु भयो । माओवादी जनयुद्ध नेपालको सशस्त्र द्वन्द्व हो ।
त्यसको प्रभाव गाउँगाउँमा प¥यो । माओवादी जनयुद्धले नेपाली समाजको रुपान्तरण, जनताको जीवनस्तर उकास्ने, राजतन्त्र फालेर गणतन्त्र स्थापना गर्ने, समाजवाद हुदै साम्यवादी व्यवस्थामा मुलुकलाई लिने संकल्प बोकेर हजारौं नागरिकहरु जनयुद्धमा होम्मिए । त्यस्तै, मध्येका पात्र हुन् बविता चनारा ( समिक्षा) र धनबहादुर टमटा (विन्दास) ।
२०४६ साल असार ३ गते नलगाड नगरपालिका ५ मुलिमा वुवा सर्वजित चनारा र आमा पृथ्वीदेवी चनाराको कोख बाट कान्छी छोरीको रुपमा बविताको जन्म भयो । उमेरले १३ बर्षकी बविता २०५९ साल असार ३ गते माओवादी जनयूद्धमा लागिन् ।
तत्कालिन समयमा उनी त्रिभुवन माद्यामिक विद्यालय दल्लीमा कक्षा ६ मा अध्ययनरक्त थिईन् । विद्यालयमा अध्ययनरक्त बवितालाई तत्कालिन माओवादीका सांस्कृतिक कार्यक्रमले मन साह्रै लोभ्याई रहन्थ्यो । उनी पढ्ने विद्यालयमा लुकीछिपी कार्यक्रम हुन्थे । त्यही कार्यक्रममा गाउन र नाच्दा देखेर उनलाई पनि संगठनमा जोडिन् मन लाग्थ्यो ।
माओवादी कार्यकर्ताले त्यही समयमा जातीय छुवाछुत लगायतका विभेदका विषयमा विद्यार्थीहरुमा जानकारी गराउँदै आएका थिए । एकदिन विद्यालय बाट घर फर्कने क्रममा कालिमाटी बजारको एउटा होटलमा बविताले साथीहरु संगै खानेपानी पिईन् । त्यही होटेलका साहुजीले तिमीले किन पानी पिएको भन्दै थर्काए ? उनलाई बरबरी रुवाए । त्यसपछि बविताको मनमा माओवादी जनयुद्धमा लागेर विभेदको अन्त्य गर्छु भन्दै भुमीगत भईन् ।
२०५७ सालमा पार्टीले वस्ती वस्तीमा गर्ने कार्यक्रममा समेत विभेद विरुद्ध लड्नुपर्छ भन्दै नारा लगाएको उनीले सुनेकी थिईन् । विद्यालय बाट घर गई आमावुवा, दाईदिदीलाई भनेर उनी माओवादी जनयुद्धमा लागिन् । २०६० सालमा पाटी कै कार्यक्रममा बारेकोट गाउँपालिकाको सेपुखोलामा गईन् ।
आकाशमा नेपाली सेनाको हेलिकप्टर उड्ने गथ्र्याे । माओवादीलाई भेटेर गोली हानी मार्ने भनेर । तर बविताको मनमा त्यही पानी पिएको पीडा आईरहन्थ्यो । उनका अभिभावक जस्तै बनेका हाल कर्णाली प्रदेश सभा सदस्य गणेशप्रसाद सिंह ( खगेन्द्रसेन) र पार्वती थापा ( आस्था) ले दिने सल्लाह सुझावले जनयुद्धमा लाग्ने निकै प्रेरणा दिन्थ्यो ।
गाउँ गाउँमा संगठन निर्माण, शाही सेनाको नजर छल्दै चार बर्ष भुमिगत बनिन् । दुई बर्ष पार्टीमा साधारण सदस्य बनेर काम गरिन् । त्यही समयमा नलगाड नगरपालिका ७ दल्ली बनेको थियो माओवादीको मोडेल किल्ला । युद्ध भुमिको रुपमा दल्लीलाई चिनिन्थ्यो । उनले भनिन्, ‘जति वेला जनयूद्ध चर्किएको थियो, त्यसवेला बाँचिन्छ जस्तो लागेको थिएन्, तर पनि परिवर्तनका लागि ज्यानै फाल्नुपरेछ भनेपनि तयार हुनुपर्छ भन्दै कहिल्यै हरेस नखाई जनयुद्धमै लागिरहे ।’
जनयुद्धकै वेला आफ्नै आँखा अघि सह योद्धाहरुले ज्यान गुमाउँदा, गोली खाँदाको पीडा अहिले पनि ताजै छ । त्यसपछि पार्टीको संगठन नभई उनको यात्रा सैन्य ( जनमुक्ति) सेनातिर मोडियो । माओवादी आधार किल्लाको रुपमा परिचित कर्णालीमा पार्टीको निर्णय अनुसार सेनाका हतियार कब्जा गरी आफुले आधार इलाकाहरु आफ्नै हातमा ल्याउनुपर्ने थियो ।
त्यही अनुरुप २०६१ सालमा हालका अर्थमन्त्री जर्नादन शर्माको नेतृत्वमा रुकुम खारा कब्जा गर्ने निर्णय भयो । त्यहाँ तत्कालिन जनमुक्ति सेना असफल भयो । ३२ जना भन्दा बढी योद्धाहरुले साहदत प्राप्त गरे । ३ सय ५० जना भन्दा बढी योद्धाहरु घाइते भएको घटना अहिले पनि स्मृतिमा ताजै छ । रुकुमको खारा, कालिकोटको पिली, स्याङजाको मनकामना भिडन्त, गणेशपुर रम्बारपुरको लडाई, कपिलवस्तुको तौलिहवा भिडन्त, रम्बापुरको तीन गिरी भिडन्तमा लडाईले अहिले पनि झसंग बनाईरहन्छ ।
२०६१ साल तिरै शक्ति बस्नेत, जनार्दन शर्मा ( प्रभाकर), दिपक चलाउने लगायतका नेताहरुको नेतृत्वमा गण्डक अभियान सफल भयो । कालिकोटको महावुमा लेक लागेर धेरै साथीहरु पहाड चढ्न नसक्ने अवस्थाले अझै पीडा थपिदिएको थियो ।
प्रत्येकलाई बोकेर लिनुपर्ने स्थिति सिर्जना भएको थियो । जनमुक्ति सेना भईरहदा बविताले धेरै भिडन्तहरुको सामना गर्नुप¥यो ।बविता जस्तै, कुशे गाउँपालिकाका धनबहादुर टमटा (विन्दास) उमेरले १६ बर्षका थिए । वि.स. २०४१ साल कात्तिक २८ धननाशीमा वुवा रते टमटा र आमा चन्द्रकला टमटाको कोख बाट उनको जन्मभयो । गाउँमा माओवादी जनयुद्धको कुरा चल्थ्यो । दलित, उत्पीडित समुदायको रक्षा माओवादीले गर्छ भन्ने सुनिरहेका थिए ।
उनका गाउँका अरु साथीहरुले पनि समाजमा भएका विभेद, अत्याचार, अन्याय सबै माओवादीले सखाप पार्छ भनेपछि २०५८ साल भदौ १९ गते माओवादी जनयुद्धमा लागे । दलित वर्गको मुक्तिका लागि जनयुद्धमा होम्मिए । उनी जनयुद्धमा लागेपछि पार्टीको संगठनमा लागेनन् । सिधैं सिधैं सैन्य ( जनमुक्ति सेना ) मा लागे । अहिले नेकपा ( विप्लव) मा प्रभावशाली नेताको रुपमा परिचित प्रकाण्डका भाई विजयले विन्दासकै आँखा अगाडि सादत प्राप्त गरे ।
उनका आँखा अगाडि धेरै साथीहरुले सादत प्राप्त गरे । तर उनलाई कहिल्यै यूद्धको मरुभुमी छोडेर जानुपर्छ भन्ने ठानेनन् । किनकी उनको मनमा क्रान्तिको ज्वाला बलिरहेको थियो । २०५८ सालमा विन्दास सहितको टोलीहरुले १६ वटा सैन्य बारेक कव्जा गरिसकेको थियो । उनले भने, ‘त्यसै वेला धेरै साथीहरुले ज्यान गुमाए, कयौं घाइते भए, अहिले मेरो टाउकोमा गोली छ ।’ आजभोली धेरै काम गर्न नसक्ने समेत बताए ।
२०५८ सालमा अछामको साँफेवगर लडाई, प्यूठानको सदरमुकाम लिस्ने,२०५९ सालमा कुसुम लडाई अहिले ताजै बनेर आउँछ । त्यतिवेला डेपुटी कमान्डर जनार्दन शर्मा ( प्रभाकर ) थिए । जव सम्म नेपालमा शान्ति हुदैन तव सम्म क्रान्तिकारी कायर हुनुहुदैन भन्दै निरन्तर जनमुक्ति सेनामा हतियार समाईरहे । २०६१ जुम्ला लडाई, पश्चिम कैलाली, २०६३ सालमा गण्डक अभियानमा उनले क्रमश लडे । जनमुक्ति सेनाको मिलिस्या देखि सुरु गरेका उनी कम्पनी कमाण्डर समेत भए ।
युद्धमै जनवादी विवाह
कुशे गाउँपालिकामा जन्मिएका विन्दास र नलगाड नगरपालिकामा जन्मिएकी समिक्षा विच पहिलो भेट २०६१ सालमा रुकुम खारा हमलामा भयो । खारा हमलामा जनमुक्ति सेना असफल भएपछि दोस्रो भेट लामो समय सम्म भएन् । समिक्षाले भनिन्, ‘पहिलो भेट देखादेख मात्र भयो, कुनै कुरा भएन्, त्यहाँ हामी असफल भएपछि अझै तीव्र तयारीका साथ लाग्नुपर्ने देखियो, दोस्रो भेट सल्यानमा भएको थियो ।’ त्यतिवेला उनीहरु फरक फरक कमाण्डमा थिए ।
कसरी शाही नेपाली सेनालाई ध्वस्त पारेर आफ्नो कब्जा जमाउन सकिन्छ भनेर लागेका उनीहरुको भेट हुनु एकदमै असफल भयो । उनीहरु कर्णाली र सुदुरपश्चिमका धेरै जिल्लाहरु कब्जा गरिसकेपछि २०६१ सालमा कपिलवस्तु,पाल्पा लगायतका जिल्लाहरु कब्जा गर्न पार्टीले चलाएको गण्डक अभियानमा गए ।
त्यतिवेला सम्म उनीहरु फरक फरक कमाण्डमा थिए । फरक फरक ठाउँमा भएपनि विन्दासले एक दिन समिक्षालाई चिठी लेखेर रवि कमरेडको साथमा पठाए । विन्दासले भने, ‘मैले उनलाई चिठी लेखेर पठाए, तर केही समय सम्म चिठीको रिप्लाई आएन्, लामो समयपछि आएको रिप्लाईमा समीक्षाले पनि मन पराउने जस्तो चिठी पठाईन् ।’
त्यसले विन्दासमा मनमा पनि माया पलायो । एकआपसमा चिठीको आदानप्रदान भईसकेपछि पार्टीको नेतृत्वहरुमा कुरा चल्यो, त्यही वेला २०६२ साल चैतमा १५ जना साथीहरुको जनवादी विवाह भयो समिक्षाले भनिन् । त्यस भित्र समिक्षा र विन्दास पनि थिए । पाल्पामा उनीहरुको जनवादी विवाह सम्पन्न भयो ।
२०६३ सालमा भएको शान्ती सम्झौता भएको खबर उनीहरुलाई कमाण्डरहरुले सुनाए । शान्ती सम्झौतापछि उनीहरु सुर्खेत दशरथपुरमा नियमित ड्यूटी गर्न थाले । ड्यूटीकै क्रममा २०६४ सालमा समिक्षाले पहिलो सन्तानको रुपमा छोरी सविनालाई जन्म दिईन् । छोरीलाई बोकेर समेत उनले ड्यूटी गरिन् ।
२०६८ सालमा सेना समायोजन भएपछि उनीहरु आफ्नै घर फर्किए । उनीहरुका अन्य साथीहरु आर्मीमा जागिर गर्छन् तर उनीहरुले २०६९ छापाखाना खोलेर व्यवसाय गरेर बसिरहेका छन् । आफुले जनयूद्ध लडेकोमा गर्व गरिरहेको उनीहरु बताउँछन् ।
बविता अहिले कर्णाली प्रदेश कमिटी सदस्य समेत बनेकी छन् । बविता र विन्दास जस्ता थुप्रै लडाकुहरुका कारण देशमा गणतन्त्र स्थापना भएको छ । गाउँ गाउँमा सिंहदरवार देख्न पाएका छौं ।
















































। १४ पुष २०७८, बुधबार