जुम्ली स्याउको माग बढ्दो, उत्पादन घट्दो

No description available.
गणेश रावत
जुम्ला ।
पछिल्लो समय जुम्ला जिल्लामा फल्ने प्रांगारिक स्याउको उत्पादन बर्षेनी घट्दै गएको छ । पानी सिँचाइ अभाव र मौसम परिवर्तनका कारण बर्षेनी स्याउको उत्पादन घट्दै गएको हो ।

तथ्याङ्क हेर्दा जुम्लामा २०७६ मा १२ हजार मेट्रिक टन स्याउ उत्पादन भएको थियो भने २०७७ मा घटेर ६ हजार एक सय मेट्रिक टन मात्रै स्याउ उत्पादन भयो । अहिले जुम्लामा १० हजार हेक्टरमा स्याउ खेती गर्न सकिने भएपनि हाल ३ हजार ८ सय हेक्टरमा मात्रै खेती गरिएको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ ।

खेती गरिएको मध्ये पनि १५ सय हेक्टरमा मात्रै स्याउ उत्पादन भइरहेको छ । जुम्लाको चन्दननाथ नगरपालिका सहित ७ वटै गाउँपालिकामा स्याउ फल्छ । ‘एक घर एक स्याउ बगैंचा’ अभियानले सबै गाउँमा स्याउ किसान बढेका छन् ।

स्याउ खेती गरिएको ३ हजार हेक्टरमै स्याउ उत्पादन भएमा र बजार पाउन सकेमा जुम्लाको प्रांगारिक स्याउ देशैभरि पर्याप्त हुने कृषि विकास प्रमुख बालकराम देवकोटाको दाबी छ । यस वर्ष थोरै मात्र बढेर १० हजार ५ सय टन स्याउ उत्पादन भएको कृषि विकास कार्यालयका प्रमुख देवकोटाले बताए ।

‘क्षेत्रफल बढेकाले बढेको जस्तो देखिएको हो,’ उनले भने, ‘तर उत्पादन घटिरहेको छ ।’ समयमा पानी नपर्नु, उत्तरी मोहडाका स्याउमा सिँचाइ अभाव हुनु र स्याउमा पछिल्लो समय किराको प्रकोप बढ्नु लगायत कारण स्याउ उत्पादन घटेको उनले बताए । स्याउमा गोल्डेन डेलिसियस र रेड डेलिसियस अर्थात् भाले र पोथी जातको बिरुवा मिलाएर लगाउनुपर्नेमा किसानहरूले एकै जातका बिरुवा लगाउनुले पनि स्याउ उत्पादनमा कमी आएको उनको भनाइ छ ।

प्रांगारिक मलको कमीका कारण पनि स्याउ उत्पादन धेरै हुन नसकेको स्थानीय किसानहरू बताउँछन् । सरकारले जुम्लालाई प्रांगारिक जिल्ला घोषणा गरे पनि मलको व्यवस्था मिलाउन नसकेको स्याउ किसान हरि बुढाले बताए । ‘गोठेमलको भरमा हामीले खेती गर्नुपर्छ,’ उनले भने, ‘धान, जौ, गहुँलगायत बालीमा त मल पुग्दैन, स्याउमा कसरी पु¥याउनेरु’ जलवायु परिवर्तनले फूल फुल्ने बेला हावाहुरी, तुसारो र असिनाले स्याउका फूल झारिदिने समस्या छ ।’ स्याउको फूल फुल्ने बेला झारिदिँदा उत्पादन घटेको चन्दननाथ नगरपालिकाका स्याउ किसान धनबहादुर थापाले बताए ।

‘गुणस्तरीय स्याउ फलाउनका लागि बगैंचा व्यवस्थापनमा पनि ध्यान दिएकै छौं, स्याउका बिरुवा काँटछाँटमा पनि ध्यान दिइएको छ,’ उनले भने, ‘तर फूल फल्ने र दाना लाग्ने बेलामा मौसम परिवर्तनले गर्दा उत्पादन घटाइदिन्छ ।’ जातअनुसार स्याउ वर्षैपिच्छे नफल्ने भएकाले पनि उत्पादन घट्ने गरेको कृषि विकास कार्यालयले जनाएको छ ।

एक वर्ष फल्ने एक वर्ष नफल्ने खालका जातको धेरै बिरुवाहरू किसानले रोपेका छन । असिना र तुसारोले स्याउ उत्पादन घटाएको गुठीचौरका स्याउ किसान कृष्ण न्यौपानेले बताए । ‘अहिले स्याउका बिरुवाको बिमा गरेकाले स्याउ उत्पादन नभए पनि मिहिनेत खेर जाँदैन,’ उनले भने, ‘बिमाले पनि हामीलाई हेरिरहेको छ तर पहिलेजस्तो गरी स्याउ उत्पादन भइरहेको छैन ।’

तपाईको प्रतिक्रिया