आकर्षणको केन्द्र बन्दै झोलुंगे पुल

May be an image of mountain, road, sky and nature
रुकुम पश्चिम । मुसीकोट नगरपालिका–१ स्थित बह्राटाकुरादेखि सल्ले जोड्न पुल बनाइयो । साउनमा बनेको उक्त पुलले झन्डै एक घण्टाको बाटोलाई १५ मिनेटमा मात्र छोट्याएको छैन, आकर्षणको केन्द्र बन्दै गएको छ । पुल बनेपछि खलंगाबजारसँग सल्ले र रातामाटा गाउँ जोडिएका छन् ।

पुलले स्थानीयको दैनिकी सहज बनाएको स्थानीय कमल खड्काले बताए । उनका अनुसार यसअघि सदरमुकाम मुसीकोटबाट सल्लेस्थित विमानस्थल र जिल्ला अस्पताल जान घुमाउरो बाटो हुँदा सास्ती थियो । अहिले तरकारी बेच्न आउनेहरू र विमानस्थलमा भारी बोकेर जानेहरू यसबाट लाभान्वित भएको उनले जानकारी दिए ।

पुल निर्माणको काम सक्दा नसक्दै यो पुल ‘भाइरल’ बन्नेको थियो । पुल निर्माणको काम केही बाँकी छँदै स्थानीयहरू पुलमा घुम्ने रमाउने र फोटो खिचाउने गर्न थालेपछि एक साता प्रहरीसमेत परिचालन गरिएको थियो । पुलमा दैनिक १ सय जनासम्म जाने गरेको खड्काले बताए । उनका अनुसार जिल्लामा यो पुल ‘भाइरल’ पुलका नामले चिनिन्छ । खलंगा पुगेको कोही पनि उक्त पुल नपुगेर नफर्केको उनले बताए ।

कोहलपुरबाट आएका रुपेश बुढाथोकी पनि शनिबार पुलमा पुगे । ‘सामाजिक सञ्जालमा देखेको भाइरल पुलमा म पनि पुगें,’ उनले भने, ‘पुलबाट आउजाउ गर्दा र फोटो खिचाउँदा आनन्द लाग्यो ।’ उनका अनुसार जिल्लाका अरू पुलभन्दा तुलनात्मक रूपमा अग्लो भएकाले पनि पुल आकर्षणको केन्द्र बनेको हो । पुलमा उभिएर पुलमुनिको बाटो र खोलामा गाडी गुडेको देख्दा रोमाञ्चित बनेको उनले बताए ।

पुल निर्माणका पहलकर्ता दलबहादुर खड्काले अरू कामका लागि पनि सदरमुकाम आएकाहरू थोरै समय निकालेर पनि पुलमा रमाउने गरेको बताए । २ सय ३८ मिटर लामो यो पुल हरिहरि/चन्द्रोदय जेभीले निर्माण गरेको हो । १ करोड ३० लाखमा पुल तयार भएको हो । पुलबाट सदरमुकाम खलंगा बजार पुरै देख्न सकिन्छ । मानिस दैनिक बढ्दै गएपछि पछिल्लो समय सामाजिक सञ्जालमा पुल ‘भाइरल’ बनेको मुसीकोट नगरपालिका प्रमुख देविलाल गौतमले बताए ।

तपाईको प्रतिक्रिया