
जाजरकोट । बारेकोट गाउँपालिका २ रोकायगाउँका जस्वीर कामीले आरनको काम गर्न छाडेको तीन वर्ष भयो । ६५ वर्षीय जस्वीरले आरनको काम गर्न छाडेसँगै उनको गाउँमा अहिले आरनको काम गर्नेको संख्या कमै छ ।
आरन पेशामा आम्दानी नदेखेपछि उनका तीन भाई छोराले त्यो पेशामा हातै हालेनन् । उनको जेठो छोरा देविलाल नेपाली अहिले वैदेशिक रोजगारीमा भारत आउने जाने गर्छन् । उनले भने, ‘अब बाबुले गरेको आरन पेशा नै गर्न हुन्थ्यो नि, त्यसमा आम्दानी पनि छैन, लगानी गर्न आफूसँग पूँजी पनि छैन, अहिले त फलामसम्बन्धी काम गर्ने ठूला ठूला पसल खुल्न थालिसके ।’
पुख्र्यौली पेशाका रुपमा आरनबाट परिवार पाल्न नसक्ने स्थिति आएपछि पेशाबाट नै विस्थापित भएको जस्वीर कामीले बताए । लामो समयदेखि हँसिया, खुर्पा, बञ्चरो बनाएर परिवार पाल्दै आएका उनले बजारमा आएको आधुनिक सामग्रीका कारण यो पेशा सङ्कटमा परेको बताए । उनल भने, ‘बजारमा आधुनिक हातहतियार र भाँडाकुँडा भित्रिने क्रम बढेसँगै पेशा नै सङ्कटमा पर्न थालेको छ, विगतमा यही पेशाबाटै राम्रोसँग घरखर्च चलिरहेको थियो, तर अहिले ती सामग्री नै बिक्री हुन छाडेपछि मैले यो पेशा छाडेको हुँ ।’
फलामलाई आगोमा पगालेर बनाइने सामग्री र बजारमा आयातीत सामग्रीको गुणस्तरमा धेरै नै फरक भए तापनि त्यसको महत्व नबुझेर मानिसहरुले आयातीत सामग्री प्रयोग गर्न थालेको उनको गुनासो छ ।
विगतमा यही पेशाको माध्यमबाट परिवार पाल्दै आए पनि अबको पुस्ता यो पेशाबाट बाँच्न नसक्ने अवस्थामा पुगेको जस्वीरको भनाइ छ । फलामलाई कोइलामा ताप दिई आकारप्रकार दिएर बनाइने खुर्पालगायतका औजार बलियो भए तापनि समयको परिवर्तनसँगै विस्थापित भएर जाने क्रममा रहेको उनको भनाई छ ।
यसरी दलित समुदायले गर्दै आएको लुगा सिलाउने, जुत्ता सिलाउने र फलामको काम सम्बन्धी पुख्र्यौली पेशामा सोही समुदायका युवाको आकर्षण घटेपछि अहिले सङ्कटमा पर्दै गएको छ । पुस्तौँदेखि दलित समुदायले गर्दै आएको परम्परागत पेशामा आधुनिकीकरण सँगै राज्यले लगानी नगर्दा विस्थापित हुन पुगेको छ । दलित अधिकारकर्मी हजारी नेपालीले दलित समुदायले गर्दै आएको परम्परागत पेशालाई राज्यले बेवास्ता गरेका कारण अहिले सङ्कटमा परेको बताइन् ।
उनले भनिन्, ‘दलित समुदायका विभिन्न जातिले गर्ने सीपमूलक पेशा र व्यवसायलाई हेर्ने दृष्टिकोणमा परिवर्तन नहुँदा तथा राज्यले समेत उनीहरुको सीप र क्षमताअनुसार अनुदान नदिँदा युवा पुस्ताको आकर्षण घटेको हो, अब यो पेशालाई जीवित राख्नका लागि यसमा राज्यले नै लगानी गर्नुपर्ने आवश्यक छ ।’
दलित अधिकारकर्मी तथा जनता आधारभुत विद्यालयका प्रधानध्यापक धनबहादुर नेपालीले दलितको परम्परागत सीप पछिल्लो समयमा लगानी गर्न सक्ने अन्य जातिलेसमेत सञ्चालन गर्न शुरु गरेपछि दलित समुदाय पलायन हुनुपरेको बताए । सामाजिक अपमान र राज्यको समेत सहयोग नहुँदा दलित युवा परम्परागत सीपमूलक व्यवसायप्रति आकर्षित नभएको दलित अधिकारकर्मीको भनाई छ ।
‘राज्यको असहयोगका कारण दलित समुदायबाट यो पेशा खोसिएको छ, अपमानित हुने बेलामा दलितले काम गरे, पैसा कमाउने बेलामा गैरदलित आए, ठूलठूला व्यवसायका रुपमा अगाडि बढाए’ नेपालीले भने । कुनैबेला दलित समुदायले मात्रै गर्ने टेलरिङ पेशा पछिल्लो समयमा दलितभन्दा गैरदलितले गर्दै आएका छन् ।
दलित समुदायले गर्दै आएको पेशा खोसिएको हुँदा उनीहरुलाई पुनः आफ्नै पेशामा फर्काउन राज्यले लगानी गर्नुपर्ने आवश्यकता देखिन्छ । आफ्नो पेशा व्यवसाय गरिरहेका दलित समुदायलाई अन्यसँग प्रतिस्पर्धा गर्नसक्ने बनाउन सरकारले अनुदानको गर्नुपर्छ ।
















































। ७ पुष २०७८, बुधबार