एपिएफको पहिलो जित लामाको दुई गोलमा

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा विभागीय टिम एपिएफले पहिलो जित निकालेको छ । फरवार्ड आशिष लामाको दुई गोलमा एपिएफले फ्रेन्डस क्लबलाई ३–२ ले पराजित गर्दै लिगमा पहिलो जित निकालेको हो। जितसँगै एपिएफले रेलिगेशन जोन छाडेको छ।

लिगको पाँचौँ चरणमा पहिलो जित निकाल्ने क्रममा एपिएफले ३०औँ मिनेटमा विकी तामाङको गोलमार्फत खेलमा अग्रता बनायो। विकीको शतिसालि प्रहार क्रसबारमा लाग्दै गोलमा परिणत भएको थियो। त्यसको दुई मिनेटपछिनै आशिष लामाले टीमको अग्रता दोब्बर बनाए। पहिलो हाफमा २–० को अग्रता बनाएको एपिएफले दोस्रो हाफमा पनि आफ्नो उत्कृष्ट लय कायम राखेको थियो।

५६औं मिनेटमा आशिष लामाले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दा एपिएफ सहज जिततर्फ अग्रसर भयो। आभास लामिछानेको पासमा अनमार्क रहेका आशिषले एक्लै बल अघि बढाउँदै गोलरक्षक राहुललाई बिट गर्दै सहज गोल गरेका थिए।

फ्रेन्डसले भने ६८औं मिनेटमा प्रिजेन तामाङले पेनाल्टीमार्फत खेलमा एक गोल फर्काएको थियो। पेनाल्टी बक्समा एन्थोलीलाई दिपेश धिमालले फल गरेपछि फ्रेन्डसले पेनल्टी पाएको थियो। त्यसपछि पनि दुबै टीमले गोलका केहि राम्रा मौका चुकाए। ७१औं मिनेटमा आशिष वान भर्सेस वानमा चुक्दा ह्याट्रिकको अवसर गुमाएका थिए।

जितपछि पुछारमा रहेको एपिएफले तीन स्थान सुधार गर्दै ११औं स्थानमा उक्लिएको छ। समान ४ अंक नै रहे पनि गोल अन्तरमा जावलाखेल युथ क्लब र च्यासल युथ क्लबलाई पछि पारेको छ। पराजित फ्रेन्ड्स २ अंक जोडेर पुछारमा झरेको छ।

तपाईको प्रतिक्रिया