कविता : म कसलाई खोजिरहेछु…?

हृदयको गहिराईबाट प्रेमका कुकुनाहरू उम्रीरहेछन्
आँखा निरन्तर खोजिरहेछन् कसैलाई
कान कुनै माधुर्य सुन्न टक्क अडिईरहेका छन्
ओठ उसँगै मुस्कुराउछु घमण्ड गरिरहेछ
शरीर एक्लै उभिन पटक्कै मन गरिरहेको छैन

एउटा सुगन्ध खै कहाँबाट आउँछ– झस्क्याउछ
हातहरूमा एउटा कोमल स्पर्श काउकुती लगाइरहेछ
हृदयको गहिराइमा बसेर कोहि हाँसिरहेछ
केही भुलेजस्तो केही सम्झिएजस्तो
एक्लो उदास मन कठ्याङ्ग्रीरहेछ

मैले भेटेकाहरू सबै सम्झिइसकेँ
मैले देखेकाहरूको चित्र उतारिसकेँ
तर होइनन् उनीहरू– जो म खोजिरहेछु

यो कस्तो छट्पटी ?
– को हो उ ?
– कस्तो छ उ ?
– कहाँ छ उ ?

कोहि आएर काखमा शीर अड्याएर मैलाई हेरिरहे जस्तो
खोलेर अंगालो हृदयभरीको न्यानो दिन अंगालिरहे जस्तो
भेटेको हुँ भनुँ केही याद छैन
नभेटेको भनुँ भेटेका याद भए जस्तो

एक्लो लामो यात्रामा बटुवा भेटिए जस्तो
खडेरीले सुकेको आँतमा कुवा भेटिए जस्तो
मनको मन्दिरमा साक्षात देवता प्रकट भए जस्तो
मनको आँगनमा एकजोडी भँगेरा उफ्रिए जस्तो
कोहि त हो उ /केही त हो उ
को हो उ ? / के हो उ ?
जोसँग म आफ्नो मौनतामा बात मारिरहेछु ?

भर्खर कसले छोएर गयो ?
कसको स्पर्श हो यति प्रेमिल ?
अब फेरि कहिले छुन आउँछ मलाई यसैगरी ?
को हो यो ? के हो यो ?
कहाँ छ यो ? कस्तो छ यो ?

तिमी सुनिरहेका छौ भने–
तिमीलाई थाह छ
म कसलाई खोजिरहेछु ?
तिमीलाई थाह छ
म कसलाई खोजिरहेछु ।

तपाईको प्रतिक्रिया