दुर्गममा स्वास्थ्य शिविरले राहत

कालीकोट । कर्णाली प्रदेश प्रहरी कार्यालयले कालीकोट र मुगुमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । जिल्ला प्रहरी कार्यालयको समन्वयमा प्रदेश प्रहरी अस्पतालका विशेषज्ञ चिकित्सकको संलग्नतामा कालीकोटको मान्ममा मंसिर बिहीबार र मुगुको गमगढीमा सोमबार शिविर सञ्चालन भएको हो ।

प्रदेश प्रहरी अस्पतालका डा. शत्रुधन बहरदारको नेतृत्वको स्वास्थ्य टोलीले मुगुमा १ सय ९७ र कालीकोटमा २ सय १३ जनाको निःशुल्क उपचार गरेको थियो । शिविरमा आएका बिरामीमा दम, हाडजोर्नी दुख्ने, छाती दुख्ने र छालासम्बन्धी रोगको समस्या बढी देखिएको डा. बहरदारले बताए । उनका अनुसार केही जटिल रोग पहिचान भएका बिरामीलाई रेफर गरिएको छ ।

प्रहरीको स्वास्थ्य शिविरमा औषधि पाएर खुसी लागेको रास्कोट–५ का धीर तिरुवाले बताए । उनीमा लामो समयदेखि पेट दुख्ने समस्या छ । वर्षौदेखि दमले थला परेकी खाडाचक्र–३ ताडीकी ७२ वर्षीया कलन्दरी पाण्डे पनि ३ महिनालाई पुग्ने औषधि पाएर दंग छिन् ।

शिविरमा विपन्न बादी समुदाय, पूर्व तथा बहालवाला प्रहरीका आश्रित परिवार, कैदीबन्दीलगायतले स्वास्थ्य जाँच गराएर निःशुल्क औषधि पाएको कालीकोटका प्रहरी प्रमुख डीएसपी सिद्धराज न्यौपानेले बताए । उनले शान्ति सुरक्षा, विपद् ब्यवस्थापन र अपराध अनुसन्धानका क्षेत्रमा काम गर्ने प्रहरीले जनतासँग जोडिन शिविर आयोजना गरेको जानकारी दिए । उनका अनुसार मुगुमा शिविर सञ्चालन जाने क्रममा जुम्लाको सिंजा भेगका नागरिकलाई पनि स्वास्थ्य परामर्श दिइएको थियो ।

अक्सिजन प्लान्ट जडान
कालीकोट जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिएको छ । कर्णाली प्रदेश सरकारको सहयोगमा जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिएको हो । अस्पतालमा अक्सिजन प्लान्ट जडान भएपछि बिरामीलाई जिल्लामै उपचार गर्न सहज हुने निमित्त स्वास्थ्य सेवा व्यवस्थापक डा. रत्नवीर सुनारले बताए ।

उनका अनुसार अब अक्सिजन भर्न रित्ता सिलिन्डर नेपालगन्ज पठाउनुपर्ने बाध्यताको अन्त्य भएको छ । अस्पतालमा अक्सिजन प्लान्ट जडानका लागि कर्णाली प्रदेश सरकारले गत वर्ष ८० लाख रुपैयाँ विनियोजन गरेको थियो । अब २४ घंण्टामा ४५ देखि ४८ वटा ४० लिटर क्षमताका सिलिण्डर भर्न सकिने अस्पतालले जनाएको छ ।

तपाईको प्रतिक्रिया