राष्ट्रकविको सम्मानस्वरुप हुलाक टिकट


काठमाडौं । सरकारले राष्ट्रकवि माधवप्रसाद घिमिरेको सम्मानमा हुलाक टिकट प्रकाशन गरेको छ ।

बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा राष्ट्रकविको सम्मानस्वरूप हुलाक टिकट प्रकाशन गरिएको हो ।

कार्यक्रममा बोल्दै नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले स्वर्गारोहणपछि पनि राष्ट्रकवि घिमिरे सबैका प्रेरणा स्रोत रहेको बताए। उनले धर्ती रहुन्जेल नेपाल र नेपाली रहने र नेपाली रहुन्जेल राष्ट्रकविको संस्मरण भइरहने उल्लेख गरे ।

मन्त्री कार्कीले राष्ट्रकवि घिमिरेको योगदानलाई ताजा गराउन हुलाक टिकट प्रकाशन गरिएको र यो नेपालीहरूका लागि गौरवको विषय भएको चर्चा गरे ।

मन्त्री कार्कीले भने, ‘उहाँको स्वर्गारोहणपछि पनि उहाँ हामी सबैको प्रेरणाको स्रोत हुनुहुन्छ। यो सदा उच्च सम्मानका साथ नेपालीले यसलाई आत्मसात गर्नेछन् । यो धर्ती रहुन्जेल नेपाल रहन्छ, नेपाल रहुन्जेल नेपालीहरु रहन्छन् र नेपालीहरु रहुन्जेल राष्ट्रकवि माधवप्रसाद घिमिरे पुस्तौँसम्म उहाँको संस्मरण रहिरहनेछ । त्यसलाई अझ ताजा स्मरण गराउन हामीले हुलाक टिकट प्रकाशन गरेका छौँ । यो सबैका निमित्त सन्तोष र गौरवको विषय हो ।’

कार्यक्रममा राष्ट्रकवि घिमिरेकी छोरी डा.किरण रेग्मीले मृत्युपछि पाएको हुलाक टिकटको सम्मान हरेक नागरिकका घरमा पुग्ने बताइन्। उनले मानिसहरुले देहावसानपछि बिस्तारै बिर्सिंदै गए पनि उनका गीत र कविताले कहिल्यै बिर्सिन नसकिने बताइन् ।

डा. रेग्मीले ‘गाउँछ गीत नेपाली’ भन्ने गीत राष्ट्रगानबाट हटाएकोप्रति चिन्ता व्यक्त गरिन्। उक्त गीतमा नेपाल र नेपालीका बारेमा सबै यथार्थ चित्रण गरिएकाले नेपालको बारेमा धेरै कुरा जानकारी मिल्ने समेत उनले बताइन् ।

तपाईको प्रतिक्रिया