‘अपांगता भएका व्यक्तिका लागि स्थानीय तहको ठोस कार्ययोजना छैन्’


जाजरकोटमा अपांगहरुको अवस्था कस्तो छ ?
जाजरकोटमा अपांगताहरुको अवस्था एकदमै दयनीय छ । जाजरकोट भौगोलिक अवस्थाले विकट जिल्ला हो । भौगोलिक अवस्थाले नै विकट भएका कारण विकासमा पहुँच पुगेको छैन् । गरिवी छ । त्यसकै कारण जाजरकोटमा शिक्षा, स्वास्थ्य अपांगताको पहुँचमा छैन् । अशिक्षाकै कारण जनचेतनामा अपांगता सम्बन्धी सोच्ने सोचाई फरक छ । त्यसकै परिणाम स्वरुप अपांगता भएका व्यक्तिहरुका लागि जीवनयापन गर्न कठिन देखिन्छ ।

अपांगता भएका भएका व्यक्तिहरुले सहजै रुपमा शिक्षा लिन नपाउनु, स्वास्थ्यमा उपचार गर्न नपाउनु, र परम्परागत सोचाई अनुसार पूर्व जन्मको पाप होकी, देवी देउताको श्राप हो भन्ने मनसायका कारण घर देखि समाज सम्म अपहेलित भएर बस्नुपर्ने अवस्था रहेको देखिन्छ । अझै पनि जाजरकोटका अपांगहरुको जीवन उकास्न राज्य, स्थानीय सरकार र जनसमुदाय जिम्मेवारी नभए सम्म परिवर्तन ल्याउन धेरै बर्ष लाग्न सक्छ ।

जव मान्छे अपांगता बन्छ । तव त्यो ठाउँमा अवश्य पनि गरिवी हुन्छ । हेर्दा अपांगता र गरिवी फरक लाग्छ । एकदम निकट छन् । अपांगता भएको ठाउँमा गरिवी छ गरिवीकै कारण अपांगता हुन्छ । जाजरकोट भौगोलिक रुपमा विकट छ । विकटताका कारणले विकास हुन सकेको छैन । गरिवी छ । त्यस कारणले पनि अपांगता भएका व्यक्तिहरुले सहज रुपमा जीवनयापन गर्न सकेका छैनन् ।

अपांगता प्रति सोच्ने जुन मानिसहरुको सोचाई छ त्यो पनि अलि कति फरक ढंगको छ । अपांगता भएका व्यक्तिहरुले कुनै काम गर्न नसक्ने भन्ने होइन् तर पनि अवसर पाएपछि आफ्नो क्षमता अनुसारको काम गर्न सक्छन् । तर पनि अवसर दिएको खासै भेटिदैन् । जाजरकोटमा सोचे जतिको सेवा सुविधा पाएको देखिदैन् । विकटताकै कारणले कतै न कतै आफ्नो अधिकार पाउन छुटेकी भन्ने विषयमा खोजतलास भएको पाईदैन ।

राज्यको सेवामा अपांगहरुको पहुँच कति पुगेको छ ?
राज्यले प्रदान गरेको सेवाहरु यहाँका अपांगता भएका व्यक्तिहरुले पाएकै छन् । जस्तैः परिचय पत्र पाएकै छन्, विद्यार्थीले छात्रवृत्रि पाएकै छन् । राज्यले गम्भीरताका आधारमा वर्गीकरण गरेका (क) वर्गका व्यक्तिहरुल तीन हजार नौ सय ९० र अति अशक्त (ख) वर्गका व्यक्तिहरुले २ हजार एक सय २८ का दरले सामाजिक सुरक्षा भत्ता पाउने गरेका छन् ।

सार्वजनिक यातायातमा छुट भएको पाईदैन् । जाजरकोटका सरकारी कार्यालयहरु अपांगहरु मैत्री भएको देखिदैन् । त्यसैले अपांगता भएका व्यक्तिहरुको पहुँच पुगेको खासै देखिन्दैन् ।

स्थानीय सरकारले के अपांगमैत्री कामहरु गरेको देख्नुहुन्छ ?
यहाँका स्थानीय तहहरुले अपांगता भएका व्यक्तिहरुका लागि कुनै काम गरेको देखिदैन् । खासै दायित्वका रुपमा नलिई अपांगता भएका व्यक्तिहरु आए दयाका हिसावले दिहाल्यौ भनेर दिने परिपाटी छ । कुनै ठोस योजना नलिएको पाईन्छ । उनीहरुको जीवनस्तरलाई उकास्नुपर्छ भन्ने सोच नभएर वेवास्ता गरेको अवस्था देखिन्छ ।

राज्यले प्रदान गरेको सेवासूविधा बाट कति जना वञ्चित छन् ?
जाजरकोटको कुना कन्दरामा सुचना, सञ्चारको कमी, जनचेतनाको अभावले गर्दा अपांंगता भएका व्यक्तिहरु अझै पनि खास खुलेर अपांग हुँ भन्न नसक्ने र राज्य बाट प्रदान भएका सेवाहरु बाट वञ्चित भएको अवस्था छ ।

अपांग परिचय पत्र वितरणमा किन विवाद आउँछ ?
अपांग परिचय पत्र निर्देशिका २०७५ अनुसार बनाउनुपर्ने हो । नेपालमा अपांगता भएका व्यक्तिहरु १० प्रकारमा वर्गीकरण गरिएको छ । त्यसैमा गम्भीरताको आधारमा चार वर्गमा वर्गिकरण गरिएको छ । परिचय पत्र पाउने कुरामा यही गम्भीरताको आधारमा पाउने गर्दछन् ।

पूर्ण अपांगता भएका व्यक्तिहरुले (क) वर्ग, अति अशक्त अपांगता भएका व्यक्तिहरुले (ख) वर्ग , अशक्त व्यक्तिहरुले (ग) वर्ग र समान्य अशक्त भएका व्यक्तिहरुले (घ) वर्ग गरी चार भागमा विभाजन गरिएको छ । त्यो निर्देशिकाको परिभाषा अनुसार हाम्रो विकट ठाउँमा परिचय पत्र वितरणमा समस्या आएको छ ।

पहुँचको आधारमा परिचय पत्र बनाउने भएकोले त्यसमा पनि समस्या छ । किनभने काठमाडौ बस्ने (क) वर्गको अपांगता भएको व्यक्ति र जाजरकोटमा बस्ने अपांगता भएको व्यक्ति फरक छ । किनभने त्यहाँ बस्नेले कुनै न कुनै काम गर्न सक्छन् भने यहाँ बस्ने व्यक्तिहरुका लागि सम्भावना छैन् । जस्तो दुई आँखा छैन भने (ख) वर्गमा परिभाषित गरेको छ । जाजरकोटमा त दुई वटै आँखा नहुने व्यक्तिले कुनै काम गर्न सक्दैन् । त्यस कारणले यसमा समस्या छ ।

हाम्रो सन्दर्भमा पहुँचमा भएका व्यक्तिका लागि (क) र (ख) वर्गमा पर्ने अपांगता भएका व्यक्तिहरुले सामाजिक सुरक्षा वापतको भत्ता पाउने भएको हुदाँ विशेष ध्यान (क) र (ख) तिर हुन्छ । त्यसैमा पुहँचमा भएका व्यक्तिहरु पहुँचकै आधारमा (क)र (ख( नपर्ने अपांगता भएका व्यक्तिहरुले पाएको देखिन्छ । पहुँचै आधारमा पहुँच नभएका व्यक्तिहरु (क) र (ख) पर्ने पनि त्यहाँ नपरेको अवस्था देखिन्छ ।

अपांगता भएका व्यक्तिहरुको समस्या समाधानका लागि कसले के गर्नुपर्ला ?
सबैभन्दा पहिले स्थानीय, प्रदेश र संघीय सरकार तथा सरोकारवाला संघ संस्था र जनसमुदाय जिम्मेवार हुनुपर्छ । विशेष त जिम्मेवार स्थानीय सरकार, अपांगता संघ मिलेर काम गर्ने संघ संस्था र जनसमुदाय हुनुपर्छ । हाम्रो गाउँघरमा जनचेतना फैलाउने, अपांगतामैत्री कार्यक्रम ल्याउने, अपांगता भएका व्यक्तिहरुको लागि रोजगारमुलक कार्यक्रम तय गर्ने ।

अन्त्यमा के भन्नुहुन्छ ?
विशेष त अपांगता भएका व्यक्तिहरुलाई दयाले हेर्ने होइन, अधिकार प्रत्याभुत गरौ । अपांगता भएका व्यक्तिहरु प्रति सकारात्मक सोच राखौ । आजको सपांग भएका व्यक्ति भोली अपांग समेत हुन सक्छ । त्यसकारण अपांगताप्रति हेर्ने दृष्टिका्ेण सकरात्मक राखौ ।

तपाईको प्रतिक्रिया