आँखाभरीको इन्द्रावति

रमेश घर्ति ‘आलोक’


यहाँ हर चिजको सिमा छ । सबैभन्दा पहिले त हामी भित्रको क्षमताको सिमा छ । हाम्रो आर्थिक, सामाजिक, राजनीतिक तथा व्यक्तित्वमा सिमा छ । यहाँसम्म कि कहीँ न कहीँ पुगेर हाम्रो ब्रह्माण्ड पनि टुङ्गिन्छ । हाम्रा सोच र आकांक्षा हरु सीमित नहुँदा नहुँदै पनि तिनलाई मुर्त रुप दिने प्रकृति प्रदत्त सामाथ्र्य पनि सीमित छ । कहिलेकाहिँ जीवन र जीवनकार्य बिचको निरन्तर संघर्ष पश्चात् जब नियति निर्णायक बनेर खडा हुन्छ र फैसला सुनाउँछ कुनै एकको पक्षमा तब अर्काे असीमित वजनदार घनत्वपूर्ण तत्वको आविष्कार हुन्छ ।

हुनत संघर्षनै एक परिणामको लागि हो । संघर्षनै कुनै एकको जित अनि अर्काेको हारको हो । तर प्रसंग जीवन अनि जीवनकार्य बिचको संघर्षको आउँछ तब अपेक्षा दुबैको जितको हुन्छ । किनकि कुनै एकको पराजयले समग्र जीवनको अस्तित्वको स्थिरतामा दविलो प्रहार हुन्छ । भुकम्प आउँछ, आकाश गडगडाउँछ, वातावरण विल्कुलै भयावह बन्दछ अनि चारैतिर सन्नाटा छाउँछ ।

आकाशको खराब पेटको चर्काे गडगडाहट सँग निस्किएका बिजुलीका तेजिला धर्सा र चट्टयाङका लाभा सँगै भुमण्ढल थर्कमान गराउँदै बर्साउँछ आकाशले प्रलयकारी झरी । ध्यान रहोस् म कुरा यो नित्य प्रकृतिको वातावरणको गरिरहेको छैन् । बरु हाम्रो आन्तरिक अपरिभाषित वातावरणको गरिरहेको छु जसलाई सरल भाषामा हामी हृदय भन्दछौँ र म भौतिक आकाशले बर्षाउने मौसमी झरीको कुरा पनि गरिरहेको छैन । बरु म कुरा गरिरहेको छु मनको आकाशले आँखाको बादलबाट बर्साउने झरीको । जसलाई हामि भन्दछौँ “आँसु” ।

म के सँग तुलना गरौँ यो आँसु भन्ने शब्दको ? म कसरी परिभाषित गरौँ यो टनौँ टन तौल भएको भारी तत्वको ? हुनत यो आँखाबाट खस्ने केहि थोपा मात्र हो हेराइमा तर यसले बाक्ने भावना…!भावनाको त कुनै मुल्य नै छैन नी । भावनाको कुनै वजन पनि त छैन । किनकी भावना संसारको सबभन्दा वजनदार बस्तुभन्दा पनि वजनदार छ र सबभन्दा महंगो वस्तु भन्दा पनि मूल्यावान छ ।

त्यसैले न यसलाई शब्दमा परिभाषित गर्न सकिन्छ न त कुनै अंक र इकाइमा न मापन गर्न सकिन्छ भने यस्ता अनेकौँ भावनाहरुको मिश्रण बनेर बगेको आँसुलाई कुन मूल्यको भन्नु ? कुन पदार्थको तौल सँग यसको तुलना गर्नु ? त्यसैले यसलाई कोही सँग र केही सँग पनि तुलना गरेर परिभाषित गर्न म असक्षम भए ।

सबैको भावना एउटै हँुदैनन् सबैको भावना एकै परिणामका पनि हुँदैनन् । एकै समयमा पनि फरक व्यक्तिको नेत्रद्धार बाट बगिरहेको अश्रु फरक कारणले अनि फरक भावना बोकेर बगिरहेका हुन्छन् त म यसलाई को सँग तुलना गरौँ ? म असफल भएँ तुलना गर्न किनकी मैले आँसुलाई आँसुसँगै पनि तुलना गर्न सकिन् ।

जब म जन्मिए । त्यतिबेला म पिडाले आँसु बगाउँदे थिए । सायद तर त्यही समयमा मलाई जन्म दिएर प्रसव पिडाको खतरा बाट मूक्त भएर सुस्ताईरहेकी मेरी आमाको आँसुले भने तीन कुराको मिश्रण बोकेर बगेको थियो । पहिलो उनी प्रसव पीडामा आक्रान्त थिइन्, दोस्रो उनी प्रसव पिडालाइ जितेर आफ्नो जीवनलाई प्रकृतिको खुल्ला स्वसत्ता सम्पन्न विशाल राज्यमा फर्काउन सफल भएकी थिइन् र तेस्रो उनको

काखमा अब नयाँ जीवनको कलिलो मुना बिस्तारै लहलहाउँदै थियो । त्यही समयमा मेरो बाबाको आँसुले दुई भाव बोकेर निस्किए । पहिलो थियो उनको जीवन संगिनी कुशल थिइन् र दास्रो उनले नयाँ उत्तराधिकारी पाए । यो आँसु र यसले बोक्ने भावनाको कुरा यही सकिएको छैन । अझ त्यहाँ उपस्थित छिमेकी, आफन्त र नातेदार हरुका पनि आँखा रसाएका थिए भने ति केवल एक भावमा थिए । या उनका आँसुले हर्ष बोलिरहेका थिए या विस्मात । के बोलिरहेका थिए त्यो त राम जानुन् ।

सायद, मेरो हाल सम्मको जीवन यात्रामा म सँधै सदाबहार रहिन । सँधै एकै शैलीको व्यवहार गरिन र एकै किसिमको बिचार पनि हुर्काइन । मानिसको मनको वेग मौसम भन्दा तिब्र छ र बिचार समयलाई कैयौँ कोष पछाडी छोडेर भाग्न सक्छ भने म कसरी सदाबहार रहन सकुँला र ? हो म बद्लिइ रहे सदा । कहिले बिचारमा बद्लाव, त कहिले व्यवहारमा बद्लाव, कहिले कार्यमा बद्लाव त कहिले शब्दमा बद्लाव । यसको अर्थ यो होकी म सँधै सही थिइनँ ।

यदि म सहिनै थिए । भने.पनि सबैको निम्ती थिइन् । मेरो प्रकृति बाट प्रभावित हुने मनहरु पनि एकै समयमा फरक भावनाको आविष्कार गर्थे । या सुखद या दुःखद । या हर्ष या विस्मात । अर्थात एकै समय र एकै कारणले बगेका अश्रु पनि फरक भावना बोकेर बगे । कोही खुशीमा त कोही दुःखमा ।

जब म कुनै योजनामा सफल हुन्छु त त्यहाँ मेरा मातापिताको अश्रुले खुसि छल्काएका हुन्छन भने छिमेकिका अश्रु रोष र विस्मात । यदि असफल र पराजित छु भने मेरा आफन्तका अश्रुले दुःख बोलिरहेका हुन्छन अनि छिमेकिका अश्रु खुसिका मन्द किरणको वकालत गर्दै हुन्छन् ।

अर्थात म पराजित भएकै कारण उनी विजयी भएका हुन् । यो आँसु भन्ने तत्व नै यस्तो हो जसले दुःख, पिडा, बेचैनि, इष्र्या, क्रोध, डाह, रोष, भय, उमंग, खुसि, हर्ष तथा विस्मात जस्ता थुप्रै भावहरु एकै पटक बोक्न सक्छ ।
यो महाशक्ति हो जसले आफु प्रवाह हुने समयमा बिबिध शक्तिशालि भावनाहरुलाई आपैmसँग बोकेर ल्याएको हुन्छ । साहेद नदि बगेर त्यसको मुहानलाई हलुका महसुस हुन्छ हुँदैन थाहा छैन तर यो आँसुु नामको तत्व आँखाको परिसर नाघेर अनुहारको प्राङ्गणमा पुगे पछि मनले सयौँ टनको बोझ हलुका भएको महसुस गर्छ । यो साच्चिकै मनको कुचिकार हो जसले सबै फोहोर लाइ एकै पटकमा बढारी दिन्छ ।

मलाई आँसु अत्यन्तै मन पर्छ । किनकी प्राकृतिक सुन्दर छटा हो । जसरी हिमाल अनि पहराले स्वतन्त्रता पूर्वक निरन्तर स्वच्छ नदिको प्रवाह गर्ने प्रकृतिद्धारा वरदान पाएका छन् त्यसैगरि हाम्रा नेत्र पनि आँसू बगाउन स्वतन्त्र छन । यदि एक मानव भएर हेरौँ भने आँसु एक प्राकृतिक स्वतन्त्र अधिकार हो तर मलाइ त यो समाजले पुरुषको उपमा दिएको छ । पुरुष अर्थात आँसु बगाउन वर्जित व्यक्तित्व जसको आँसुले आँखाको डिल नाघ्नु भन्दा पहिले नै गर्भमै नास गरिन्छ ।
आँसु सँगै बगेर आउन आतुर भावना समेत कारागारका नजरबन्दमा परेका कैदि जस्तै भएका हुन्छन् । किनकी आँसुको प्रतिबन्ध सँगै भावना पनि प्रतिबन्धित भइसकेका छन् । आँसु अन्यायमा परेसँगै भावनाको न्याय पनि च्युत भइसकेको छ । कारण !

यो सभ्यताले पुरुषको हृदय लाइ मानव हृदयको स्थानमा पत्थरको आकार सम्झिन्छ । उनिहरुको बुझाइमा होलाकी पुरुषको छातिमा मन हुँदैन र मुटुले रगतको स्थानमा पत्थरको धुलो प्रवाह गर्दछ । होस् ! यो सभ्यताले अथ्र्याएको पुरुषत्व र आँसुको बिचको असमान सन्धिको वकालत यहिँ बन्द गरौँ ।

किनकि मैले जतिनै लेखे पनि यसलाइ बुझेर संस्कार बदल्न अग्रसर हुने मन कोहि छैनन् । तथापि मलाइ आँसु प्रतिको लगाव छ । प्रेम छ अनि आत्मिय सम्बन्ध छ । त्यसैले मेरा बिस्फोट हुन नसकेर आपैm भित्र गुम्सिएका भावना सँगै सम्झौता गरेर गुम्सिन स्विकार गरेका छन प्रीय आँसुले पनि । बस् म आँसुको न्यानो अनुभूति लिने गर्छु र प्यास मेट्ने गर्छु मेरि बहिनिको आँसु हेरेर जो ससानै कुरामा पनि चाँडै आँसु बगाउन सक्छे ।

रुन सक्छे अनि चिच्याउन सक्छे । उ कति स्वतन्त्र छे अनि कति उन्मुक्त पनि । छिमेकिको घरमा भर्खरै बामे सर्दै गरेकि नानिले पनि बेलाबेलामा रोएर मेरो सुकेको मनलाइ सिंचन गरिदिन्छे । हो म उसलाइ पनि अनुभूत गर्छु र ठान्छु मेले आफ्नै नेत्र बाट आँसु बगाइरहेको छु । मनका असिम फोहोर हरुलाइ पखालि रहेको छु । भावना बगाइरहेको छु ।

हाम्रो देश जल सम्पदाको बहुतै धनि छ । यहाँ अनेकौँ ताल तलैया, कुण्ड तथा नदिहरु छन जसमा सबैको नाम समेत मेरो सिमित क्षमता भएको मस्तिष्कमा अटाउन सम्भव छैन तर एक प्रीय नाम हो ‘इन्द्रावती’ । हुनत यसको सेरोफेरोमा म कहिल्यै पुगिनँ तथापि यो नामनै प्रीय अनि पवित्र लाग्छ । सप्तकोसीको एक प्रमुख साखा हो यो । जुगल हिमालको पाँचपोखरि देखि यो जन्मिएकोे छ रे अनि सुनकोसिमा मिसिन्छ रे । यहि हो मैले जानेको कुरा ।

जब कोहिले मोतिको दाना जस्ता आँसुका ढिक्का बगाएको म देखछु तब सम्झन्छु एक नाम इन्द्रावती । किनकि मलाइ लाग्छ यो अत्यन्तै पवित्र अनि सुन्दर छ । आँसु पनि त पवित्र र सुन्दर तत्व हो । मनका खराबि हरुको सफाया गर्दै निस्किएको पवित्र पैवाह हो । इन्द्रावती लाइ रोक्न स्वयं इन्द्रनै अवतरित भएपनि सम्भव छैन तर आँसु….! आँसु लाइ त यो पुरुषत्वको उपमा ले रोकिदियो । आखिर इश्वर भन्दा बलवान रहेछ यो संस्कार र समाज । निसर्गले प्रदान गरेको अधिकारमा पनि प्रतिबन्ध लगाइलियो बहादुर र कठोरताको एक उपमाले । म जस्ता अनैकौँ पुरुषका बिल्ला भिरेका व्यक्तित्वहरु ीभत्रको इन्द्रावतीमा स्थायि रुपमै रोक लगाइदियो ।

रुनु लाइ कमजाृरिको प्रभुत्व ठान्छन मानिसहरु त्यसैले त हामि अस्वभाविक प्रवृतिका बन्छौँ । बहादुरिको उपमा ले पत्थर सरह बन्छौँ अनि कठोरताको उपमाले हिंस्रक पनि । परिणाममा आजको हिंसा र निर्दयिता ले ओतप्रोत विश्व समुदाय साक्षी छ । हामि बग्न सकेनौँ अनि अत्याधिक भार पनि सम्हाल्न सक्दैनौँ त्यसैले विस्फोट हुन्छौँ । नपत्याए एकपटक इन्पद्रावती लाइ बाँध लगाएर छेक्ने प्रयत्न गरेर हेर्नुहोस् परिणाम स्वयंले चाख्नुहुने छ ।

हिमालको काखबाट उत्पन्न नदि हो त्यसैले स्वच्छ छ अनि जडिबुटि र सञ्जिवनिको रसान बोकेर बग्छ तथा जब मानव वस्तिहरुको सेरोफेरोमा पुग्छ त्यहाँ सफा गर्दै जान्छ । फोहोर बगाएर दुरको संसारमा लैजान्छ त्यसैले उ पवित्र छ । उ हजारौँ लाखौँ लाइ नवजविन दिन्छ त्यसैले उ इन्द्रावती भन्न योग्य छ । अर्थात “इन्द्रले लिएको अवतार” ।

आँखाबाट बग्ने आँसुले पनि त भित्रको भावना पखालेर लैजान्छ जुन हामि भित्र गुम्सिएर खराबिको रुप लिइ सकेका हुन्छन । सडेर भित्रि वातावरणमा दुर्गन्ध पैmलाउन सुरुवात गरि सकेका हुन्छन । आन्तरिक हृदय स्वच्छ बनाउने माध्यम हो आँसु । जब आन्तरिक मन स्वच्छ हुन्छ तब त्यो सान्त हुन्छ र जीवन सुन्दर अनि भव्य बन्दछ । आँसु एक उत्सर्जन पनि हो जो नयाँ सृजना तर्फ उन्मुख भइरहेको हुन्छ । सागर तर्पm लम्किन्छ इन्द्रावती अनि सान्ति, सन्तुष्टि र सृजना पहिल्याउन लम्किन्छ आँसु ।

त्यसैले आँसु केवल आँसु होइन । मेरो अर्थमा पवित्र इन्द्रावती हो । जो रुन र भावना बगाउन सक्छन् । उनीहरुमा इन्द्रावती स्वतन्त्र छ तर हामी जस्तो अश्रु प्रतिबन्धित मनहरुको इन्द्रावती पनि प्रतिबन्धित छ । उनीहरु स्वच्छ छन जसले मनको जुगल अनि आँखाको पाँचपोखरि बाट अश्रुको इन्द्रावती बग्दछन र उनमा मिसावट तथा कल्मष बाँकि छ जुगलमा बाँध छ अनि पाँचपोखरीमा खडेरी । बगोस या नबगोस तर आँसु पवित्र हो । रुनु स्वच्छ हुनु अनि हलुका बन्नु हो भने आँसु पवित्रताले पूर्ण इन्द्रावती हो । त्यसैले म भन्छु आँसु नै हो “आँखाभरिको इन्द्रावती ” ।

तपाईको प्रतिक्रिया