हलिया मुक्त राष्ट्र घोषणा १३ बर्ष : उस्तै छन् हलियाका पीडा


भुपेन्द्र नेपाली
खलंगा । सरकारले हलिया मुक्त राष्ट्र घोषणा गरेको १३ बर्ष पुरा भएको छ । २०६५ साल भाद्र २१ गते तत्कालिन सरकार र हलिया महासंघको पहलमा नेपाललाई हलिया मुक्त राष्ट्र घोषणा गरिएको थियो । हलिया मुक्त राष्ट्र घोषणा कागजमा मात्र सीमित भएको र हलियाहरुको पीडा अहिले सम्म उस्तै रहेका छन् ।

पुस्तौ देखि हलिया बस्दै आएका बारेकोट गाउँपालिका ६ घर्तीगाउँका गोरखबहादुर महतारा अहिले सम्म पनि हलिया मुक्त भएका छैनन् । उनका दुई पुस्ता देखि नर बहादुर महताराको घरमा हलियाकै रुपमा काम गर्दै आएको गोरखले बताए ।

उनी भन्छन्, ‘सरकारले २०६५ साल भदौ २१ गतेका दिन हलिया मुक्तीको घोषणा गरेपछि पुस्तौ देखीको दासताबाट मुक्ती पाईन्छ भनेर औधी खुसी भएको थिए तर हलिया मुक्त राष्ट्र घोषणा गरिएको १३ बर्ष पुरा हुँदा पनि म अहिले सम्म पनि हलिया मुक्त हुन सकेको छैन् ।’

जग्गा जमिन नहुँदा उनको बुवा भाउसिंगे महतारा गाउँका नर बहादुर महताराको घरमा हलिया बस्न बाध्य भएका थिए । भाउसिंगे महताराले जीवनभर उनीहरुकै हलो जोतेर विताए । गोरबहादुर महतारा एक बर्षको हुँदा उनका बुवा भाउसिंगे महताराको निधन भएको थियो । त्यसै कारण उनी बाल्यकाल देखि नै नर बहादुर महताराको घर हलिया बस्न बाध्य भएको गोरख बहादुरको भनाई रहेको छ । उनले नर बहादुरकै घरमा हलिया बसेर नै कक्षा बाह्र उर्तिण गरेका थिए ।

बाजे, बुवाको पुस्ता देखि नै आफ्नो घर जग्गा नभएको हुँदा नाती गोरखले पनि अहिले सम्म मुक्ती पाएका छैनन् । ‘हाम्रो दुई पुस्ताले हलिया भएर जीवन विताए, ‘मैले पनि आधा जीवन हलिया भएर विताएको अव मेरा छोराहरुलाई यस्तो दासतापुर्ण अवस्था भोग्नु नपरोस् उनले भने ।’

सरकारले हलियाबाट मुक्त भएको घोषणा त गर्यो तर पुर्नस्थापनाका लागी ठोस कार्यक्रम नगर्दा आफुहरुको स्थापना हुन नसकेको गोरखले बताए । घरमा श्रीमतीले नियमित रुपमा औषधी प्रयोग गर्ने, छोरा छोरीलाई विद्यालय पढाउने र आफ्नो घर जग्गा नभएको हुँदा हलिया भएर काम गर्नुपर्ने बाध्यता सिर्जना भएको छ ।

अहिले विहान बेलुकाको छाक टार्न मुस्किल पर्ने गरेको बताउँदै उनले सरकार सँग मुक्त हलिया परिवारको रोजीरोटीका लागी रोजगारीको ब्यवस्था गरिदिन माग गरेका छन् । पुस्तौ देखी हलिया बस्दै आएका जाजरकोट जुनीचाँदे दहका मानसिंह दमाईको परिवार हलियाबाट मुक्त हुँदा १३ बर्ष अघि निकै खुसी भएका थिए तर कार्यान्वयन नहुँदा अहिले समस्या भएको छ । छेडागाड नरपालिका ७ डुडागाउँका ५० बर्षिय जसे सार्की १३ बर्ष देखि छेडागाड नगरपालिका ५ वडावनमा सर्जन शाहीको घरमा हलियाको काम गर्दै आएका छन् ।

आफ्नो घरमा भएको जग्गाले ३ महिना खान नपुग्ने भएको हुँदा नियमित रुपमा हलियाकै रुपमा काम गर्दै आएको उनले बताए । उनीहरुको काम गरे वापत कार्तिक महिनामा ३० माथी मकै, १५ पाथी धान र जेठको महिनामा १५ पाथी गहुँ दिने गरेको जसे सार्कीले बताए ।

घरको आर्थिक कम्जोरीको भएको स–साना भाई बहिनीहरुलाई पढाउनु पर्ने र आमाको औषधी खर्च जुटाउनका लागि भएपनि १० कक्षा पास गर्न साथ पढाई छोडेर १८ बर्षिय छोरा विदेश गएको सार्कीको भनाई रहेको छ ।

यस्तै, छेडागाड नगरपालिका १३ का जित बहादुर सार्की लामो समय देखि छेडागाड १२ हलियाको रुपमा काम गदै आएका छन् । भएको घर जग्गा सडक निर्माण गर्ने क्रममा भत्किएको र सरकारको दिएको रकमले छेडागाड १२ मा ५ रोपनी जग्गा किनेको तर उक्त जग्गामा उत्पादन भएको अन्न ३ महिना नपुग्ने, छोरा छोरीलाई विद्यालय पढाउनु पर्ने तर घरको आर्थिक अबस्था न्युन भएको उनकी श्रीमती सेतु सार्कीले बताईन् ।

दुई सय हलिया परिवारको प्रमाणिकरण
जाजरकोटमा चार सय ४४ हलिया परिवार मध्ये दुई सय दुई परिवारको प्रमाणिकरण भएको छ भने अन्य परिवारको प्रमाणिकरण हुन वाँकी रहेको जिल्ला मालपोत कार्यालयको तथ्यांकमा छ । जसअन्तर्गत बारेकोट गाउँपालिकामा १४ परिवार, भेरी नगरपालिकामा ३, जुनीचाँदेमा २७ , नलगाडमा १८, छेडागाडमा ८७ हलिया परिवार रहेको तथ्यांकमा उल्लेख गरिएको छ ।

कार्यालयका अनुसार हाल सम्म प्रमाणिकरणमा परेका सवै परिवारलाई पुर्नस्थापनाका लागी अनुदान दिईसकेको छ । मुक्त हलियालाई पुर्नस्थापना गर्ने कार्यक्रम सरकारले ल्याएको भएपनि मुक्त हलिया भन्छन् २ लाख रुपैयाले हाम्रो पुर्नस्थापना कसरी हुन्छ ?

सरकारले मालपोत कार्यालय मार्फत मुक्त हलिया परिवारको लागी वाइरिङ्ग, सिलाईकटाई , तरकारी खेती, ईलेक्टोनिक लगायतका सीपमुलक तालिमहरु संचालन गरिरहेको जनाएको छ तर पनि मुक्त हलिया परिवारको जीवनस्तरमा खासै परिवर्तन आउन नसकेको स्थानियको भनाई छ ।

प्रर्याप्त स्रोतको अभावमा मुक्त हलियाको मागलाई सम्वोधन गर्न नसकेको हलिया मुक्ति जाजरकोटका अध्यक्ष डम्बरबहादुर नेपालीले बताए । सरकारले अहिले सम्म पुर्नस्थापना गर्न नसकेको मुक्त हलियाको गुनासो छ ।

तपाईको प्रतिक्रिया