
नेपाल एकीकरण हुनुभन्दा पहिले अर्थात २०१८ साल भन्दा पहिले जाजरकोट जिल्ला सल्यानमा थियो । सल्यान, रुकुम, रोल्पा र जाजरकोटको गौडा सल्यानमा रहेको थियो । २०१८ सालपछि १४ अञ्चल र ७५ जिल्ला नेपालको प्रशासनिक क्षेत्र बिभाजन गर्ने समयमा जाजरकोट छुट्टै जिल्ला बनेको हो । जाजरकोट जिल्लाको सिमाना पूर्वमा रुकुम र डोल्पा जिल्ला पश्चिममा– सुर्खेत र दैलेख जिल्ला उत्तरमा– जुम्ला र कालिकोट जिल्ला दक्षिण– रुकुम र सल्यानले सिमा दिएको छ । जाजरकोट जिल्ला समुद्री सतहबाट ६ सय १० देखि ५ हजार ४ सय १२ मिटर सम्म पहाडी श्रृखंलामा फैलिएको जिल्ला हो । साविकका ३० वटा गाविसलाई हाल सात वटा स्थानीय तहमा विभाजन गरिएको छ । कर्णालीका अधिकांश जिल्ला सदरमुकामलाई खलंगा भन्ने परम्पराअनुसार यहाँको सदरमुकामलाई पनि खलगा नै भनिन्छ । खलगाको अर्थ डाँडामा रहेको र पर्खालले घेरिएको किल्ला हो । समुद्री सतहबाट खलंगा करीब १२ सय मिटरको उचाइमा रहेको छ ।
जाजरकोट जिल्ला, नेपालको एकीकरण हुनु भन्दा अगाडी वाइसी चौविसी राज्य मध्येको एक राज्यमा थियो । नवौ शताव्दीको अन्ततिर नेपालमा लिच्छवीहरुको पतनपछि पश्चिम कर्णाली भेगमा (हालको जुम्ला जिल्लाको सिंजा क्षेत्रमा) खस जातिका मल्ल वंशीय राजाहरुले एक विशाल राज्यको स्थापना गरेका थिए । जसका संस्थापक राजा नागराज लाई लिने गरिएको छ । खस वंशका मल्ल राजाहरु जागराज, चप, चापी, काधि मल्ल, अशोक मल्ल, जितारी मल्ल, दायित्व मल्ल, प्रताप मल्ल आदिन थिए । प्रताप मल्लका छोरा नभएको कारण छोरी ज्याई गेला वंशका पुण्य मल्ललाई उत्तराधिकारी बनाए । पुण्य मल्लपछि उनका छोरा पृथ्वी मल्ल राजा भए । सोही समयमा खस राजाको शासन गडवालदेखि त्रिशुली, गण्डकी र ताक्लादेखि तराईसम्म फैलिएको थियो । त्यसताका जाजरकोट पनि यिनीहरु कै अधिनमा थियो । पृथ्वीपछि गेला वंशका अभय मल्ल खस राज्यका अन्तिम राजा वने । इ.सं. १३९३ मा जुम्लामा मेहनी वर्मा शासकको रुपमा देखा परेकोले पृथ्वी मल्लको शासनकालमा त्यसपूर्व नै समाप्त भएको देखिन्छ । मल्ल राज्यको समाप्ति पछि वृहत खस राज्य टुक्रिय स–साना वाइसी चौविसी राज्यको रुपमा उदय भएको पाइन्छ ।
समाल वंशावली अनुसार इसाको चौधौं शताव्दीमा समाल परिवारका राजा वम मल्लका चार छोरा मध्ये जगति सिंहले शाके सम्वत् १३००–१४५५ को आसपासमा भेरी नदीको पश्चिमी किनारस्थित जगतीपुर भन्ने स्थानलाई राजधानी बनाई जाजरकोटमा राज्य संचालन गरको पाइन्छ । इतिहासमा जगति सिंह र जुम्लाका राजा लविराज समकालीन भएको उल्लेख छ । इतिहास अनुसार राजा जगति सिंहको पालामा जाजरकोट राज्य जुम्लाबाट दक्षिण गंंगा नदीसम्म, पश्चिममा दैलेख र पूर्वमा गण्डकी नदीसम्म फैलिएको पाइन्छ । जाजरकोटमा स–साना दजनौं राज्यहरु थिए भन्ने कुरा समेत केही इतिहासकारहरुले उल्लेख गरेको पाईन्छ । जगति सिंहका सन्तानहरु वृद्धि हुदै गएपछि अंशवण्डा स्वरुप जाजरकोट राज्यको विभाजन भई त्यसका मातहतमा सरु, बारेकोट, दामकोट, जहारी, सामीया, भियुस, खगेनकोट राज्यहरुको अस्तित्व पछि सम्म रहेको इतिहासले देखाउँछ । जाजरकोटमा हाल पनि जगति सिंहले बनाएको दरवारको भग्नावशेष जगतिपुर गाविसमा देख्न पाईन्छ । पछि गएर राजा जगति सिंहले आफ्नो राज्यको राजधानी खलंगामा सारेका थिए । उनले छोरा जयसिंह ठूलो भएपछि कार्यभार जिम्मा लगाई आफु तपस्या गर्न श्रीवद्रीको आश्रम तपोवन तर्फ गएको भनाइ छ ।
जाजरकोटको इतिहासमा राजा जगति सिंहपछि हरि शाहको नाम चर्चित छ । हरि शाह जय सिंहका अठारौ पुस्ताका सन्तान हुन् । हरि शाह गोरखाका राजा पृथ्वीनारायण शाहका समकालित राजा भएको र बनारसमा एक आपसमा भेट भई दुवै राज्यवीच एक अर्कोको बिपरित काम नगर्न मणिकर्णिका घाटमा गंगाको अर्धजलमा वसी सम्झौता गरेको उल्लेख छ । हरि शाहपछि उनका छोरा गजेन्द्र शाह राजा भए । उनले पृथ्वी नारायण शाहले कान्तिपुुरका राजा जय प्रकाश मल्ललाई पराजित गरको खुशियाली स्वरुप शंकर आचार्य मार्फत घोडा, पगरी, दोसल्ला, कस्तुरी र असर्फी नजराना चढाएका थिए । त्यसैताका नेपालमा अर्का राजा हुदा जाजरकोटी राजाले रु. ७०१।– सलामी चढाउनु पर्ने नियम वनाए । पृथ्वी नारायण शाहले पनि वाइसी चौविसी राज्यलाई विजय गरे पनि जाजरकोटमा हमला नगर्ने कुरा पत्र मार्फत जानकारी गराएको पाइन्छ ।
त्यसपचि राजा गजेन्द्र शाहको छोरा इन्द्र नारायण शाह र उनी पछि उनका छोरा दीपनारायण शाह राजा भए । दीप नारायण शाहको विवाह नेपाल नरेश रणवहादुर शाही छोरी दुर्गा कुमारीसग भएको थियो । सम्वत् १८८९ मा उनी दीपनारायण शाह जाजरकोटी राजा भएको पाइन्छ । त्यसपछि उनका छोरा जंग वहादुर राजा भए । यिनी राणा प्रधानमन्त्री जंगवहादुर कालीन थिए । जंग वहादुर शाहका छोरा हरि शाह राजा हुन नपाई मृत्यु भएकोले उनका छोरा नरेन्द्र विक्रम शाह राजा भए । नरेन्द्र विक्रम पछि यिनका छोरा उपेन्द्र विक्रम शाह राजा भए । उपेन्द्र विक्रम शाहपछि यिनका छोरा स्वयं प्रकाश विक्रम शाह जाजरकोटका राजा भए ।
जाजरकोटी राजा हरिविक्रम शाहीकी छोरी बालकाुमारीको विवाह श्री ३ चन्द्रशमशेरसगँ भएको थियो । चन्द्र शमशेरले विवाह गरेपछि जाजरकोटको बारेमा धेरैकुरा बुझेछन् । एकदिन श्रीमतीलाई सोधेछन्– माइतीलाई के दुःख छ ? सबै ठिकै छ, तर खानेपानीको दुःख छ । चौरजहारीबाट जाँदा भेरी नदी बर्षायाममा तर्न निकै कठिनाइ भइरहेको छ । श्रीमतीको कुराले श्री ३ चन्द्र शमसेर लाई सोच्न बाध्य भएछन । वि.स. १९८५ मा रुकुमको चौरजहारी र जगतीपुर, मटेला जाजरकोट जोड्ने भेरी नदीमा पुल बनाउने योजना गरेछन् । बृटिसहरुको सहयोगमा स्कटल्याण्डको इञ्जिनीयर द्धारा पुल बनेको रहेछ । मटेला भेरी नदीको पुल अझै केही बिग्रीएको छैन– जस्ताको तस्तै छ । श्रीमती को माग अनुसार चन्द्र शमसेरले जाजरकोटमा खानेपानीको ब्यवस्था समेत गरिदिए । जुन खानेपानी अहिले सम्म पनि जाजरकोटको सदरमुकाम खलंगाका जनताले खान पाइराखेका छन ।
जाजरकोट प्रशस्त पर्यटकीय सम्भावना बोकेको जिल्ला हो । समुद्री सतहदेखि ५ हजार ४ सय १२ मिटरसम्मका अग्ला पहाड र जाजरकोट बाट सिस्ने एवं जलजला हिमालको मनमोहक दृश्य देख्न सकिन्छ । भेरीनदी किनारमा तत्कालीन जाजरकोटी राजा दिपनारायण शाहले आफनी आमाको संझनामा वनाएको महामुक्तेस्वर तथा दिप दुर्गेस्वर मन्दिर तथा पछि निर्माण भएको शिवेस्वर मन्दिरमा जाजरकोट जिल्लाको प्रख्यात धार्मीकस्थल हो । यस स्थलमा विभिन्न धार्मिक पर्वहरुमा सर्वसाधारणले आफनो धार्मिक आस्था प्रकट गर्ने गर्दछन् । खास गरि तीज, चैते दशैं शिवरात्री तथा अन्य दिनमा शिवालय क्षेत्रमा ठूलो मेला लाग्ने गर्दछ । जाजरकोट जिल्लाका मठ–मन्दिर अनि चमेरे लगायत विभिन्न गुफा पनि धेरैका लागि आकर्षक बन्न सक्छन् । चौरजहारी विमानस्थलबाट तीन घण्टाको पैदल यात्रापछि पुग्न सकिने जिल्ला सदरमुकाम खलगा पनि उत्तिकै सुन्दर र मनमोहक स्थल मानिन्छ ।
जाजरकोटको भू–बनोटमा धान–गहुभन्दा मकै, कोदो, भटमास लगायतका बालीको राम्रो उत्पादन हुन्छ । टिमुर, सुगन्धबाल, चिराइतो, बोझो लगायतका जडीबुटी पनि जिल्लाको आर्थिक उन्नतिमा गतिलो आधार बन्न सक्छन् । आर्थिक रुपमा सक्रिय ७० प्रतिशत जनसख्याको ८६ प्रतिशत मानिस कृषिमै निर्भर छन् । जाजरकोटमा सुन्तलाका लागि ढिमेको दम्दाला निकै प्रख्यात मानिन्छ । जिल्लाका ढिमे, दम्दाला, साल्मा र डाडागाउँमा व्यावसायिक रुपमा सुन्तला खेतीको उत्पादन हुन्छ । जाजरकोटमा फलेको सुन्तला जिल्लाका साथै सल्यान र रुकुमका विभिन्न वजारहरुमा समेत निर्यात गर्न थालिएको छ । कृषि तथा सहकारी मन्त्रालयको एक तथ्याकअनुसार जिल्लाको कृषि उत्पादनले बढीमा १० महिना खान पुग्छ । तर, आफ्नो कृषि उत्पादनले ३ महीनाभन्दा बढी समय खान नपुग्ने समुदाय पनि जिल्लामा प्रशस्त छन् । जाजरकोटका अधिकांश मानिस मौसमी कामदारका रुपमा भारत जाने गर्छन् । भारत गएकाहरु पनि खेतीपातीको समयमा घर र्फकन्छन् । तर पनि यी आयस्रोत उनीहरुको जीविकोपार्जनको दिगो आधार भने बन्न सकेका छैनन् ।
जाजरकोट जिल्लामा धामी झक्रिको विस्वास गर्ने प्रचलन देखिन्छ । मेला पर्वमा गाउमा धामी नाच हुने गर्दछ । नाच हुने मन्दिर परिसरमा भक्तजनको ओइरोले सबैलाई धार्मिक एकताको सूत्रमा बाधेको देखिन्छ । पैंक, नायकबाडा, रामीडाडा, रोकायगाउ, सक्ला, लहा, टालेगाउ, अर्छानी, दसेरा, पजारु, थालारैकर, मजकोट, ढिमे, गर्खाकोट लगायतका गाविसका विभिन्न गाउमा धामी नाच नाच्ने प्रचलन छ । गाउँमा मष्ट्रा, महादेव, भइयार, मठोभइयार, बर्मा, पितर, सुवाकोटी, बुवाकोटी, रागामाजिलो, नदाइदेवी लगायतका देवीदेवताको पूजाआजा गरी धामी नाच नाच्ने गर्दछन । देवीदेवताको पूजाआजा र नाचले विभिन्न रोग नलाग्ने, निःसन्तानलाई सन्तान प्राप्त हुने, अन्नबाली तथा पशुचौपाया उत्पादनमा वृद्धि हुने लगायतका भाकल पूरा हुने विश्वास रहेको अधिकाशं जाजरकोटीहरुको विस्वास रहेको छ । यहाका स्थानीयका लागि यो ठूलो पर्व मानिन्छ, माओवादी युद्धमा समेत यो संस्कार रोकिएन । देवताको पूजाआजा गर्न र धामी नाच हेर्न हजारौंको भीड लाग्ने गर्दछ । धामीहरु दमाहा, शंख, घण्ट, झ्याली, ट्याम्का, सहनाई जस्ता बाजागाजाको तालमा रमाउदै नाच्ने गर्दछन् । लामा लटा पालेका, हातमा ध्वजा, त्रिशूल, चौंरी गाईको पुच्छर, अक्षता, घण्ट र फलफूल समातेका उनीहरु उफ्रदै नाच्दै हिंड्छन् । बीच–बीचमा झारफुक, ग्रहदशा हेर्ने, भूतप्रेत भगाउने कार्यसमेत गर्ने अझैपनि प्रचलन छ ।
नेपाल वायु सेवा निगमले २०२९ सालदेखि रुकुम जिल्लाको चौरजहारीमा हवाई सेवा साचालनमा ल्याएको हो । चौरजहारी रुकुम र जाजरकोटको सिमानामा पर्ने हुदा यो हवाई सेवाले ततकाल समयमा दुवै जिल्लाका बासिन्दाहरु लाई सुविधा भएको थियो । अहिले जाजरकोटमा छिन्चु–जाजरकोट र जाजरकोट–डोल्पा दुनै सडक निर्माण भै रहेको छ । जाजरकोट दुनै सडक रुकुम र जाजरकोट जिल्लाको भूगोलमा पर्ने गरी रेखांकन भएको छ । जाजरकोट तर्फको चट्टाने खण्ड छलेर पुलबाट दली र नलसिंह गाड जोड्ने गरी रेखांकन गरिएको छ । पासागाड खोलाबाट भेरी नदीको दाया किनार हुदै जाजरकोटको रिम्नाघाट पुग्ने र भेरी नदीको बाया किनारैकिनार छेपारे हुदै रुकुमको चिसापानीको भूगोल लाई समेत डोल्पा दुनै सडकले जोडिने भएको छ । त्यसैगरी चिसापानीबाट भेरीको दाया किनारैकिनार दल्ली, मनमाई हुदै तल्लु पुग्ने र छरेबगर हुदै डोल्पाको खदाङ पुग्ने गरी सडकको रेखांकन भएको छ । सडक निर्माणको काम अहिले नेपाली सेनाले लिएको छ । नेपाली सेनाले जाजरकोट–डोल्पा सडक निर्माण कार्यलाई तीब्रता दिएको छ । दुई बर्र्षभित्र डोल्पा सदरमुकाम दुनैमा सडक पु¥याउने लक्ष्यका साथ सेनाले तीन जिल्लाबाट एकैसाथ सडकको काम अघि बढाइ रहेको छ । एक सय १६ किलोमिटर लम्बाइको यो सडकमा ८० किलोमिटर कडा चट्टान फोड्न पर्ने स्थान रहेको छ ।
यातायातको दृष्टिकोणले जाजरकोट जिल्ला विकट मानिन्छ । केहिबर्ष यता छिन्चु–जाजरकोट मोटरमार्गले जोडेपनि अझै पक्की पुल बनन नसक्दा बर्षको समयमा यातायातका साधन बन्द गर्नुपर्ने अबस्था छ । कर्णाली जोडिने पैदल मार्ग भारी हिमपातले गर्दा प्रत्यक बर्ष हिउदमा धेरैदिन सम्म बन्द हुने गर्दछ । जाजरकोटको सबैभन्दा ठूलो हिमाल चाखुरे हिमाल अर्थात कुशे मुसे लेख पनि भनिन्छ । त्यहि स्थान बाट परमपरागत पैदल मार्ग बनेको छ । जिल्लाको वारेकोट, नायकवाडा र खलंगां, पाचकाटे, ढिमे हुदै सरुखोला भएर जुम्ला जाने मूलबाटो प्रत्येक बर्ष हिउदको समयमा अवद्ध हुने गर्दछ । जुन मार्ग जुम्लाका ब्यापारीहरु घोडा लिएर ब्यापारको लागी जाजरकोट हुदै सल्यान दाङ् झर्ने गर्दथिए । ठूली भेरी यो हिम नदी हो । डोल्पा जिल्लामा बुबुङ नामले चिनीने ठूली भेरी नदी डोल्पा जिल्ला हुदै जाजरकोट र रुकुम जिल्लाको सिमाना बनाएर दक्षिण पूर्व तर्फबगेको छ । यसको किनारामा राम्रा मानव वस्ती र उर्वर खेतीयोग्य जमिन छ । त्यसैगरी जिल्लाको मध्यभागमा बग्ने सरुखोलाले जिल्लाको धेरै भूभाग हुदै बग्ने गरेको छ । यो खोलाको माच्छा जाजरकोट जिल्लामा प्रख्यात मानिन्छ ।
यो सामग्री हामीले लेखक तथा पत्रकार केवि मसालको व्लक बाट लिएका हौ ।
















































। ११ मंसिर २०७८, शनिबार