हामी आउँदो सम्मेलनबाट नयाँ उचाइमा उठ्नेछौं : प्रचण्ड


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक्काइसौं शताब्दीमा नयाँ मोडेलको समाजवाद निर्माणका लागि आव्हान गरेका छन् । पार्टीका स्थानीय तह र पार्टी शाखा समितिका सम्मेलन उद्घाटन समारोहमा प्रचण्डले भने, ‘आउँदो सम्मेलनबाट हामी नयाँ उचाइमा उठ्नेछौं । इतिहासको नयाँ संश्लेषण गर्नेछौं । समाजवादी आन्दोलनले, समाजवाद निर्माणको प्रक्रियाले नयाँ जीवन र गति प्राप्त गर्ने छ । एक्काइसौं शताब्दीमा नयाँ मोडेलको समाजवाद निर्माण गर्नुपर्छ । अहिले विकास भएका प्रवृत्ति र राम्रा नराम्रा कामको समीक्षा गर्दै जानु पर्छ ।’

उनले पार्टीको आसन्न राष्ट्रिय सम्मेलनबाट नयाँ विचारको संश्लेषण गदै पहिलो पार्टी बनाउने घोषणा गरे । उनले इतिहासको नयाँ संश्लेषण गर्ने गरी आफूले राष्ट्रिय सम्मेलनका लागि दस्तावेज लेखिरहेको पनि जानकारी दिए । उनले भने, ‘अरू कोही पार्टी विचारबारे सोच्ने र बहस गर्ने स्थितिमा छैनन् । हिजो हामीले एउटा कुम्भमेला देख्यौं । त्यहाँ विचारलाई कुनै ठाउँ छैन । भ्रम दिने कोसिश मात्रै छ । तथा कथित अधिवेशन हो त्यो । तीभन्दा भिन्न हामी विचारलाई संगठनात्मक आचार व्यवहारलाई ध्यान दिनेछौं । ती तथाकथित अधिवेशन र हाम्रो विचार संश्लेषणको अभियानमा कुनै तुलना हुँदैन ।’

समाजवादी क्रान्ति सम्पन्न गर्ने कुरामा सबै पार्टी कमिटीमा एक रुपता ल्याउनु पर्ने आवश्यकता रहेको उनको भनाई थियो। उनले आउँदा दिनमा विचार संश्लेषणमा एकरुपता ल्याउनु पर्ने र आत्मसमीक्षा गरेर अगाडि बढ्नु पर्नेमा औंल्याए। प्रचण्डले भने, ‘हाम्रो पार्टी पनि अरू बुर्जुवा पार्टीजस्तै व्यक्तिगत स्वार्थमा जाने खतरा देखियो । त्यसैले बेलैमा कमीकमजोरी सच्याउनेतिर लाग्नुपर्छ । निर्मम आत्मसमीक्षा गर्नुपर्छ । त्यही संकल्पको प्रक्रियामा विभिन्न सम्मेलनमा छौं ।’

पार्टीप्रति जनताको आकर्षण बढेको भन्दै उनले केही महिनाभित्र माओवादी एक नम्बर पार्टी बन्ने बताए। ‘कुनै न कुनै रूपमा माओवादी आन्दोलनले स्थापित गरेका मान्यताहरू र यसले अगाडि ल्याउन खोजेका समाजवादी आन्दोलन, समाजवादी अभियानलाई निस्तेज पार्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तत्त्वहरू लागेका छन्। यसलाई चिर्ने चुनौती पनि छ। यो एउटा अवसर र चुनौती दुवै हाम्रासामु खडा छ,’ प्रचण्डले भने, ‘हामी एकतावद्ध भएर जाँदा यो सामना गर्न सकिन्छ । यसमा हामी सबै एकजुट भएर लागौं ।’

उनले अब पार्टी क्रान्तिकारी धारमा अघि बढ्ने बताए । उनले मार्क्सवाद, लेनिनवाद र माओवादी विचारधारालाई आत्मसात् गर्दै अघि बढ्न निर्देशन दिए । प्रचण्डले राष्ट्रिय सम्मेलनलाई वैचारिक सम्मेलन बनाउन पार्टी हेडक्वार्टरलाई सुझाव दिन आग्रह गरे ।

तपाईको प्रतिक्रिया