हरेक योजना उत्पादनसँग जोडिनुपर्छ :अर्थमन्त्री शर्मा


रुकुम पश्चिम । अर्थमन्त्री जनार्दन शर्माले हरेक योजना र कामकाज उत्पादनसँग जोडेर बनाउन र कार्यान्वय गर्न आग्रह गरेका छन् । गृहजिल्ला रुकुमस्थित नेकपा माओवादी केन्द्रका पालिका सम्मेलन उद्घाटनमा पुगेका मन्त्री शर्माले अब हरेक व्यक्ति, समूह, सहकारी, टोल र गाउँ उत्पादनमा जोडिनुपर्नेमा जोड दिए ।

शुक्रबार विभिन्न तीन पालिकाको सम्मेलन उद्घाटन गरेका शर्माले हरेक कामकाज, योजना उत्पादनसँग जोडिएर आउनुपर्ने बताएका थिए । ’अब राजनीतिक दल, कार्यकर्ता, जनप्रतिनिधि पनि जनतासितै उत्पादन र विकासमा जोडिनुपर्छ र यही नै देशलाई नयाँ उचाई र समृद्धिको बाटोमा लैजाने एक मात्र विकल्प नै हो’ मन्त्री शर्माले बताए ।

हाल विभिन्न ठाउँमा उत्पादनको सुरुवात भएको भन्दै उनले त्यसको मात्रालाई बढाउनुपर्नेमा जोड दिए । ‘थोरै उत्पादन बिक्रीमा पनि समस्या हुनसक्छ, धेरै उत्पादन भयो भने बाहिर बेच्न सजिलो हुन्छ । त्यसैले पनि सबै उत्पादनमा जोडिने र समृद्धितर्फ अघि बढ्ने गरी लाग्नुपर्छ,’ मन्त्री शर्माले भनेका थिए ।

उनले अबको पार्टी नेतृत्व पनि उत्पादन, विकास र समृद्धिको प्रष्ट योजनासहितको हुनुपर्ने बताएका थिए। यस्तै मन्त्री शर्माले कार्यर्तालाई स्पष्ट योजना भएको नेता छनोट गर्न आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया