जाजरकोटमा मह उत्पादन घट्दा किसान चिन्तित


बद्री पन्त
जाजरकोट । नलगाड नगरपालिका १, कलपतका हरीबहादुर बुढाले गत बर्ष तीन सय ५० धार्नी मह विक्रीबाट ४ लाख ५० हजार आम्दानी गर्नुभएको थियो । यस बर्ष ५० धार्नी पनि मह उत्पादन नभएपछि उहाँ अहिले निराश हुनुभएको छ ।
त्यस्तै, सोही ठाउँका हरीबहादुर पुनको ६० घार मौरीले यो बर्ष १० धार्नी मह पनि लगाएन । पुनले व्यवसायीक रुपमा मौरी पालन गर्दै आउनुभएको छ । तर आम्दानी घटेपछि उहाँ अहिले निराश हुनुहुन्छ । बुढा र पुन केही प्रतिनिधि उदाहरण मात्र हुनुहुन्छ ।

जिल्लाका ३ सय ५० भन्दा बढी किसानको समस्या उस्तै छ । व्यावसायिक रुपमा मौरी पालन गर्दै आएका किसान मह उत्पादन घटेको बताउँछन् ।
गत असोज कात्तिक महिनाका बढी वर्षाले चिउरी फुलको रस र अन्य फुलको रस बगाउँदा मौरीलाई जिल्ला भर मह उत्पादन घटेको भेरी नगरपालिका कृषि शाखा प्रमुख यज्ञ अधिकारीले बताउनुभयो ।

मौरीलाई चरन क्षेत्रको अभाव, बन विनाश, अतिक्रमण, जलवायु परिवर्तन लगायत कारण मह उत्पादन घट्दै गएको हो ।

विभिन्न रोगले मौरी मर्नु, किसानलाई प्राविधिक ज्ञानको कमी हुनु, आहारा नपाएर मौरी भाग्नु लगायत समस्या पनि एक कारण हो ।

गत बर्ष प्रति धार्नी १हजार ५ सय मूल्य पर्ने मह यो बर्ष २५ सय देखि ३ हजार पुगेको छ । उत्पादन घट्दा मूल्य वृद्धि भएको छ । मह उत्पादनका लागि पकेट क्षेत्र मानिएको क्षेत्रका किसान यो बर्ष निराश भएका छन् ।

तपाईको प्रतिक्रिया