भारतमा प्रहरी र माओवादीबीच भीडन्त, २६ को मृत्यु


काठमाडौ । प्रहरी र माओवादी समूहबीच दोहोरो भिडन्त हुँदा कम्तीमा २६ माओवादी कार्यकर्ता मारिएका छन् । भारतको गडचिरोली जिल्लास्थित मार्दीन्तोलामा भएको मुडभेटमा केन्द्रीय नेतासहित २६ कार्यकर्ता मारिएका हुन् ।

स्थानीय मिडियामा आइतबार प्रकाशित समाचारअनुसार पूर्वी महाराष्ट्र राज्यको कोर्चीस्थित मार्दीन्तोला जंगलमा शनिबार बिहान माओवादी र सी–६० प्रहरी कमान्डो समूहबीच दोहोरो गोलीबारी भएको थियो । सो गोलीबारीमा माओवादी केन्द्रीय समितिका मुख्य नेता दिपक तेल्तुम्ब्डे उर्फ जीवासहित २६ कार्यकर्ता मारिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

मुख्य नेताबाहेक अन्य कार्यकर्ताको पहिचान भने खुल्न बाँकी रहेको स्थानीय मिडियामा खबर छ । शनिबार भएको घण्टौं लामो मुडभेटमा परि तीनभन्दा बढि प्रहरी जवान गम्भीर घाइते भएको अधिकारीहरुले बताएका छन् । भारतको गडचिरोली जिल्ला माओवादीको मुख्य केन्द्रको रुपमा चिनिन्छ ।

सो क्षेत्रमा करिब १० हजारभन्दा बढि माओवादी कार्यकर्ता रहेको र उनीहरु सरकारविरुद्ध लडिरहेको बताइन्छ । सन् १९६७ मा पश्चिम बंगाल राज्यस्थित नक्सालबारी गाउँबाट माओवादीको उदय भएपछि भारतमा माओवादीहरु नक्सलवादीको रुपमा चिनिन्छन् । –एजेन्सी

तपाईको प्रतिक्रिया