सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पदबाट राजीनामा दिएका छन् । सोमबार साँझ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्रदेशबासीका नाममा सम्बोधन गर्दै उनले राजीनामा दिएको घोषणा गरेका हुन् ।
सम्बोधनमा उनले आफू नेतृत्वको सरकारले गरेका कामहरूको फेहरिस्त प्रस्तुत गरेका थिए । शाहीले ३ वर्ष ८ महिना कर्णाली सरकारको नेतृत्व गरी सरकारबाट बाहिरिएका हुन् ।
’इमानको राजनीति लागू गराउन कांग्रेस सरकार निर्माणका लागि मार्ग प्रशस्त गर्न चाहन्छु । कांग्रेस सरकारलाई हाम्रो पूर्ण सहयोग रहनेछ,’ उनले भने । गएको वैशाख ३ गते मुख्यमन्त्रीले विश्वासको मत लिँदा सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको थियो। सोही सहमति अनुसार मुख्यमन्त्रीले पदबाट राजीनामा दिएका हुन् ।
आफ्नो सरकारका ११३ वटा मन्त्रिपरिषद्को बैठकले ६९३ वटा जनपक्षीय निर्णयहरु गरेको उनले बताए ।
२०७४ माघ २५ गते नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठकले दल नेतामा निर्वाचित भएका शाहीले वाम गठबन्धनको समर्थनमा २०७४ फागुन ३ गते कर्णाली प्रदेशको पहिलो मुख्यमन्त्री बनेका थिए ।
४० सदस्यीय कर्णाली प्रदेश सभा हाल ३५ सदस्यमा खुम्चिएको छ । माओवादी केन्द्रबाट निर्वाचित धर्मराज रेग्मी, एमालेबाट निर्वाचित प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढाको सांसद पद गुमेको छ । प्रदेशसभामा नेकपा एमालेका (सभामुख राजबहादुर शाही) सहित १३ सांसद छन ्। त्यस्तै माओवादी केन्द्रका १२, नेपाली कांग्रेसका ६, नेकपा एकीकृत समाजवादीका ३ र राप्रपाको १ सांसद छन् ।
गठबन्धनको बलमा ६ सिट जितेको कांग्रेसले कर्णाली प्रदेश सरकारको नेतृत्व गर्ने भएको छ । कर्णालीमा १८ जना सांसदको समर्थनमा सरकारले बहुमत पाउँछ । कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी मिलेर नयाँ सरकार गठन गर्नेछन् ।
गत वैशाख ३ गते मुख्यमन्त्रीले विश्वासको मत लिँदा ६ महिनापछि सत्ता हस्तान्तरण गर्ने सहमति भएको थियो । सोही सहमति अनुसार कांग्रेसले मुख्यमन्त्रीलाई राजीनामा दिन दबाब बढाएको थियो ।
यसअघि माओवादी केन्द्रले भने पार्टी केन्द्रको निर्देशन पर्खिएर केन्द्रले सहमति दिएको अवस्थामा मात्र राजीनामा दिने बताउँदै आएको थियो । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नै सत्तारुढ गठबन्धनमा भएको सहमति कार्यान्वयन गर्न निर्देशन दिएपछि मुख्यमन्त्री शाही राजीनामा दिन तयार भएका हुन् ।
अब नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले कर्णाली सरकारको नेतृत्व गर्ने सहमति गठबन्धनमा भएको छ । महेन्द्रले सोमबार राजीनामा प्रदेश प्रमुखलाई बुझाएपछि नयाँ मुख्यमन्त्री चयनको बाटो खुल्नेछ ।
















































। १५ कार्तिक २०७८, सोमबार