अज्ञात समूहले तरकारी व्यापारीबाट ३ लाख लुट्यो

 सल्यान । सल्यानमा तरकारी किन्न आएका व्यापारी लुटिएका छन् । कपुरकोट गाउँपालिका–१ को कालापात्लाको जंगलमा ४÷५ जनाको अपरिचित समूहले हतियार देखाएर सोमबार व्यापारीबाट नगद ३ लाख रूपैयाँ लुटेर लगेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

नेपालगञ्ज बाँकेबाट तरकारी खरिद गर्न आएका सेराज हलवाईबाट लुटेराहरूको समूहले दिनदहाडै लुटपाट गरेका हुन् । रा १ ख २३९१ नम्बरको मिनी ट्रकमा तरकारी खरिद गर्न व्यापारी हलुवाई आएका थिए ।

लुटेराहरूको समूहले सोमबार बिहान करिब साढे ११ बजे गाडी रोकेर सामान्य तोडफोड गरी खुकुरी देखाएर तर्साउँदै नगद ३ लाख लुटेर लगेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता प्रहरी इन्स्पेक्टर अर्जुन पौडेलले बताए ।

उनका अनुसार मिनी ट्रकमा व्यापारी र चालक तथा मजदुरसहित ४ जना थिए । मुख छोपेर आएका लुटेराहरूले गाडीको साँचोसमेत खोसेर लगेका छन् भने गाडीका कागजात च्यातिदिएका छन् । रकम लुटेर उनीहरू रोल्पातिर भागेको हलुवाईले बताए । गाडी घटनास्थलमै छ । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया