बनगाड कुपिण्डे नगरपालिकाले अझै ल्याएन बजेट


सल्यान । बनगाड कुपिण्डे नगरपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट अझै ल्याउन सकेको छैन । असार १० भित्र बजेट ल्याइसक्नुपर्ने संवैधानिक प्रावधान भए पनि दुई महिनाभन्दा बढी बितिसक्दा समेत बजेट ल्याउन सकेको छैन ।

जनप्रतिनिधिहरुबीच बजेट विनियोजनको विषयमा विवाद हुँदा बजेट आउन नसकेको हो । विवाद मिलाउन पटकपटक बैठक बसे पनि सहमति हुन सकेको छैन । जनप्रतिनिधिबीचको विवाद र प्रमुख प्रशासकीय अधिकृत नहुँदा नीति तथा कार्यक्रम र बजेट ल्याउन समस्या भइरहेको उपप्रमुख मञ्जु यरीले बताइन् । नगरपालिका दुई महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन रहेको उनको भनाइ छ ।

गत वर्षका केही योजनामा रकम भुक्तानी नहुँदा जनप्रतिनिधिबीच विवाद भएको उपप्रमुख यरीको भनाइ छ । उनका अनुसार केही कर्मचारीको नियुक्ति र तलब खुवाउने विषयमा पनि जनप्रतिनिधिबीच विवाद छ ।

बहुमत वडा अध्यक्षहरुले प्रत्येक वडामा ८० लाख रुपैयाँको सिलिङ नआएसम्म नगर सभामा बस्दैनौं भनेपछि बजेट आउन ढिलाइ भएको नगरप्रमुख गोविन्द पुनले बताए। तीन दिनसम्म बैठक बस्दा पनि वडाध्यक्षहरु ८० लाख बजेटभन्दा तल बजेट विनियोजन गर्ने विषयमा सहमतिमा नआएको उनको भनाइ छ ।

नगरपालिकाको सीमिति स्रोत साधन र विगतका योजनालाई पनि निरन्तरता दिनुपर्ने भएकाले वडाध्यक्षहरुको मागअनुसार बजेट विनियोजन हुन नसकेको नगरप्रमुख पुनको भनाइ छ । बजेट सीमा निर्धारण समितिले वडाको बजेट ५० लाख तोकिसकेको र अब कार्यपालिकाको बैठकबाट अनुमोदन गराई १०÷१५ दिनमै बजेट आउने उनले बताए ।

राजनीतिक खिचातानी र दलीय स्वास्र्थले चालु आर्थिक वर्ष नीति तथा कार्यक्रम र बजेट आउन नसकेको कृष्ण माध्यमिक विद्यालय देवस्थलका प्रधानाध्यापक शिखर यरीले बताउँछन् । समयमै बजेट नआउँदा यहाँको जनजीविका, शैक्षिक सुधार, विकास निर्माण थप्प भएको उनको भनाई छ । यथाशक्य चाँडो नगरसभा बसेर कर्मचारीको मागसँगै दैनिक प्रशासनिक कार्य अघि बढाउन उनले आग्रह गरे ।

तपाईको प्रतिक्रिया