हामी क्रान्तिकारी हौं जोखिम मोल्छौं, अवसरवादी जस्तो दोबाटोमा कुरेर बस्दैनौं : झाँक्री

जाजरकोट । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्रीले नेकपा एमाले निकट नेता तथा कार्यकर्ताहरूलाई अवसरवादीको संज्ञा दिएकी छन् ।
नेकपा (एस) को आइतबार जाजरकोटमा भएको जिल्ला भेलालाई सम्बोधन गर्दै नेतृ झाँक्रीले यस्तो बताएकी हुन् ।

‘जोखिम क्रान्तिकारीहरूले नै मोल्छन्, अवसरवादीहरू त दोबाटोमा बसेर पर्खन्छन्,’ उनले भनिन्, ‘लाभको हिसाब–किताब मिलाउँछन्, जता पायक पर्छ त्यतै हिँड्छन् । अरुले सुरू गरेको विद्रोहमा समाहित हुन्छन् ।’

नेकापा (एस) नयाँ पार्टी निर्माणको क्रममा रहेको र यसले विद्रोहको सुरुवात गरेको उनले बताइन् । पार्टी निर्माणकै क्रममा देखिएको उत्साहजनक सहभागिताले समाजवादीको विद्रोहले सफलता पाउने उनले बताइन् ।

‘केही व्यक्तिले एमाले चोइटिए, टुक्रिए भनेर मिडियाबाजी गर्नुभएको छ । तपाईंहरूलाई जे भन्दा सन्तुष्टि मिल्छ त्यही भन्नुस्,’ झाँक्रीले भनिन्, ‘तर हामीले एमालेभित्रबाट विद्रोह सुरू गरेको हो, चिरा परेको, विभाजन होइन ।’

पहिलो विद्रोह कर्णाली प्रदेशबाटै सुरू भएको उनले बताइन् । प्रत्येक क्रान्तिकारीलाई विद्रोहको अधिकार हुने भन्दै झाँक्रीले समाजवादीले सुरू गरेको विद्रोहले वैधता पाउने विश्वास व्यक्त गरिन् ।

‘विद्रोहले कुनै न कुनै समय वैधता पाउँछ, वैधता प्राप्त नगरुञ्जेल विद्रोहीहरू मारिन सक्छन् । त्यसकारण जब यसले वैधता प्राप्त गर्छ। क्रान्तिकारीहरूले जित्दै र बढ्दै जाने हो,’ उनले भनिन् ।

नेतृ झाँक्रीले यसअघिको केपी शर्मा ओली नेतृत्वको सरकारले जनताको आकांक्षा पूरा गर्नुको साटो निरंकुशता लाद्न खोजेकाले एमालेभित्रबाट समाजवादी बनेर विद्रोह सुरू गरिएको बताइन् ।

आफ्नो कार्यकालमा सबैभन्दा धेरै विकास गरेको गफ गर्ने ओलीले कुनै ठूलो आयोजनामा हस्ताक्षर गर्न नसकेको टिप्पणी उनले गरिन् ।

‘३० औं बर्षमा सम्पन्न भएको मेलम्ची आयोजनालाई खड्गप्रसाद ओलीले धाराको टुटी खोल्दैमा एमाले नेतृत्वको सरकारले सम्पन्न गरेको भन्न थाले,’ झाँक्रीले भनिन्, ‘३० प्रतिशत सम्पन्न भएको धरहरालाई शिलालेखमा नाम लेख्न हतार गरेर उद्घाटन गरियो, रेल र पानीजहाजका ठूला गफ गर्नेले पहिले नै ठेक्का गरी ल्याइएका रेललाई जनकपुरमा त्रिपाल लगाएर रोकिराखेका छन् ।’

नेकपा (एकीकृत समाजवादी) जहिले पनि भ्रष्टाचारको विरूद्धमा उभिने उनले बताइन् ।

एमालेमा आफूहरू अलोकतान्त्रिक नेताको हातमा परेकोले छुट्टिएर विद्रोह गर्नुपरेको झाँक्रीले बताइन् । पार्टीभित्र विधिसम्मत चल्नुपर्ने विचार राख्दा पार्टीका संयन्त्रहरू कब्जा गर्ने, तर त्यसलाई सक्रिय हुन नदिने केपी ओलीको प्रवृत्तिले समाजवादी निर्माण भएको उनले बताइन्।

‘उहाँले मैले यो कुर्सी छोड्नुपर्ने भए कुर्ची नै भाँच्दिन्छु भनेर दुई पटक प्रतिनिधि सभा विघटन गर्नुभयो, यसरी राजनीतिक अपराधीकरणको बाटोमा हिँडेर संविधान च्यात्ने काम ओलीबाट भयो,’ झाँक्रीले भनिन्, ‘ओलीको कम्पनी लोकतन्त्रको विरूद्धमा छ भन्ने प्रष्ट भएको छ।’

नेतृ झाँक्रीले नेताहरू बामदेव गौतम र प्रदीप नेपाललाई पनि ढिलो नगरी समाजवादीमा समाहित हुन आग्रह गरिन् ।

आइतबार जाजरकोटमा सम्पन्न भएको जिल्ला भेलालाई झाँक्रीसहित कर्णाली प्रदेशका भौतिक पूर्वाधार मन्त्री अम्मरबहादुर थापा लगायत जिल्लास्तरीय नेताहरुले सम्बोधन गरेका थिए ।

तपाईको प्रतिक्रिया