हुम्लाको एक गाउँ नै लालपुर्जाविहीन

लालपुर्जाविहीन हुम्लाको मासपुर गाउँ
हुम्ला । ताजाकोट गाउँपालिका–३ को मासपुरगाउँका सबै बासिन्दा लामो समयदेखि लालपुर्जाविहीन छन् । आफ्नै जग्गाको लालपुर्जा नहुँदा स्थानीयलाई सरकारी सेवा सुविधा पाउन पनि समस्या भएको छ  ।

गाउँमा २२ घर भए पनि कसैसँग लालपुर्जा छैन । २०५५ मा नापी टोली आएर मासपुरका सबै जग्गाको नापी गरे पनि अझैसम्म स्थानीयले लालपुर्जा नपाएका हुन् । पुर्जा नपाउँदा जग्गा बिक्री गर्न, धितो राखेर कर्जा लिन, आफ्नै जग्गामा व्यवसाय गर्न लगायतबाट वञ्चित भएको स्थानीय गौकली रोकायाले बताइन्  । ‘लालपुर्जा नभएका कारण वनले ऐलानी भन्दै जग्गा कब्जा गर्छ कि भन्ने चिन्ता छ,’ उनले भनिन्, ‘लालपुर्जा नभएकालाई बैंकले ऋण नदिने भएकाले व्यवसाय गर्नसमेत समस्या समस्या छ ।’

उनका अनुसार सदरमुकाम जान झन्डै ५ दिन पैदल हिँड्नुपर्ने भएपछि गाउँका अधिकांशले नागरिकता समेत बनाएका छैनन् । लालपुर्जा नहुँदा आफू बसिरहेको बस्ती कतिखेर कसले खाली गराउने हो भन्ने चिन्ता स्थानीयमा छ । वर्षौंदेखि लालपुर्जाका लागि धेरै आश्वासन पाए पनि कसैले पूरा नगरेको ६६ वर्षीय धर्म रोकायाले बताए । ‘कपाल फुलेर सेतै भयो,’ उनले भने, ‘लालपुर्जा देख्न नपाएरै मरिन्छ कि भन्ने चिन्ता छ ।’ उनका अनुसार लालपुर्जा नहुँदा स्थानीयलाई बैंकिङ कारोबार गर्नसमेत समस्या छ ।

लालपुर्जा पाउने आशामा पार्टी नभनिकनै आफूहरूलाई विश्वस्त पार्ने नेतालाई सामुहिक भोट दिएको रोकाया बताउँछन् । उनका अनुसार अधिकांशले जिते पनि तर, पछि कसैले फर्केर हेरेनन् । ‘यसअघिका विभिन्न चुनावमा आश्वासन मात्र पाइयो, स्थानीय तह निर्वाचनपछि बढी आशा थियो,’ उनले भने, ‘स्थानीय तहका प्रतिनिधिले झन् बेवास्ता गरे, त्यो आस पनि म¥यो ।’

लालपुर्जा नहुँदा आफ्नै घरमा ढुक्कले बस्न सक्ने अवस्थासमेत नभएको स्थानीय कालीबहादुर रोकायाले बताए । ‘लालपुर्जा नहुँदा साना झुप्रा बनाएर बस्नुपरेको छ,’ उनले भने, ‘सरकारले जतिखेर मन लाग्यो त्यतिबेला उठाउन सक्ने डरले ठूला घर बनाउन सकेका छैनौं ।’ २४ वर्षअघि नापी भए पनि स्थानीयले अझै लालपुर्जा पाउन नसकेको जिल्ला मालपोत कार्यालय प्रमुख रवीन्द्र शाहीले बताए । डेढ वर्षअघि एकीकृत घुम्ती शिविरमा जाँदा मात्र आफूले बस्ती नै लालपुर्जाविहीन भएको थाहा पाएको उनको भनाइ छ । ‘मैले यसबारे माथिल्ला निकायहरूमा पनि जानकारी गराएको छु,’ उनले भने, ‘तर कुनै जवाफ नआउँदा लालपुर्जा वितरणमा समस्या भइरहेको छ ।’

तपाईको प्रतिक्रिया