निमित्तकै भरमा स्थानीय सरकार

‘जनप्रतिनीधिले आफु अनुकुलका कर्मचारी राख्दा समस्या ’


जाजरकोट । जाजरकोटका सात वटै स्थानीय तहहरु निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा छन् । दरबन्दी अनुसारका कर्मचारी नहुँदा कतिपय सेवा प्रवाहमा समस्या हुने बताईन्छ । नलगाड नगरपालिकाको कार्यालय स्थापना देखि नै शाखा अधिकृत सुरेन्द्र सिंह निमित्त प्रमुख प्रशासकीय अधिकृत छन् । सदरमुकामस्थित भेरी नगरपालिकाको कार्यालयमा अधिकृत दलबहादुर घर्ती निमित्त प्रमुख प्रशासकीय अधिकृत छन् ।
यी दुई मात्रै होइन जाजरकोटका सातवटै स्थानीय तह निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा छन् । तोकेको दरबन्दीका उपसचिव र अधिकृतले स्थानीय तहमा नआएपछि तल्लो तहका कर्मचारीको जिम्मामा सञ्चालन भइरहेका हुन् । भेरी, नलगाड र छेडागाड नगरपालिकामा प्रशासन तर्फको उपसचिव तहको दरबन्दी छ ।

छेडागाडमा निमित्त प्रमुख प्रशासकीय अधिकृत गंगबहादुर आरसी छन् । बारेकोट गाउँपालिकाले पनि दुई वर्षदेखि गोविन्दबहादुर सिंहलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको छ । सिंह पशु प्राविधिक समूहको छैटौं तहका कर्मचारी हुन् । शिवालय गाउँपालिकामा नरबहादुर विक, कुशेमा मानबहादुर गिरी र जुनीचाँदेमा दीपक शाही निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा छन् । गिरी र शाही विद्यालय निरीक्षक हुन् ।

सदरमुकामस्थित भेरी नगरपालिकामा उपसचिवस्तरको कर्मचारी आएपनि ४÷५ महिनाभन्दा बढी समय प्रमुख भएर काम गर्न सकेनन् । स्थानीय तहका जनप्रतिनिधिले आफूअनुकूल काम गर्ने कर्मचारीलाई कार्यालय प्रमुख बनाउँदा स्थानीय तह निमित्तकै भरमा सञ्चालन भएको नागरिक अगुवा केशवजंग शाहले बताए । उनका अनुसार राजनीतिक नाता सम्बन्धका आधारमा कर्मचारीलाई ‘रबर स्ट्याम्प’ बनाइँदा विकास तथा सुशासनमा बाधा पुगेको छ । ‘प्रमुखको जिम्मेवारीमा रहेर काम गर्न नपाउने कर्मचारीलाई पनि निमित्त बनाइएको छ,’ उनले भने, ‘दरबन्दीका कर्मचारी आए पनि एक÷दुई महिनामै सरुवा हुन्छन् ।’

भेरी नगरपालिकामा नीति, नियमअनुसार काम गर्न खोज्दा अवरोध भएपछि चार महिनामै सरुवा हुनुपरेको पुर्व कर्मचारीहरु बताउँछन् । ‘स्थानीय तहमा नीति नियमअनुसार तटस्थ भएर कामकाज गर्ने वातावरण नै छैन,’ ‘जनप्रतिनिधिको दबाब थेक्न नसक्दा सरुवा हुनुप¥यो ।’ उनीहरुको गुनासो छ । स्थानीय तहका प्रमुखहरूले भने दुर्गममा दरबन्दीअनुसारका प्रमुख नआउँदा निमित्तको भरमा पालिका सञ्चालन गरेको दाबी गरेका छन् । संघीय सरकारले दुई वर्षयता प्रमुख प्रशासकीय अधिकृत नपठाएको जनप्रतिनीधिहरुको गुनासो छ ।\

तपाईको प्रतिक्रिया