
जाजरकोट । ट्रयाक खुलेको १३ वर्ष बितिसक्दा पनि जाजरकोटको खलंगा–पाँचकाटिया सडकमा नियमित गाडी चल्न सकेको छैन । सडकको स्तरोन्नति नहुँदा स्थानीय बासिन्दालाई आवतजावत गर्न समेत समस्या भएको छ ।
खलंगा–पाँचकाटिया २३ किलोमिटर सडकको १३ वर्षअघि ट्रयाक खोलिएको थियो । ट्रयाक खुलेपछि कसैेले वास्ता नगर्दा झन् सास्ती भएको स्थानीय बासिन्दाले बताए । कुशे र बारेकोट गाउँपालिकाका बासिन्दालाई आवतजावत गर्न पनि सास्ती भएको बारेकोटका तिलक रावतले बताए । यो सडकमा हिउँदमा धुलाम्ये र बर्खामा हिलाम्ये हुने गरेको उनको भनाई छ ।
सदरमुकामबाट कुशे र बारेकोट गाउँपालिकामा खटिएका कर्मचारीलाई समेत समस्या हुने गरेको छ । ‘बाटो झन् बिग्रिएर मोटरसाइकल चलाउन मुस्किल हुन्छ । हिँडेर आवतजावत गर्दा दुई–तीन दिन लाग्छ,’ कुशे गाउँपालिकाका एक जना कर्मचारीले भने । ट्रयाक खुलेयता केही मर्मत सम्भार नगरिएको उनको भनाई छ । यो सडकमा गाडी गुडाउन पनि जोखिम हुने गरेको व्यवसायीहरू बताउँछन् ।
‘यो सडक त्यसै खेर गएको छ । सडकले सहज हुुनु त कहाँ हो, उल्टै धुलो र हिलोले सास्ती हुन्छ,’ पाँचकाटीयाका व्यापारी सागर परियारले बताए । सडक डिभिजन कार्यालय र भेरी नगरपालिकाको लापरबाहीले सबैले समस्या झेल्नुपरिरहेको उनको भनाई छ । खलंगा–पाँचकाटिया सडकमा नियमित यातायात पनि सञ्चालन हुँदैन । बर्खामा हिलो र हिउँदमा धुलो हुँदा ६ महिना गाडी सञ्चालन नहुने गरेको स्थानीय बासिन्दा बताउँछन् । ‘निर्माण भएको १३ वर्ष भयो, अझै गाडी गुडाउन लायक बनेको छैन,’ स्थानीय व्यापारी छविलाल पुन बताए ।
नियमित सडक सञ्चालन नहुँदा ग्रामीण क्षेत्रमा दैनिक उपभोग्य सामान आपूर्ति गर्न पनि समस्या हुने गरेको छ । ‘दुई गाउँपालिकामा खाद्यान्न ढुवानी गर्नसमेत गाह्रो हुन्छ, सधैँ अभाव नै हुन्छ,’ भेरी नगरपालिका–२ बाहुनथानका व्यापारी निरज विकले बताए ।
बर्खामा हिलाम्य र हिउँदमा धुलाम्य सडक
बर्खाको पानीले गर्दा यतिबेला जाजरकोटका सडकहरु हिलाम्य हुँदा यात्रुहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । हिउँदमा धुलाम्मे र वर्षातमा हिलाम्य हुने जाजरकोटका सडकहरुको यो वर्ष पनि हालत उस्तै छ । वर्षेनी हुने यस्तो समस्याका कारण केही सडकहरु अवरुद्ध छन् भने केही जोखिमपुर्ण तरिकाले संचालन भइरहेका छन् । ग्रामीण र कच्ची सडकहरुको मात्र होइन छिन्चु जाजरकोट पुष्पलाल लोकमार्गको हालत पनि बेहाल छ ।
रुकुम र जाजरकोटको सिमाना चिसापानी देखि सदरमुकाम खलंगा सम्मका ठाउँठाउँमा सडक विग्रेको छ । बारेकोट गाउँपालिका १ का ऐनबहादर परियारले भने, ‘रिम्ना जाजरकोट सडक खण्डमा सडक कालोपत्रे छैन, सदरमुकाममा काम हुदाँ कहिले काँही हातले धकेल्नु पर्छ, वीचमा खाल्डा खुल्डिएको त कुरै छोडौ ।’
एकदमै गाह्रो छ । देशमा तीन तहको सरकार भएको अवस्थामा मुख्य सडकको रूपमा रहेको जिल्लाको मुख्य सडक रिम्ना जाजरकोटको अवस्था जटिल भएको उनको भनाई छ । यस क्षेत्रको सडक बेलाबेला मर्मत गरिने भए पनि गुणस्तरीय हुने सकेको छैन भने सडकमाथिबाट नाली निर्माण तथा समयमै पहिरो नपन्छाउदा सडक नै खोला जस्तो पानी बग्ने भएका छन् । यस सडक मर्मतको जिम्मा सडक बिभागको रहेको हुँदा सम्बन्धित निकायले तत्काल पहल गर्नुपर्ने स्थानीय यातायात व्यवसायीको भनाई छ । जाजरकोटका गाउँगाउँमा नयाँ सडक निर्माण गर्नमा बर्षेनी ठुलो रकम खर्च भईरहेको छ ।
जिल्लाका अधिकांस वडाहरुमा सडक पुगिसकेको छ तर बर्षातको समयमा अधिकांस सडकहरुमा गाडि गुड्ने अवस्था छैन । यातायात व्यवसायीहरुले जोखिमपुर्ण तरिकाले गाडि संचालन गर्नुपर्दा बेला बेला दुर्घटना भएर जनधनको क्षति हुने हुने भएको छ भने बिग्रेको बाटोमा गाडी गुडाउँदा बेलाबेला गाडी मर्मत गर्नुपर्ने अवस्था आउने गरेको यातायात व्यवसायीहरुले गुनासो गर्दै आएका छन् ।
पुराना सवारी साधन र ड्राईभरको लाप्रवाहीले दुर्घटना
पछिल्लो समय जिल्लाका गा्रमीण सडकमा दुर्घटनाको जोखिम बढेको छ । पुराना सवारी साधन र ड्राईभरको लाप्रवाहीका कारण दुर्घटनाको जोखिम बढेको हो । धेरै बर्ष पुरानो सवारी साधन प्रयोग गर्ने, बर्खाको सडकमा जथाभावी गाडी हाक्ने लगायतका कुराले दुर्घटना बढेको नेपाल कम्युनिष्ट पार्टी ( विप्लव) का भेरी नगर कमिटी ईन्चार्ज हिमालले बताए ।
उनले भने, ‘दुर्गम गाउँहरुमा चालकहरुले मनपरी ढंगले सवारी साधन चलाईरहेका छन्, कतिपय गाडीमा सवारी साधन अनुमति पत्र नभएकाले समेत गाडी चलाउने गरेका छन् ।’ नलगाड र बारेकोट गाउँपालिकामा सञ्चालित सवारी साधनका लाप्रवाहीका कारण दुई महिना भित्र आधा दर्जन भन्दा बढीले ज्यान गुमाएका छन् भने, दर्जनौ व्यक्तिहरु घाइते भएका छन् ।
तर किन र कस्को कारणले दुर्घटना भईरहेको छ भन्ने विषयमा सरकारी निकायले चासो नलिएको पाईन्छ । यता प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद देवकोटाले असोज एक गते जिल्ला यातायात समितीको वैठकमा यि सबै समस्याको विषयमा छलफल गर्ने बताए । जिल्लामा पछिल्लो पटक यातायातमा निकै वेथिती छ भन्ने सुन्नमा आएको छ, किन भएको हो सबै विषयमा छलफल गरिने उनको भनाई छ ।
कैयौँ सडक अलपत्र
खलंगा–पाँचकटीया जस्तै जाजरकोटका दर्जनौँ सडक अलपत्र परेका छन् । सडकको ट्रयाक खोलिए पनि स्तरोन्नति तथा मर्मतसम्भार नहुँदा ग्रामीण सडकहरू अलपत्र परेका हुन् । ‘सबै सडक उस्तै छन्, सामान ढुवानी गर्नसमेत समस्या हुन्छ,’ जुनीचाँदेका स्थानीय व्यापारी महेन्द्र शाहीले भने ।
राजनीतिक दलका स्थानीय नेता तथा कार्यकर्ताले सडक निर्माणका लागि जोड दिने तर त्यसको स्तरोन्नति र मर्मत सम्भारका लागि वास्ता नगर्ने भएकाले समस्या भएको व्यापारीहरूको भनाई छ । ‘घर छेउछाउसम्म सडक लैजान्छन्, त्यसपछि न गाडी गुड्छ, न हिँडडुल गर्न सहज हुन्छ,’ शाहीले भने । जसका कारण यहाँका दर्जनौं सडकमा गाडी गुड्ने गरेको छैन ।
















































। ३१ भाद्र २०७८, बिहीबार