हलिया मुक्त राष्ट्र घोषणाका तेह्र बर्ष : समस्या ज्यू का त्यूँ !

प्रमाणिकरण मै छुट्छन् वास्तविक हलिया

                                                           फाइल तस्विर
जाजरकोट । सरकारले हलिया मुक्त राष्ट्र घोषणा गरेको १३ बर्ष पुरा भएको छ । २०६५ साल भाद्र २० गते तत्कालिन सरकार र हलिया महासंघको पहलमा नेपाललाई हलिया मुक्त राष्ट्र घोषणा गरिएको थियो । हलिया मुक्त राष्ट्र घोषणा कागजमा मात्र सीमित भएको सरोकारवालाहरुको भनाई छ ।

आम हलियाहरुको पीडा ज्यू का त्यू छन् । पुस्तौ देखि हलिया बस्दै आएका बारेकोट गाउँपालिका ५ भैलुखानका जस्वीर दमाई १३ बर्ष अघि निकै खुसी भएका थिए । हलियाबाट मुक्त भएपछि जिवन निर्वाहमा सहजता आउने उनीहरुको विश्वास थियो तर सोचे अनुसार नभएपछि निराश छन् ।

सरकारले २०६५ साल भदौ २१ गतेका दिन हलिया मुक्तीको घोषणा गरेपछि पुस्तौ देखीको दासताबाट मुक्ती पाउँदा औधी खुसी भएका थिए तर मुक्तीपछि जीवन निर्वाहमा झन समस्या भएपछि उनको परिवार निराशमा छ ।

उनको हजुरवुवा कालो दमाईले गाँउकै एकजना साहु ऋण स्वरुप लिएको एक सय रुपैया तिर्न नसक्दा उनी हलिया बस्न बाध्य भएका थिए । अलिकति भएको जग्गा जमिन पनि बेचेर सकेको र साहुबाट लिएको ऋणतिर्न नसक्दा दमाई परिवार बस्नेत परिवारको हलिया बस्न बाध्य भएको थियो । दमाईले आफ्नो जीवनभर उनीहरुकै हलो जोतेर विताए । त्यसपछि उनका छोरा चन्द्र दमाईले पनि त्यसैगरी हलिया भएरै जीवन निर्वाह गरे ।

नाती जस्वीरले ४६ बर्ष सम्म पुस्तौले हलिया भएर जिवन निर्वाह गरेपनि अहिले भने मुक्ती पाएका छन् । ‘हाम्रो तीन पुस्ताले हलिया भएर विताए, ‘मैले पनि आधा जीवन हलिया भएर विताए अव मेरा छोराहरुले फेरी यस्तो दासतापुर्ण अवस्था भोग्नु नपरोस् उनले भने ।’

सरकारले हलियाबाट मुक्त भएको घोषणा त गर्यो तर पुर्नस्थापनाका लागी ठोस कार्यक्रम नगर्दा आफुहरुको झन् विचल्ली भएको बताए । ‘पहिला साहुका काम गथ्यौ दिएको खान्थ्यौ अहिले सवै आफैले जुटाउनु पर्छ उनले भने ‘सरकारले जग्गा खरीदका लागी दिएको २ लाख रुपँैयाले तिनै साहुको चार रोपनी पाखो जग्गा किनेको तर घर बनाउन नसक्दा सानो खरको कटेरोमा गुजरा चलाएका छौ ।’

अहिले विहान बेलुकाको छाक टार्न मुस्किल पर्ने गरेको बताउँदै उनले सरकार सँग मुक्त हलिया परिवारको रोजीरोटीका लागी रोजगारीको ब्यवस्था गरिदिन माग गरेका छन् । पुस्तौ देखी हलिया बस्दै आएका जाजरकोट जुनीचाँदे दहका मानसिंह दमाईको परिवार हलियाबाट मुक्त हुँदा १३ बर्ष अघि निकै खुसी भएका थिए ।

हलियाबाट मुक्त भएपछि जिवन निर्वाहमा सहजता आउने उनीहरुको विश्वास थियो तर सोचे अनुसार नभएपछि निराश छन् । उनी बाबाको विडो थाम्दै जुनीचाँदे गाँउपालिका दहका बहादुर बस्नेतको हलिया हुन बाध्य भएका थिए । सरकारले हलिया मुक्तीको घोषणा गरेपछि पुस्तौ देखीको दासताबाट मुक्ती पाउँदा औधी खुसी भएका थिए तर हलियाबाट मुक्त भैसकेपछि पनि उनको परिवारको जीवनस्तरमा खासै परिवर्तन नआएपछि निराश छन् ।

हलियाबाट मुक्त भएपछि के के न पाईएला भन्ने सोचेका थियौ तर अहिले सम्म सरकारले जग्गा किन्ने २ लाख रुपैया बाहेक केही नदिएको उनले गुनासो गरे । उनले दुई लाख रुपैयाले गाँउमै ६ रोपनी पाखो जग्गा किनेको तर त्यो जग्गामा उत्पादन भएको अन्नले खानलाउन नपुग्ने र फेरी साहुकै काम गर्नु्पर्ने बाध्यता सुनाए ।

हलियाबाट मुक्त भैसकेपछि ज्यालादारी काम गरेर जेनतेन छोराछोरीलाई पढाएको बताउँदै उनले भने ‘ बरु रोजगारीको ब्यवस्था गरिदिए राहत हुने थियो । हलिया मुक्त भएको १३ बर्ष विति सक्दा पनि अहिले सम्म पक्की घर बनाउन सकेको छैन ।’

हलिया मुक्ती पछि स्वतन्त्रता भएपनि ९ जनाको परिवारलाई पाल्न निकै मुस्किल परेको छ । हामी पहिले भन्दा झन् समस्यामा परेका छौ’ यी दुई परिवार मात्र होईन सवै मुक्त हलियाको अवस्था यस्तै छ ।

सरकारले उनीहरुको पुर्नस्थापनाका लागी गरेको सहयोग बालुवामा पानी सरह भएको मुक्त हलियाहरुको भनाई छ । सरकारले मुक्त हलियाको पुर्नस्थापनका लागी घर निर्माणमा ३ लाख २५ हजार , जग्गा खरीदमा २ लाख र घर मर्मतमा एक लाख २५ हजार रुपैया दिने गरेको छ ।

उनीहरुको अवस्थाका आधारमा क देखी घ बर्ग सम्म श्रेणी विभाजन गर्ने र आवश्यकताका आधारमा कुनै एउटा कामका लागी सहयोग गर्ने सरकारी निति रहेको जिल्ला मालपोत कार्यालयले जनाएको छ ।

दुई सय दुई हलिया परिवारको प्रमाणिकरण
जाजरकोटमा चार सय ४४ हलिया परिवार मध्ये दुई सय दुई परिवारको प्रमाणिकरण भएको छ भने अन्य परिवारको प्रमाणिकरण हुन वाँकी रहेको जिल्ला मालपोत कार्यालयको तथ्यांकमा छ ।

जसअन्तर्गत बारेकोट गाउँपालिकामा १४ परिवार, भेरी नगरपालिकामा ३, जुनीचाँदेमा २७ , नलगाडमा १८, छेडागाडमा ८७ हलिया परिवार रहेको तथ्यांकमा उल्लेख गरिएको छ ।

कार्यालयका अनुसार हाल सम्म प्रमाणिकरणमा परेका सवै परिवारलाई पुर्नस्थापनाका लागी अनुदान दिईसकेको छ । मुक्त हलियालाई पुर्नस्थापना गर्ने कार्यक्रम सरकारले ल्याएको भएपनि मुक्त हलिया भन्छन् २ लाख रुपैयाले हाम्रो पुर्नस्थापना कसरी हुन्छ ? सरकारले मालपोत कार्यालय मार्फत मुक्त हलिया परिवारको लागी वाइरिङ्ग , सिलाईकटाई , तरकारी खेती , ईलेक्टोनिक लगायतका सीपमुलक तालिमहरु संचालन गरिरहेको जनाएको छ तर पनि मुक्त हलिया परिवारको जीवनस्तरमा खासै परिवर्तन आउन नसकेको स्थानियको भनाई छ ।

प्रर्याप्त स्रोतको अभावमा मुक्त हलियाको मागलाई संवोधन गर्न नसकेको हलिया मुक्ति जाजरकोटका डम्बरबहादुर नेपालीले बताए । सरकारले अहिले सम्म पुर्नस्थापना गर्न नसकेको मुक्त हलियाको गुनासो छ ।

उनीहरुले मुक्त हलियाका परिवारलाई जीवन निर्वाहमा सहजता ल्याउन आयमुलक र सीपमुलक खालका तालिमका साथै रोजगारीको ब्यवस्था , उच्च तथा प्राविधिक शिक्षा निशुल्क पढ्न पाउने ब्यवस्था गर्नुपर्ने , निर्वाह भत्ता उपलब्ध गराउनु पर्ने, निशुल्क स्वास्थ्य सुविधा उपलब्ध गराउनु पर्ने माग गरेका छन् ।

तपाईको प्रतिक्रिया