बंगलादेशसँग भदौ २४ र २७ मा फुटबल खेल्दै नेपाली महिला टोली

काठमाडौं : नेपाली महिला राष्ट्रिय फुटबल टोलीले बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव इन्द्रमान तुलाधरले नेपाली टिम र बंगलादेशबीच मैत्रीपूर्ण खेल पक्का भएको जनाएका छन् ।

नेपालले बंगलादेशी टोलीसँग भदौ २४ र २७ मा प्रतिस्पर्धा गर्ने छ। नेपालले उज्वेकिस्तानमा आयोजना हुने एएफसी महिला एसियन कप (२०२२) को छनोट खेल खेल्दै छ। छनोटका लागि मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले २३ सदस्यीय नेपाली टिमको घोषणा गरिसकेका छन् ।

एन्फाले घोषणा गरेको टिममा ६ खेलाडीले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भएका छन्। मिडफिल्डर प्रीति राई, फरवार्ड रश्मी घिसिङ, सविता राना, रजनी थोकर, डिफेन्डर सृजना सिंह र निशा थोकर पहिलो पटक राष्ट्रिय टिममा पर्न सफल भएका छन् ।

छनोटमा नेपालले समूह एफमा रहेर प्रतिस्पर्धा गर्ने छ। नेपालको समूहमा फिलिपिन्स र हङकङ छन् । उज्वेकिस्तानको जेएआर रंगशालामा हुने खेलको शीर्ष स्थान ओगट्ने टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ

तपाईको प्रतिक्रिया