सोती हत्याकाण्ड : एक बर्ष नाघ्यो, पीडित परिवार भन्छन्, ‘न्याय पाईदैन्’

No description available.

नवराज जन्म जयन्तीको दिन निराश बनेको आमावुवा
खलंगा,१४ साउन । रुकुम पश्चिमको सोतीमा भएको नरसंहार घटनाको एक बर्ष पुरा भईसकेको छ । जाजरकोटको भेरी नगरपालिका ४ रानागाउँका नवराज विक सहित ५ जनाको २०७७ जेठ १० सामुहिक हत्या गरिएको थियो । सामुहिक हत्या गरिएको एक बर्ष पुरा भएपनि पीडित परिवारले न्याय पाएका छैनन् । ‘हत्याराहरुले जेल सजाय पाएँ, मेरो छोराको आत्माले शान्ती पाउने थियो’ नवराजका वुवा मुनलाल विकले भने ।

‘मेरो छोरालाई मार्न पठाउने सुष्मा मल्लकी आमा समेत छुटिसेकेकी छन्, स्वयंम सुधार गृहमा रहेकी सुष्मा समेत बाहिर आईसकेकी छन्, ११ जनालाई साधारण तारिकमा छोडिसेकेको छ, अव हामी न्याय पाउँदैनौं जस्तो लाग्छ’ उनले थपे ।’ छोराको मृत्युको खबर पाएँ देखि नवराजकी आमा उर्मिलाको आँखामा आँसु रोकिएको एकदिन छैन् । घरको एक मात्र छोरा ।

भविष्यमा परिवारको साहारा बन्ने सपना देखेका वाआमा अहिले रातदिन रोइरहेका छन् । घरमा सुतिरहेका नवराजलाई फोन गरेर विहेका लागि बोलाएकी थिईन सुष्माले । जात नमिल्ने भन्दै वेलावेलामा सुष्माका परिवारले नवराजलाई धम्की दिदै आएका थिए । तर जेठ ९ गते राती सुष्माले साथीहरु लिएर मलाई भगाउन आउनुहोस् भनेपछि नवराज १८ जना साथीहरु लिएर विहेका लागि सोती गाउँ पुगेका थिए ।

विहेका लागि पुगेका नवराज कहिल्यै नर्फकिने गरी सधैलाई अस्ताए । उनी मात्र होइन् उनका ५ जना साथीहरु समेत कहिल्यै नर्फकिने भएँ । अन्तरजातीय प्रेम गरेकै कारण नवराजले ज्यान गुमाउनु प¥यो । दलितले मेरी छोरी संग विहे गर्न लागेको भन्दै सुष्माका आमा वुवाले वडाध्यक्ष डम्बरबहादुर मल्ललाई खवर गरेका थिए । गाउँका २ सय भन्दा बढीलाई वडाध्यक्षले खबर गरी नवराज सहित ६ जनाको हत्या गर्न वडाध्यक्ष आफै लागे ।

१२ जना भागेर ज्यान बचाउन सफल भए भने ६ जनालाई क्रुरता पुर्वक हत्या गरी भेरीमा शव फालियो । नवराजकी आमाले भनिन्, ‘ठुलाठुला नेताहरु घटना लुकाउन खोजिरहेका छन्, हामी दलित समुदायका लागि कसले लडिदिन्छ, न्याय पाउने आशमा बसिरहेका छौँ, खै के न्याय पाउँला र ?’ सञ्जु विककी श्रीमती पनि श्रीमानको यादमा रोइरहेकी छिन् ।

श्रीमानको हत्याराहरुलाई जेलको सजाय हुनुपर्छ भन्दै आँसु खसाल्छिन् । उनको पाँच बर्षको छोरा समेत छन् । ‘छोरोले वुवा कहिले आउनुहुन्छ, ममी भन्दा मेरो भकानिन्छ, उनले भनिन् ।’ कमिलो उमेरमा श्रीमान गुमाउनुको पीडा त छदैछ, त्यही माथी सासु ससुरालाई पनि उनले सम्झाउनुपर्छ । न्याय पाउँने आशमा पीडित परिवार बसिरहेका छन् ।

उक्त घटनामा भेरी नगरपालिका ४ का नवराज विक, गणेश वुढा, चौरजहारी नगरपालिकाका टीकाराम सुनार, भेरी नगरपालिका ११ का लोकेन्द्र सुनार, गोविन्द्र शाही र सन्दीप विकको हत्या गरिएको थियो । सबैका परिवार सन्तान गुमाउनुको पीडाले अहिले विछिप्त बनेका छन् । त्यसै माथी न्याय पाईदैनकी भनेर चिन्तित बनिरहेका छन् ।

सुष्माले बोलाएपछि गएका थिए नवराज
तीन वर्षदेखिको प्रेमलाई विवाहमा परिणत गर्ने लक्ष्यका साथ जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षीय नवराज विक पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८ सोतीकी १७ वर्षीया सुष्मा मल्ल थरकी युवती कहाँ पुगे । नवराज उनका १८ जना साथी लिएर गएका थिए । तर जब युवा सोती पुगे, माहोल एकाएक बिग्रियो । कथित दलित समुदायका नवराज र ठकुरी समुदायकी ती युवती विवाह बन्धनमा बाँधिन चाहन्थे ।

तर, नवराजका आमाबाबालाई भने अन्तरजातीय विवाह मन परेको थिएन । नवराज शनिबार राति आफ्ना साथीहरुलाई लिएर दुलही ल्याउन सोती गएका थिए । पटक–पटक मानसिक रूपमा तनाव र शारीरिक रूपमा कुटपिट व्यहोरोका नवराजलाई शनिबार ठूलो संख्यामा साथी लिएर आउनु भनि युवतीले सल्लाह दिएकी थिइन् ।

जब उनीहरु घर नजिकै पुग्दा युवतीभन्दा, युवतीकी आमाको नजर युवामा प¥यो । त्यसपछि उनले ‘जति पिटाइ खाए पनि केही लागेन है, फेरि आइस् आज त मारेर फालिन्छ’ भन्दै गाउँका मानिसलाई बोलाएपछि युवामाथि कुटपिट शुरु भएको थियो ।

चौरजहारी नगरपालिका–८ का वडाध्यक्ष डम्बरबहादुर मल्लको नेतृत्वमा २०७७ जेठ १० गते प्रेमिकासँग विवाह गर्न गएका जाजरकोटको भेरी नगरपालिकाका नवराज विक र उनका ५ जना साथीको रुकुम पश्चिमको चौरजहारी नगरपालिका–६ सोती गाउँमा सामूहिक हत्या भएको थियो ।

११ जना समान्य तारिकमा छुटे !
सोती हत्याकाण्डमा संग्लन ११ जना समान्य तारिकमा छुटिसकेका छन् । नवराज हत्याकाण्डमा संग्लन भएको भन्दै सोती गाउँका ३४ जना विरुद्ध जिल्ला अदालत रुकुममा मुद्धा दायर भएको थियो । जसअन्र्तग हाल २३ जना सर्वाेच्चमा पुर्नपक्षका लागि थुनामा रहेका छन् ।

जिल्ला अदालत रुकुम, उच्च अदालत सुर्खेत र सर्वाेच्च अदालत काठमाडौँ बाट गरी ११ जना समान्य तारिकमा छुटिसकेको वकिलहरुले बताएका छन् । हत्याराहरु धमाधम छुट्न थालेपछि न्याय पाउने आशा समेत मरेको सञ्जुका वुवा बलबहादुर विकले बताए । प्रेम गरकै कारण नवराज सहित ५ जनाको हत्या गरिनु ठुलो अपराध भएको दलित अधिकारकर्मीहरुको भनाई छ ।

कानुनी प्रक्रिया नै ढिलाई
जिल्ला अदालत रुकुमपछि उच्च अदालत सुर्खेत हुँदै सर्वोच्च अदालत पुगेको यो मुद्दाको फाइल फेरि रुकुम जिल्ला अदालत आइपुगेको छ । २०७८ वैशाख १९ गते यो मुद्दाको फाइल जिल्ला अदालत आइपुगेको हो । अदालत स्रोतका अनुसार जिल्ला अदालतमा सक्कल मिसिल आइपुगेको र आदेश अनुसारका अरु काम बाँकी रहेको छ । कोरोना महामारीका कारण घटनाहरुको पछिल्लो अवस्था बुझ्ने तथा साक्षीको काम हुन सकेको छैन । अदालतमा न्यायाधीशबीच राय बाझिएपछि मुद्दा सर्वोच्च पुगेको र ढिलाइ भएको बताइएको छ ।

भुसको आगो जस्तै सल्किएको विभेद
अन्र्तजातिय प्रेम सम्बन्धलाई विहेमा परिणत गर्न भनेर गत जेठ १० गते पश्चिम रुकुमको चौरजहारी ८ सोती पुगेका जाजरकोट खलंगाका नवराज विक गाँउलेको कुटाइबाट मारिए । उनी मात्र होइन उनलाई साथ दिन गएका अरु पाँच जना युवाहरु पनि सँगै मारिए ।

नवराज सहित ६ जनाको ज्यान जाने गरी रुकुमको सोतीमा भएको घटना जातिय विभेदकै कारण घटेको अधिकारकर्मीको निश्कर्ष छ । नवराजको मल्ल थरकी एक किशोरी सँग दुई बर्ष देखि प्रेम सम्बन्ध रहेको र उक्त सम्बन्धलाई केटी पक्षले अस्वीकार गरेका कारण दुवै परिवार विच सम्बन्ध राम्रो थिएन ।

तल्लो जातको केटा सँगको छोरीको प्रेम सम्बन्ध मल्ल परिवारले सदाको छुटाउन चाहन्थ्यो तर प्रेमी प्रेमिकाले त्यो सम्बन्धलाई विहेमा परिणत गरेर अझ मजबुद बनाउन चाहन्थे । केटा तल्लो जातको र गरीब भएकै कारण केटीका आमाबाबुले त्यो प्रेमलाई स्वीकार गर्न नसक्दा ६ जनाको सामुहिक नरसंहार हत्या भएको दलित अधिकारकर्मीको भनाई छ ।

अन्र्तजातिय विवाह गरेका जाजरकोट जुनीचाँदे गाँउपालिका ५ गर्खाकोटका गणेशकुमार चदारा र सोही ठाँउकी ज्योती शाह पाँच बर्ष देखि जिल्ला सदरमुकाम खलंगामा विस्थापित जीवन विताईरहेका छन् । उनीहरुले प्रेम त सफल पारे तर विहे गरेपछि पनि उनीहरु आफ्नो घरमा जान पाएका छैनन् । सदरमुकाम स्थित भाडाको कोठामा उनीहरुले गुजरा चलाईरहेका छन् । कथित माथिल्लो जातका भनिने माईती पक्षका शाह ठकुरीको धम्कीका कारण उनीहरु विस्थापित जीवन विताउन बाध्य भएका हुन् ।

भेरी नगरपालिका २ पोखराका पदम बुढा र जानुका विक विच अन्र्तजातिय विहे भयो । तर उक्त सम्बन्ध परिवार र समाजको दवावले टिक्न सकेन । अन्र्तजातिय विहे गरेर भारत भागेका उनीहरु तीन सन्तान सहित १३ बर्ष पछि घर फर्किए । त्यतिवेला सम्म सम्बन्ध राम्रै थियो तर घर पुग्दा पदमको परिवारले जानुकालाई दलित भएकै कारण स्वीकार गरेन् ।

पदमको घरपरिवारले सजातिय (कथित माथिल्लो जात) विहे गराईदिएपछि जानुका सँग सम्बन्ध विच्छेद गरिदिए । उनी तीन छोराछोरी सहित एकल जीवन विताउन बाध्य छन् । केटाकेटीको लालनपालन गर्न उनलाई निकै समस्या परिरहेको छ ।
यी केही प्रतिनिधी घटना हुन् ।

दलित भएकै कारण अन्र्तजातिय प्रेम सम्बन्ध राख्दा कोही मारिनु पर्ने, कोही विस्थापित हुनु पर्ने र कोही सम्बन्ध विच्छेद गर्न बाध्य हुनु पर्ने अवस्था अझै कायमै छ । जातिय विभेद भुसको आगो झै भित्रभित्रै सल्किरहेको दलित अधिकारकर्मी गोपाल नेपाली बताउँछन् । दलित र गैरदलितहरु सँगै बस्न, खाना खान, सुत्न, यौन सम्बन्ध राख्न सम्म पछि पदैनन् तर जव विहेवारीको कुरा चल्छ समाज बाधक बन्छ ।

बैवाहिक नाता जोड्ने कुरा कुनै हालतमा स्वीकार गदैनन् र सोही आधारमा यस्ता धेरै घटना हुने गरेको उनको भनाई छ । ‘नवराज दलित नभएको भए उनी मारिने थिएनन् । त्यो घटना जातिय विभेदको पराकाष्ठा हो । कथित माथिल्लो जातकाहरु जातिय विभेद कति निर्मम र निर्दयी तरीकाले गर्छन र गरिरहेका छन् त्यो भोग्नेलाई मात्र थाह हुन्छ’ भन्दै उनले भने ‘कानुन बनाएर मात्र हुदैन । मन र ब्यवहार देखि नै सामाजिक परिवर्तन नहुँदा सम्म नवराजहरु मारिरहन्छन् र जानुका तथा गणेशहरु विस्थापित भैरहन्छन् ।’

तपाईको प्रतिक्रिया