असारसम्म झन्डै दुई हजार संक्रमित, ७ को मृत्यु


जाजरकोट, १० साउन । चीनबाट सुरु भएको कोरोना भाइरस महामारीका कारण जाजरकोटमा २०७८ असार सम्म १ हजार ६ सय ९० जना संक्रमित भएका छन् भने ७ जनाको मृत्यु भएको छ । जिल्लामा २०७६ साल चैत ११ गते एक जनामा कोरोना संक्रमण देखिएको थियो ।

त्यसयता संक्रमितको संख्यामा उतारचढाव हुँदै आइरहेको छ । असार मसान्त सम्म ६ हजार ८ सय ३१ जनाको पिसिआर परीक्षण गर्दा ५ सय ६४ जना र ३ हजार ९ सय ८५ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार १ सय २७ जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य सेवा कार्यालय जाजरकोटले जनाएको छ । कार्यालयका अनुसार पहिलो चरणको कोरोनाभन्दा दोस्रो लहरका रुपमा फैलिएको कोरोनाबाट धेरै मानिस संक्रमित भएका छन् ।

पिसिआर तर्फका ५ सय ६३ जना निको भएर घर गएका छन् भने एक जनाको मृत्यु भएको छ । यस्तै एन्टिजेन परिक्षण तर्फ १ हजार ६२ जना निको भएर घर गएका फर्केका छन् भने १६ जनालाई जिल्ला बाहिर रिफर गरिएको छ । ६ जनाले ज्यान गुमाएका छन् भने ४३ जना सक्रिय संक्रमितहरुको अस्पताल तथा होम आईसोलेशनमा उपचार भईरहेको छ ।

यस्तै, जिल्लामा उपचार तथा कोभिड व्यवस्थापन तर्फ जिल्लामा कोभिड अस्पताल १ रहेको छ । आईसोलेशन वेड संख्या १ सय ५० रहेको छ भने,आई.सी.यू कक्ष ३ वटा रहेको छ । जिल्ला भरि ३ सय ८४ वटा अक्सिजन सिलिण्डर रहेको छ ।

अक्सिजन सहितको आईसोलेशन वेडको संख्या ४२ रहेको छ । साधारण आईसोलेशन ३ सय ४२ रहेको जिल्ला प्रशासन कार्यालयको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया