रोजगारीको पैसा लिन दुई साता बैंकको लाइनमा, कमाएको पैसा होटलमा सकिने चिन्ता


खलंगा, ८ साउन । जुनीचाँदे गाउँपालिका–४ की रुपा दमाई पहिलो पटक सदरमुकाम खलंगा आएकी छन् । आर्थिक वर्ष २०७७÷७८ को प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको १०० दिन काम गरे बापत उनलाई ५० हजार रुपैयाँको चेक गाउँपालिकाले दिएपछि त्यसको भुक्तानी लिन उनी सदरमुकाम आएकी हुन् । उनले
आदर्श मावि लुहादहको घेराबारको काम गरेकी थिइन् ।

रुपाले चेक साट्नका लागि लाइनमा बस्न थालेको १४ दिन बितिसकेको छ । अहिलेसम्म उनको करिब सात हजार ८०० रुपैयाँ खर्च भइसकेको छ । ‘बिहान ५ बजेदेखि लाइन बसेको बेलुकी ४ बजे बल्ल पालो आउँछ । आफ्नो पालोमा कहिले इन्टरनेट चलेन त कहिले रकम नै छैन भन्दै भोलि आउनु भन्दै फर्काउँछन्,’ उनले भनिन्, ‘होटलको बस्दा आजसम्म सात हजार ८ सय रुपैयाँ खर्च भइसकेको छ ।’

आउँदा दुई हजार ५ सय रुपैयाँ गाडी भाडा खर्च गरेकी रुपाले फर्किंदा पनि त्यति नै खर्च हुने बताइन् । निम्न आर्थिक अवस्था रहेकी उनको घरमा बिरामी श्रीमान र ६ जना छोराछोरी छन् । प्रधानमन्त्री रोजगार कार्यक्रमबाट पाउने ५० हजार रुपैयाँ सदमुकामको होटल बास र आउने जानेमै सकिने हो कि भन्ने चिन्ताले रुपालाई सताउन थालेको छ ।

जुनीचाँदे–४ का शंकर खड्काले १४ दिनमा रकम भुक्तानी लिएको बताए । संघीय खानेपानी आयोजनाअन्तर्गतको खोल्य ताना बढीबाढी बृहत् खानेपानीको रकम लिन आएका ६८ वर्षीय खड्काले भुक्तानी रकमको आधा बजेट होटल र यातायातमा खर्च भएको बताए । उनीसहित तीनजना सदरमुकाम आउँदा र धेरै दिन बैंकले झुलाउँदा धेरै खर्च भएको उनको भनाइ छ ।

जुनीचाँदे–१ का नरसिंह दमाई जनता आवास अन्तर्गतको रकम लिन आएको एक सातापछि बैंकमा काम हुँदा आधा रकम सदरमुकाममै खर्च भएको बताउँछन् । ऋण काढेर सदरमुकाम आएका उनले निकासा भएको रकमको आधा सकिएको बताए। उनलाई घर बनाउँदा लिएको ऋण कसरी तिर्ने भन्ने तनाव छ। ४७ हजार ५ सय रुपैयाँ लिन सदरमुकाम आउँदा भाडा, होटलको बसाई, खाजामा धेरै खर्च भएको उनको भनाइ छ ।

गाउँपालिकामा बैंक नहुँदा यहाँका सर्वसाधारण कारोबारका लागि सदरमुकामस्थित कृषि विकास बैंकमा आउनुपर्ने बाध्यता छ। गाउँपालिकाको केन्द्रको विषयमा विवाद भएपछि जुनीचाँदेमा बैंक स्थापना हुन सकेको छैन । गाउँपालिकाको दुई तिहाइको निर्णयअनुसार लुहादहमा २०७५ बैशाख ३१ गते केन्द्र तोक्ने निर्णय भएको थियो । निर्णय भएको केही समयपछि तीनजना सदस्यले आफ्नो हस्ताक्षर फिर्ता लिएको भन्दै प्रदेशले संघीय सरकारलाई गाउँपालिका तोक्ने निर्णय गणपुरक संख्या नपुगेको भन्दै निर्णय कार्यान्वयन गर्न नसकिने भनि पत्राचार गरेपछि अहिलेसम्म जुनिचाँदे गाउँपालिकाको प्रशासकीय केन्द्रको टुंगो लागेको छैन ।

गाउँमा बैंक नहुँदा सबै काम सदरमुकाम आएर गर्नुपर्दा सर्बसाधारणहरु हैरान हुँदै आएका छन्। सामाजिक सुरक्षा भत्ता लिन ज्येष्ठ नागरिकहरु पनि सदरमुकाममा नै जानु परेको छ। बैंकका प्रमुख सन्तोष योगीले सेवाग्राही बढी भएकाले काममा ढिला भएको बताए । #थाहाखबर#

तपाईको प्रतिक्रिया