‘वडालेक’ एयरपोर्टको चर्चा र नागरिकको अपेक्षा

भरत शर्मा

जाजरकोटमा विकास निर्माणको विषय अहिले सामाजिक संजालमा बहसको विषय बनेको छ । त्यस मध्य जिल्लाको भेरी नगरपालिका वडा नं. १ बडालेकमा बन्ने भनेर प्रचार गरिएको विमानस्थलका सन्दर्भमा सामाजिक संजालमा छलफल तिब्र छ । भेरी नगरपालिकाका प्रमुखले चीनको (Wushan Airport) को फोटो राखि बडालेक विमानस्थल बन्ने भयो भनेर सामाजिक संजाल (फेसबुक) मा पोष्ट गरेपछि यो विषय बाहिर आएको हो । त्यसपछि पत्रकार, बुद्धिजिवि तथा आम नागरीकहरुले उक्त विषयमा आ–आफ्ना धारणहरु राखिरहेका छन् ।

कतिले नगर प्रमुखको त्यही पोष्टलाई शेयर गरेर समर्थन गरेका छन् त कतिले बडालेकको नै फोटो राखेर प्रचार सुरु गरेका छन ।  तर कतिपयले भने भौगोलिक बनावटका कारण त्यो कुरा सम्भव नभएको, झुटो प्रचार गरिएको तथा सस्तो लोकप्रियताका लागि अनावश्यक निर्णय गरिएको समेत भनेका छन् ।
विशेष गरी भेरी नगरपालिकाले सभाबाट गरेको निर्णय र जिल्लाबाट प्रतिनिधित्व गर्ने पुर्व मन्त्री शक्ति बस्नेतले यस अघि जाजरकोटीहरुलाई दिएको आश्वासन संग जोडेर अहिले यो विषयमा छलफल हुन थालेको छ ।

अषाढ ११ गते सम्पन्न भेरी नगरपालिकाको बजेट सभाले नीतिगत निर्णय गरेको छ ः “हवाई यातायात सहजताका लागि नगरपालिकाको वडा नं. १ बडालेकमा विमानस्थल निर्माणका लागि संंघीय सरकार संगको समन्वय र सहकार्यमा निर्माण गरीने छ ।” नगरपालिकाको यो निर्णय बाहिर आए संगै यस विषयमा विभिन्न कोणबाट चर्चा परिचर्चा सुरु भएको हो । बडालेकमा विमानस्थल सम्भव वा असम्भव, आवश्यक वा अनावश्यक तथा यस विषयमा नेतृत्वको इमान्दारीता वा झुटो प्रचार भन्ने कुरा छलफलका विषय बनेका छन् ।

वास्तवमा यसमा मुख्य कुरा भनेको आवश्यकता र सम्भावनाको के हो भन्ने नै हो । नेपाल जस्ता भौगोलिक विकटता भएको ठाउँको लागि सबैभन्दा प्रभावकारी यातायातको माध्यम हो हवाई उडान । त्यस मध्ये जाजरकोट जस्ता पहाडी जिल्ला, जहाँ बाढी पहिरो जस्ता कारणले पटकपटक सडक विग्रने र मर्मत गर्न समेत समय लाग्ने भएकोले सडकमार्ग अवरुद्ध हुने ठाउँमा आवत जावतका लागि हवाई मार्ग अति उत्तम विकल्प हो । तर जुन विषय छलफलमा छ त्यो विषय अहिले सम्भव छैन । त्यहाँको भौगोलिक अवस्था र लागतको अनुमान गर्दा बडालेकमा विमानस्थल आवश्यक होइन ।

किन की अहिले चर्चा गरिएको वडालेक र हाल विमानस्थल संचालनमा रहेको रुकुम पश्चिमको चौरजहारीको दुरी धेरै नजिक छ । जाजरकोटको सदरमुकाम खलंगा बजारबाट बडालेक जान भन्दा चौरजहारी जान सजिलो र छिटो हुन्छ । खलंगाबाट मात्र नभई जिल्लाका अन्य भागबाट समेत बडालेक जान भन्दा चौरजहारी जान नै सहज हुन्छ । दुरीको हिसावले नजिक र आवतजावत गर्न समेत सहज भएको ठाउँ चौरजहारीमा निर्माण भई सकेको विमानस्थललाई नै प्रयोग गर्दा हुनैन र ?

राज्यको ठुलो बजेट खर्च गरेर नयाँ विमानस्थल बनाउनु भन्दा त्यही चौरजहारी विमानस्थललाई नै स्तरोन्नती गरेर नियमित जहाज संचालन हुन सक्ने बनाउन सकिदैन र ? कि आफ्नो जिल्लामा बनेपछि भाडा छुट हुने र चौरजहारीबाट जहाज चढ्दा रुकुम जिल्ला वा चौरजहारी नगरपालिकालाई थप शुल्क तिर्न पर्छ र ? यदि त्यसो होइन भने जमान देखि निर्माण भई संचालन भएको विमानस्थललाई प्रयोग गर्न छोडेर नयाँ योजना किन ?

स्थानीय तहले विमानस्थल बनाउने होइन आखिर राज्यबाट संचालन हुने योजना जहाँ सम्भव हुन्छ, कम लागतले निर्माण हुन्छ तथा जहाँबाट बढि नागरीकले लाभ लिन सक्छन त्यहाँ पहल गर्न किन कन्जुस्याई ? पक्षपात रहित व्यवहारको पक्षपोषण गर्ने हामीले रुकुम जिल्लामा पर्छ त्यसकारण चौरजहारीको विमानस्थन राम्रो वनाउनु हुँदैन भन्न सान्दर्भिक होला र ?

वास्तवमा चौरजहारी विमानस्थल जाजरकोटलाई नै प्राथमिकता दिएर निर्माण भएको देखिन्छ । रुकुम पश्चिमको सदरमुकामका अर्काे विमानस्थल रहेको र चौरजहारी विमानस्थल जिल्लाको सिमाना अर्थात जाजरकोट सदरमुकामको नजिक रहेकोले पनि यसबाट जाजरकोटका नागरीकहरु नै बढि लाभ लिन सक्छन् । त्यसकारण राज्यको ठुलो धनराशी खर्च गरेर नयाँ विमानस्थल निर्माण तिर होइन रुकुम पश्चिमको नेतृत्व संग समेत समन्वय गरेर नेतृत्वले चौरजहारी विमानस्थललाई स्तरोन्नति गर्नका लागि केन्द्र सरकारसंग समन्वय गर्नु उपयुक्त हुन्छ ।

चौरजहारी र जाजरकोट जोड्ने भेरी नदिमा निर्माणाधिन मध्यपहाडीको पुल ८÷१० वर्ष देखि अलपत्र छ । सकिन्छ भने त्यसलाई त्तकाल निर्माण गर्न दवाव दिउँ । जस्ले जाजरकोटलाई रुकुम, सल्यान लगाएतका ठाउँसंग जोड्न सहज हुनेछ ।

वडालेक आफैमा सुन्दर पर्यटकीय स्थल हो । हिउँदयाममा हिमपात समेत पर्ने भेरी र नलगाड नगरपालिकाको सिमानामा पर्ने सो ठाउँ जिल्लाकै सुन्दर मध्यको एक हो । तर त्यहाँ अहिलेको अवस्थामा त्यहाँ पुग्न निकै कठिन छ । पहाडको टुप्पोमा रहेको सो ठाउँमा अहिले सम्म मोटरबाटो पुगेको छैन । त्यहाँको आफ्नै भौगोलिक बनावट छ, जस्ले गर्दा त्यहाको सौन्दर्यता थप बढेको छ ।

अग्लो डाँडोमा केहि समथर जमिन भएपनि यताउता भिरालो भूभाग, उच्च डाँडो भएपनि प्रर्याप्त खानेपानी, विभिन्न किसिमका जडीबुटीहरु, थरीथरी जातका चराचुरुंगी तथा वन्यजन्तुहरु, सिजनमा पाक्ने काफल, एैसेलु, चोत्रा लगाएतका फलफुलहरु पाइने उक्त ठाउँ विमान स्थल भन्दा पर्यटकिय क्षेत्र बन्न सक्छ । विमानस्थल बनाउदा डाँडो पुरै खन्नु पर्ने हुन्छ, जसका कारण त्यहाँको वनजंगल मासिन्छ । केही तल सम्म स्थानीय सडक पुगेको भएपनि त्यहाँ विमान स्थलका लागि सडक पुराउँदा पुरै वनजंगल सखाप हुन्छ र डाँडो पुरै नांगो बन्न जान्छ, प्राकृतिक सौन्दर्यता हराउछ सो ठाउँको ।

त्यसकारण वडालेकलाई कुरुप बनाएर त्यहाँ विमानस्थल बनाउन आवश्यक छैन् । वडालेकलाई प्राकृतिक अवस्थामा नै रहन दिएर विमानस्थल बाहेकको लागि प्रयोग गर्न सकिन्छ । उक्त ठाउँलाई पर्यटन विकास संग जोडौं र स्थानीयको आम्दानीको ग्यारेन्टी गरौं । विमानस्थलका लागि तपाईले ल्याउन सक्ने बजेट अझ भनौं एअरपोर्ट बनाउने बहानामा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्न खर्च गर्ने नगरको बजेट नागरीकको जिवनस्तर सुधारमा खर्च गर्नुहोस, स्वरोजगार र आत्मनिर्भर बनाएर उनिहरुको आर्थिक अवस्था सुधार गर्न खर्च गर्नुहोस । त्यसपछि मात्र नागरीक हवाईजहाज चढ्ने हैसियतमा पुग्न सक्छन् । नभए जहाँ विमानस्थल बनाए पनि जति जहाज उडाए पनि त्यसको उपयोग तपाईले नै गर्ने हो । त्यहाँ नागरीकको पहँुच पुग्दैन ।

गोजिमा गाडीभाडा नभएकोले जिल्लामा भएको एकमात्र पिच बाटोमा घण्टौं पैदल हिडेर जिल्ला सदरमुकाम आउने गरेका छन हाम्रा आफन्तहरु । विमानस्थल भन्दा पहिले तिनिहरुलाई गाडी चढ्ने अवस्थाको सिर्जन गर्नुहोस । जिल्ला सदरमुकाम भित्रको बजार लाईन जोड्ने गैरीखाली ठाँटी जोड्ने (बढीमा ५ सय मिटर) सडक अहिले सम्म पुरा हुन सकेन त्यसले गर्दा स्थानीय स्तर देखि केन्द्रीय तहसम्म पहुँच राख्ने नेतृत्वको बेइज्जत भएको छ, त्यो पुरा गर्नतिर लाग्नुहोस् ।

आफन्तहरुका डोजरको आम्दानीका लागि खोर्सिएका वडा तथा ग्रामिण बस्ती जोड्ने सडकहरुमा बाह्रै महिना गाडी चल्न सक्ने बनाउनुहोस् । गाउँमा सिटामोल समेत नपाएर ज्यान गुमाउनुपर्ने तथा ऋण गरेर किनेर खानुपर्र्ने अवस्था छ, तिनिहरुलाई सिटामोलको सुनिश्चितता गर्नुहोस् । माद्यामिक तह पास गरेको भाईबहिनीहरु आफ्नो नाम समेत लेख्न नसक्ने अवस्थामा छन, शैक्षिक क्षेत्रको सुधारमा लाग्नुहोस । दैनिक जिवन निर्वाहका लागि सिंगो गाउँ खालि गरेर जनता कालपहार जाने गरेका छन, तिनिहरुलाई स्वदेशमै बस्ने खालका योजना तथा कार्यक्रमहरु ल्याउनुहोस् ।

शिक्षित जनशक्ति रोजगारीका लागि भौतारीरहेको छ । त्यस दक्ष जनशक्तिलाई विकास र परिवर्तनमा जोड्नुहोस् । विभिन्न तहका सरकार तथा निकायहरुबाट प्राप्त बजेट खर्च नभई फिर्ता हुने गरेको छ, त्यसलाई सहि ठाउँमा खर्च गर्न पहल गर्नुहोस तथा सबैखालका आयोजना तथा कार्यक्रमहरुमा राज्यको सम्पत्तिको चरम दुरुपयोग भएको छ, त्यसलाई रोक्न पहल गर्नुहोस । तपाईबाट जनताले अहिले अपेक्षा गरेका विषय यिनी हुन । विमानस्थल निर्माण अहिले जनताको माग होइन् ।

लेखक शर्मा नेपाल पत्रकार महासंघ जाजरकोटका सचिव हुन ।

तपाईको प्रतिक्रिया