भारतमा वर्षाले चार तल्ले भवन भत्कियो, ११ जनाको मृत्यु


दिल्ली । भारतको मुम्बईस्थित मालवानी इलाकामा भारी वर्षापछि चार तल्ले भवन भत्किँदा ११ जनाको मृत्यु भएको छ । स्थानीय समयअनुसार राति ११ः१० बजे उक्त भवन भत्किँदा ११ जनाको मृत्यु भएको हो ।

पुरिएका १८ जनालाई निकालिएकामा ११ को मृत्यु भएको थियो भने ७ जना घाइते भएका थिए । घाइतेहरुको बीडीबीएस नगर जनरल अस्पतालमा उपचार भइरहेको छ ।
मृतक एकै परिवारका ९ जना हुन् । एउटा भवन छेवैको अर्को भवनमा गएर ढलेको थियो । घटनाका समयमा उक्त भवनमा तीन परिवार रहेका थिए । जसमा केही बालबालिका पनि थिए ।

घना बस्तीको बीचमा भवन रहेका कारण पनि उद्धारमा समस्या भएको थियो । भत्केको भवनको भग्नावशेषबाट १५ महिलालाई उद्धार गरिएको छ । अरु पनि पुरिएको हुनसक्ने आशंकामा उद्धार कार्य जारी राखिएको छ ।

मुम्बईमा बुधबार दिनभर वर्षा भएको थियो । बिहीबार पनि भारी वर्षा हुने जनाइएको छ । मौसम विज्ञान विभागले बिहीबार वर्षाको रातो बत्ती बालेको छ ।

तपाईको प्रतिक्रिया